१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १६:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बिमस्टेक सार्कको प्रतिस्थापन होइन : परराष्ट्रमन्त्री श्रेष्ठ

‘सार्कको प्रतिस्थापन विमस्टेक हुन सक्दैन, यसरी स्वीकार गरिएको होइन, सार्कको महत्व आफ्नो ठाउँमा छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:२८:oo

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिमस्टेक) सार्कको प्रतिस्थापन नभएको स्पष्ट पारेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बिमस्टेकको घोषणापत्र अनुमोदनका लागि प्रस्तुत गर्ने क्रममा केही सांसदले सार्कलाई ओझेल पार्न बिमस्टेकको परिकल्पना गरिएको चर्चा गरेपछि परराष्ट्रमन्त्री श्रेष्ठले यस्तो स्पष्ट पारेका हुन्।

बैठकमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सार्कको विकल्पमा भारतले बिमस्टेक अघि सारेको बताए। 

चीनका अगाडि भाले हुन नसक्ने, पाकिस्तानसँग सधैँ शत्रुतापूर्ण सम्बन्धको कारण भारतले बिमस्टेक अघि सारेको हो,’ सांसद केसीले भनेका थिए, ‘सार्कलाई ओझेल पार्दै विसर्जन गराउन नियोजित रूपमा भारतले बिमस्टेकको उत्पत्ति गराएको हो।’ 

जवाफमा परराष्ट्रमन्त्री श्रेष्ठले सार्क र बिमस्टेकको आ–आफ्नो औचित्य रहेको स्पष्ट पारे। सार्कको औचित्य र आवश्यकताबारे नेपाल सरकारको स्पष्ट धारणा रहेको उनको भनाइ थियो। 

‘सार्कको प्रतिस्थापन बिमस्टेक हुन सक्दैन। यसरी स्वीकार गरिएको होइन,’ परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘सार्कको महत्व आफ्नो ठाउँमा छ । सार्कलाई पुनः क्रियाशील गर्न र शिखर सम्मेलन गर्न सरकार लागि पर्नेछ।’

ad
ad