१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o६:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग: कोइलीको सन्देश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:१o:oo

एक बिहान पूर्ण र अपूर्ण प्रातः भ्रमणका क्रममा जंगलतिर गए । शान्त जंगललाई चराचुरुंगीको चिर्बिराहटले मनमोहक बनाएको थियो । दुवै मित्र रमाउँदै जंगल घुम्दै थिए । नजिकैको रूखबाट कोइलीको कुहुकुहुको सुमधुर आवाज आयो । पूर्ण र अपूर्ण दुवै अन्धविश्वासी थिए । उनीहरूलाई कोइलीको आवाज शुभ सन्देशले भरिएको हुन्छ भन्ने भ्रम थियो ।

दुवैले कोइलीको आवाज आ–आफ्ना लागि मंगलसूचक ठाने । पूर्णले भन्यो– कोइलीले मलाई शुभ सन्देश दिइरहेको छ । आज मलाई निकै ठूलो सफलता प्राप्त हुनेछ । अपूर्णले थप जोसिँदै भन्यो– कहाँ तिम्रा लागि शुभ सन्देश दिएको हुनु नि ? उसले त मलाई पो मंगल सन्देश दिएको हो ! मलाई आज धेरै धन प्राप्त हुनेछ । किनकि, म तिमीभन्दा बढी नै भाग्यशाली छु । 

बिहानबिहानै स्वच्छ मौसमको आनन्द उठाउनुको साटो पूर्ण र अपूर्ण तँतँ र मम गर्दै झगडामा उत्रिए । कोइलीको आवाज दुवैले आफ्ना लागि शुभ सन्देश भएको भन्दै जिद्दी गरिरहे । भनाभन चर्किंदै गएपछि दुवै कुटाकुटमा उत्रिए । दुवै गम्भीर घाइते भए । घाइते अवस्थाका दुवैलाई स्थानीयले अस्पताल पुर्‍याए । 

अस्पतालमा डाक्टरले उनीहरूलाई यसरी घाइते हुनुको कारण सोधे । दुवैले पालैपालो घटनाको बेलीविस्तार लगाए । डाक्टरलाई घटनाबारे बताइसकेपछि उनीहरूले सोधे– अब तपाईं नै भन्नुहोस् त डाक्टरसाब, त्यो कोइलीले कसका लागि शुभ सन्देश दिएको थियो ? डाक्टर एकैछिन गम्भीर भए र हल्का मुस्कुराउँदै जवाफ दिए– हेर्नुहोस्, मेरो विचारमा कोइलीले मेरा लागि शुभ सन्देश दिएको थियो । उनीहरूले डाक्टरको भनाइको आशय बुझेनन् । उनीहरूले प्रश्न गरे– कसरी? डाक्टरले भने– तपाईंहरू यसरी घाइते भएर आएपछि मेरो मंगल भएन ? मेरा लागि शुभ संकेत भएन ? डाक्टरको जवाफ सुनेर दुवै मित्रले लाजले मुख रातो बनाए । उनीहरूले आफ्नो गल्ती थाहा पाए ।

ad
ad