१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
फाइल तस्बिर
२o८१ जेठ २ बुधबार o८:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

खेलकुदमन्त्रीलाई सांसदको प्रश्न : दशरथ रंगशालामा विश्वकप छनोट किन हुन सकेन ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:१८:oo

 फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दशरथ रंगशालामा हुने तय भएको नेपाल र बहराइनबीचको खेल बहराइनमा सारिएपछि शुक्रबार संसद्मा प्रश्न उठेको  छ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई ध्यानाकर्षण गराउँदै ‘होम म्याच’ नहुनुका कारणमाथि प्रश्न तेस्र्याएका छन् । ‘दशरथ रंगशालामा हुने तय भएको बहराइनविरुद्धको खेल हुन नसक्नुको कमजोरी के रह्यो ?’ शाहले प्रश्न गरेका छन् । ८ चैतमा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको तेस्रो खेल दशरथ रंगशालामा बहराइनसँग खेल्ने तालिका थियो । 

सांसद शाहले सत्ता वा प्रतिपक्ष जहाँ भए पनि जनताका पक्षमा आवाज उठाउने भन्दै आफ्नै पार्टीका मन्त्रीलाई प्रश्न गरेका हुन् । उनले विदेश पलायन भएका फुटबल खेलाडीलाई स्वदेश फिर्ता ल्याउन तथा टियू क्रिकेट मैदानको फ्लड लाइट र स्कोर बार्ड राख्न खेलकुदमन्त्रीलाई ध्यानाकर्षणसमेत गराएका छन् । विश्वकपको छनोट आयोजना गर्ने रंगशालाको फिफा वा एएफसीका प्रतिनिधिले निरीक्षण गर्छन् । यसपटक दशरथ रंगशालाको निरीक्षण एएफसीका प्रतिनिधिले गरेका थिए । रंगशालाको मैदान जीर्ण रहेको भन्दै बहराइनले उजुरी राखेको थियो । 

‘दशरथ रंगशालामा हुने तय भएको बहराइनविरुद्धको खेल हुन नसक्नुको कमजोरी के रह्यो ?’ सांसद असिम शाहले खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई प्रश्न गरेका छन् ।

त्यही उजुरीकै आधारमा एएफसीका प्रतिनिधिले रंगशालाको निरीक्षण गरेका थिए । एएफसीको प्रतिनिधिका रूपमा भुटानका मिन्दु दोर्जेले रंगशालाको दुबो बिग्रेको र माटोको सतह नमिलेका कारण खेल हुन नसक्ने प्रतिवेदन एएफसीलाई बुझाएका थिए । त्यसपछि एएफसीले न्युट्रल भेन्युमा होम म्याच सार्न एन्फालाई निर्देशन दियो । एन्फाले भुटानमा लैजाने प्रस्ताव गरे पनि बहराइनले उच्च पहाडी भेगमा नखेल्ने बतायो । यसपछि एन्फाले साउदी अरेबियामा आयोजना गर्ने तयारी गरे पनि बहराइन मानेन । उल्टै बहराइनले एन्फालाई आर्थिक सहयोग गर्ने विश्वास दिलाएपछि आफ्नै मैदानमा छनोट खेल आयोजना गर्नेे पक्का गरेको थियो । 

अब रंगशालामा खेलकुद गतिविधि मात्रै
खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई दशरथ रंगशालासँगै अन्य मैदानमा खेलकुद गतिविधिबाहेकका कार्यक्रम आयोजन गर्न नदिन निर्देशन दिएको छ । पछिल्लोपटक एन्फाले गैरफुटबल गतिविधि आयोजना गर्न राखेपलाई पत्राचार गरेको थियो । मैदान मर्मत–सम्भार गर्नुको सट्टा गैरफुटबल आयोजना गर्न एन्फा महासचिव किरण राई र सहमहासचिव अरुणमान जोशीले राखेपमा फरक पत्राचार गरेका थिए । राई र जोशीले राखेपमा राखेको पत्र सार्वजनिक भएपछि मन्त्रालय र राखेपले एन्फालाई स्पष्टीकरण सोधेका हुन् । 

रंगशालामा वेला–वेलामा हुने कन्सर्टले पनि मैदानको दुबो बिग्रँदै आएको थियो । ‘नेपाल र बहराइनबीच हुने भनिएको खेल दशरथ रंगशालाको नाजुक स्थितिको कारण बहराइनमा हुने भन्ने खबर प्राप्त भएको एवं मैदानको नाजुक अवस्थाकै बीच मर्मत–सम्भारविना नै निरन्तर खेलकुदलगायत अन्य गतिविधि भइरहेको तर्फ यस मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियम २०(१) ले मन्त्रालय आफैँले वा परिषद्मार्फत रंगशालाको मर्मत–सम्भार गर्न सक्ने आधार दिएको छ । नीतिगत अन्योलताको छिट्टै अन्त्य गर्दै रंगशाला मैदानको मर्मत नहुँदासम्म र अन्य रंगशालाहरूको सञ्चालन सम्बन्धमा आवश्यक मापदण्डसहितको कार्यविधि जारी नहुँदासम्मका लागि खेलबाहेकका अन्य गतिविधि गर्नका लागि स्थगित गर्न परिषद्लाई निर्देशन दिइएको छ ।’

ad
ad