१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १५:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

हेटौँडामा बृहत् गजल उत्सव आयोजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १५:५७:oo

गजल मञ्च मकवानपुरको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौँडामा बृहत् गजल उत्सव आयोजना भएको छ।

उत्सवअन्तर्गत गजलवाचन, गायन र गजलका विषयमा बहस गरिएको छ। ‘नेपाली गजल : यात्रा र गन्तव्य’ विषयमा गजलकारहरू घनेन्द्र ओझा, बाबु त्रिपाठी र  शीतल कादम्बिनीले बहस गरेका थिए।

बहसका क्रममा गजलकार ओझाले गजल लेख्दा यसको उर्दू र फारसीबाट आएको नियमलाई लत्याएर अगाडि बढ्न नसकिने धारणा राखे। उनले गजलका नियम पालना नहुँदा कतिपय नेपाली भाषामा लेखिएका गजलहरू सुन्दर रचना मात्रै भएको टिप्पणी गरे।

गजलकार बाबु त्रिपाठी र शीतल कादम्बिनीले अर्का गजलकार ओझाको विचारभन्दा फरक ढंगबाट नेपाली गजल लेखनलाई स्वच्छन्द रूपमा छोड्नुपर्ने बताए। उनीहरूले नेपाली गजल लेखनलाई नै नयाँ मानकका रूपमा विकास गर्न सकिने उल्लेख गरे।

गजल मञ्च मकवानपुरका संस्थापक अध्यक्ष दीपक गौतमले सहजीकरण गरेको बहसमा सर्जक सञ्जाल मकवानपुरका संयोजक एवं साहित्यकार निमेष निखिलले अविभावकत्व प्रदान गरेका थिए। उनले गजल लेखनको आफ्नै नियम र परिधि भएकाले त्यसलाई चटक्कै छोडिहाल्न नमिल्ने धारण राखे।  उनले गजल मात्र नभई हरेक साहित्य लेखनमा बहस आवस्यक रहेकोमा जोड दिँदै बहसले समग्र नेपाली साहित्यको श्रीवृद्धिमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा गजलकारहरू घनेन्द्र ओझा, बाबु त्रिपाठी, शीतल कादम्बिनी, रूपक बनबासी, पुरुषोत्तम आचार्य, श्यामकुमार बानियाँ, सानु खनाल, यश लामा, भवानी तिमिल्सिना, अजल फुँयाल, सुवास सजल र धर्मराज स्याङ्तानले गजल वाचन तथा गायन प्रस्तुत गरेका थिए।

हेटौँडा उपमहानगरपालिका– ४ को आर्थिक सहयोगमा भएको कार्यक्रममा मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पण सुवेदीको अध्यक्षता एवं ४ नम्बर वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो।

ad
ad