उदयपुरमा बसको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु भएको छ। सोमबार मदन भण्डारी लोकमार्गको त्रियुगा नगरपालिका– ७ होक्सेमा यात्रुवाहक बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकलचालकलाई ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स.१ख ८१६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१६ प ४६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
उक्त ठक्करबाट मोटरसाइकलचालक जिल्ला इलाम सूर्योदय नगरपालिका– ३ बस्ने वर्ष २४ का प्रगित राईको टाउको र शरीरको विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका थिए।
मृतक राईकाे प्रहरी टोलीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाएकोमा उपचारको क्रममा उक्त अस्पतालमै मृत्यु भएको थापाको भनाइ छ।
ठक्कर दिने बस र बसचालक जिल्ला उदयपुर उदयपुरगढी गाउँपालिका– ६ का वर्ष ३० को नारायण सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिइएको छ।