एकपटक एउटा कागलाई आफू दुनियाँकै कुरूप प्राणीजस्तो लाग्यो । उसले सोच्यो– न मेरो आवाज राम्रो छ, न पखेटा नै सुन्दर छन् । यस्तो कुरूप जिन्दगी के बाँच्नु ? हीन भावनाले गर्दा ऊ उदास भयो ।
एक दिन एउटा बकुल्लोसित उसको भेट भयो । बकुल्लोले उदासीको कारण सोध्यो । कागले बकुल्लाका सेता प्वाँखको बयान गर्दै आफू घिनलाग्दो भएकाले दुःखी भएको बतायो । बकुल्लाले आफूभन्दा सुगा कैयौँ गुणा सुन्दर भएको बतायो । बकुल्लाको कुरा सुनेपछि काग सुगालाई खोज्दै जंगलतिर गयो । सुगालाई भेटेपछि कागले उसको सुन्दरताको मन खोलेर प्रशंसा गर्यो । सुगाले आफूभन्दा मयूर निकै सुन्दर भएको बतायो । उसको रंगीचंगी प्वाँखको खुब बयान गर्यो ।
सुगाको कुरा सुनेपछि कागले जंगलभरि मयूरलाई खोज्यो । तर, उसले कतै पनि मयूरलाई भेटेन । सोधपुछका क्रममा उसले मयूर चिडियाखानामा रहेको थाहा पायो । ऊ सीधै चिडियाखाना पुग्यो । त्यहाँको एउटा ठूलो पिँजडामा केही मयूर थुनिएका थिए । मानिसहरू तिनलाई हेरेर रमाइरहेका थिए । कागले मयूरको सुन्दरताको प्रशंसा गर्दै उसलाई बधाई दियो ।
तर, कागको बधाई सुनेपछि मयूर डाँको छाडेर रुन थाल्यो । केही बेरपछि आँसु पुछ्दै उसले भन्यो— हेर मित्र काग, तिमीले आफूलाई कुरूप ठान्छौ भने कुरूप भएकामा तिमी खुसी मनाऊ । किनकि, तिमी स्वतन्त्रतापूर्वक जताततै घुम्न पाइरहेका छौ । तिमी पनि सुन्दर हुन्थ्यौ भने अहिले हामीजस्तै यो फलामे पिँजरामा हुने थियौ ।