बर्दिया अस्पताल गुलरियामा रेबिजविरुद्धको भ्याक्सिन अभाव भएको छ। बर्दियाको सबैभन्दा ठूलो अस्पतालमा गत फागुन १६ गतेदेखि भ्याक्सिन नभएपछि सेवाग्राही मर्कामा परेका छन्।
बर्दिया अस्पतालले भ्याक्सिन रित्तिएपछि सूचना नै निकालेर सेवा बन्द गरेको छ। रेबिज रोग लागेपछि रोगको उपचार सम्भव छैन। यसबाट बच्ने एक मात्र उपाय एन्टिरेबिज भ्याक्सिन (एआरभी) हो। यो अत्यावश्यक भ्याक्सिन सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ।
लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले समयमा खोप अस्पताल नपठाउँदा कुकुर–बिरालोलगायत जंगली जनावरले टोकेर आएकाहरू सुई नलगाई फर्कन बाध्य छन्। बारबर्दिया नगर अस्पताल बारबर्दिया, बासगढी नगर अस्पताल बासगढी, प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा रेबिजविरुद्धको भ्याक्सिन लगाउने गरिए तापनि स्टक न्यून रहेको छ।
स्वास्थ्य कार्यालय बर्दियाका अनुसार प्रतिएकजनालाई पाँच डोज लगाउनुपर्ने भएको हुनाले हाल स्टकमा रहेका स्वास्थ्य संस्थामा पनि पर्याप्त भ्याक्सिन छैन। कतिपय नेपालगन्ज, कोहोलपुरलगायतका निजी अस्पतालमा गएर महँगो शुल्क तिरेर भ्याक्सिन लगाउन बाध्य भएका छन्। दुईदेखि आठ डिग्री सेल्सियसको तापक्रममा भ्याक्सिन राख्नुपर्ने भएकाले पनि अधिकांश निजी स्वास्थ्य संस्थाहरूले भ्याक्सिन राख्ने गरेको पाइँदैन।
बर्दिया अस्पताल गुलरियामा कुकुरले टोकेपछि रेबिजविरुद्धको भ्याक्सिन लगाउन आउनेको संख्या बढ्दै गए पनि मागअनुसारको भ्याक्सिन नहुँदा समस्या आउने गरेको अस्पतालका मेडिकल रेकर्डर केशव न्यौपानेले बताए। अहिले पनि भ्याक्सिन लगाउन आउने बिरामी यसै फर्किने गरेका बताए।
स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको चैत १ गतेसम्म आठ सय ९२ जना रेबिजको सुई लगाउन स्वास्थ्य संस्थामा आएका थिए। त्यसैगरी, गत आव ०७९/८० मा दुई हजार ९० जना कुकुरलगाएतका जनावरले टोकेको भन्दै स्वास्थ्य संस्था पुगेका थिए।
आ.व ०७८/७९ मा एक हजार पाँच सय ७५ जना, आव ०७७/७८ मा एक हजार दुई सय ९६ जना र आव ०७६/७७ मा एक हजार ५८ जना रेबिजविरुद्धको खोप लगाउन आएका कार्यालयले जनाएको छ।
बर्दिया अस्पताल गुलरिया वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुभाष पाण्डेले हाल बर्दिया अस्पतालमा भ्याक्सिन नभएको बताए। उनले पटकपटक माग गरे पनि विभागमा नै भ्याक्सिन नभएकाले अस्पतालमा भ्याक्सिन नआएको बताए।
नेपालको संविधानले मौलिक हकअन्तर्गत धारा ३५ मा कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिनेछैन भनिएको छ। तर, अस्पतालमा एन्टिरेबिविज भ्याक्सिन नहुँदा बिरामीहरुरू मौलिक हकबाट समेत वञ्चित हुनुपरेको छ।
रेबिजबाट एकजनाको मृत्यु
बढैयाताल गाउँपालिका– ४ की १९ वर्षीया किशोरीको गत फागुन २८ गते रेबिज रोगका कारण मृत्यु भएको छ। केही महिनाअघि किशोरीलाई दुई महिनाको कुकुरको बच्चाले टोकेको थियो।
कुकुरको सानो बच्चाले टोकेको केही हुँदैन भन्दै घरपरिवारले रेबिजविरुद्धको भ्याक्सिन लगाएका थिएनन्। रेबिजको लक्षण देखिएपछि नेपालगन्ज हुँदै उपचारका लागि काठमाडौं लैजाँदै गर्दा किशोरीको मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले बताए।
स्वास्थ्य कार्यालय बर्दियाका अनुसार गत आर्थिक वर्ष ०७९/८० मा रेबिज रोगका कारण जिल्लामा दुईजनाको मृत्यु भएको छ।