१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १४:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भारतीय सेनाको अवकाशपछि दुग्ध व्यवसायमा जम्दै पौरखी जुद्धबहादुर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:१३:oo

४९ वर्षीय जुद्धबहादुर बस्नेत पूर्वभारतीय सेना हुन्। उनी भारतमा १९ वर्षको सेवापछि स्वदेश फर्किए। थपक्क बसे पनि बस्नेतलाई पेन्सनले खान पुग्छ। 

तर, उमेरमै अवकाश भएका बस्नेतले घरमै एक लाख लगानी गरेर दुग्ध व्यवसाय सुरु गरे। त्यो वेला दैनिक ४० लिटर दुध बेच्थे। बस्नेतले बजारको मागअनुसार विस्तारै लगानी र उद्यम बढाए।

अहिले दैनिक तीन सय लिटर दुध घरबाटै बिक्री गर्छन्। त्योबाहेक दही, पनिर, आइसक्रिम, घिउ, छुर्पी र कुराउनीलगायतका दुग्धजन्य वस्तु घरमै उत्पादन गर्छन्। घरको व्यवसाय श्रीमती विजयालक्ष्मी बस्नेत र छोरा सागरले थामेका छन। वार्षिक कम्तीमा १५ लाखको कारोबार घरबाटै हुने बस्नेतले बताए। 
 
दुई करोडमा गुल्मी डेरी उद्योग
 
जुद्धबहादुर बस्नेत अहिले करिब दुई करोड लगानी भएको गुल्मी डेरी उद्योगका मालिक हुन्। ०७७ सालमा चारजना डेरी सञ्चालकले संयुक्त लगानी गरेर गुल्मी डेरी उद्योग प्रालि खोलेका थिए। तर, पछि तीनजनाले छोडे। बस्नेतले तीनजनाको लगानी फिर्ता गरे। गत भदौदेखि उद्योग बस्नेतको मात्रै भएको छ। जग्गा, भवन र उपकरणमा ठूलो लगानी भएको छ। 

अहिले उद्योगमा अर्घाखाँचीको छत्रगन्ज, दुर्गाफाँट र गुल्मीका सिमीचौर, खर्ज्याङ, चौरासीलगायतका स्थानको दैनिक आठ सयदेखि एक हजार लिटर दुध संकलन हुन्छ। उद्योगबाट दुध, दही, पनिर, कुराउनी, घिउ, आइसक्रिम र छुर्पीलगायतका दुग्ध उत्पादन बिक्री भइरहेका छन्। 

अहिले उद्योगमा घिउ मात्रै २१ क्विन्टल बिक्रीका लागि उत्पादन भएको छ। घिउको बजार मूल्य एक हजार तीन सय पर्छ। बजारमा बाहिरबाट आएको सस्तो र गुणस्तरहीन घिउको कारण आफूहरूलाई स्थानीय बजारमा बिक्री गर्न समस्या भएको बस्नेतले गुनासो गरे। 

दैनिक ५० किलो छुर्पी उत्पादन 

गुल्मी डेरी उद्योगले पहिलो प्राथमिकतामा दुध बिक्री गर्छ। अहिले उद्योगसहित तीन शाखामार्फत दुध बिक्री भएको छ। त्यसपछि दही, पनिर र कुराउनी उत्पादनसँगै उद्योगले पछिल्लो समय छुर्पी बिक्री गर्दै आएको छ। 

अहिले स्टक रहेको दुधबाट दैनिक ५० किलो छुर्पी उत्पादन हुने गरेको उद्योग सञ्चालक बस्नेतले बताए। उनले छुर्पीको बजार मूल्य प्रतिकिलो नौ सय ५० देखि एक हजारसम्म स्थानीय बजार, बुटवल र काठमाडौंमा बिक्री भएको बताए। 

उद्योगबाट गत पुसयता १३ क्विन्टल छुर्पी बिक्री भएको छभने अझै आठदेखि १० क्विन्टल छुर्पी स्टक छ। त्यस्तै, बस्नेतले गर्मी सुरु भएसँगै आइसक्रिम गुल्मी, अर्घाखाँची र बागलुङका बजारमा बिक्री गर्छन्। 

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत दुई हजार लिटरको चिलिङ भ्याट र घरेलु तथा साना उद्योग विकास समितिबाट चारवटा डिपफ्रिज सहयोग उपलब्ध भएको गुल्मी डेरी उद्योग प्रालिका सञ्चालक बस्नेतले बताए। 

बस्नेतले आफूबाहेक तीनजनालाई आवाससहित मासिक १५ हजार पारिश्रमिक दिएर रोजगार दिएका छन्। बैंकको ब्याज, कर्मचारीको पारिश्रमिक र व्यवस्थापन खर्चसँगै उद्योग बिस्तारै सञ्चालनमा आएकाले केही समयमा राम्रो आम्दानी हुने अपेक्षामा बस्नेत छन्। बस्नेत उद्यमबाट सन्तुष्ट र पारिवारिक रूपमा खुसी छन्। 

आफू, श्रीमती र एक छोरा दुग्ध व्यवसायमा छन् भने जुम्ल्याहा छोरी एलिना र एन्जिला बस्नतेले धरानमा इन्जिनियरिङ पढ्ने बस्नेतले बताए। ‘जीवनको सबैभन्दा ठूलो सम्पत्ति आत्मसन्तुष्टि हो। व्यवसायमा नाफाघाटा स्वाभाविक हो,’ उनले भने, ‘अवकाशपछि पनि केही गरौँ भनेर हिम्मत जुटाएको छु।’


 

ad
ad