राष्ट्रपति राचन्द्र पौडेलले कृषि, पर्यटन र ऊर्जा नै हाम्रो मुलुकको विकासको आधार भएको बताएका छन्। काभ्रेको मण्डनदेउपुर नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन्।
पौडेलले त्यसका लागि श्रमको सम्मान गर्ने संस्कृतिको विकास आवश्यक रहेको बताए। स्थानीयस्तरमा गुणस्तरीय, प्रविधिमा आधारित प्रतिस्पर्धी र प्राविधिक शिक्षा दिएर उत्पादन र रोजगारी बढाउने काम गर्न सकिए मात्र राजनीतिक परिवर्तनपछि मुलुकले अपेक्षा गरेको आर्थिक क्रान्तिको सपना साकार हुने उनको भनाइ छ।
‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रले अपेक्षा गरेको गरिब, सीमान्तकृत, पिछडिएको वर्गको आर्थिक उन्नतिको अवसरको ढोका खुल्ने भनेको यिनै कृषि, पर्यटन र ऊर्जाबाट हो,’ उनले भने, ‘त्यसतर्फ तीनै तहको सरकारको समन्वयकारी भूमिका अपेक्षित भए पनि स्थानीय सरकारको विशेष भूमिका र जिम्मेवारी हुनेछ भन्नेक मैले ठानेको छु।’
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दा स्विट्जरल्यान्डको जस्तो ‘स्वशासन’ र गान्धीले कल्पना गरेजस्तो ‘स्वराज’को सोच अगाडि राखेर नयाँं राज्य संरचना तर्जुमा गरेको बताए।
अधिकार प्रत्यायोजनका क्रममा केन्द्रीय सरकारको उदारता एवं लचकता र स्थानीय सरकारको ग्रहणशीलता तथा क्षमतामा बढी निर्भर रहने पौडेलले बताए।
विकास, पूर्वाधार, कृषि, शिक्षा, सडक, खानेपानी, बिजुलीसहित जनताका आधारभूत आवश्यकता पूरा गर्ने तथा जनचाहनाअनुरूप सुशासन, सेवा र सुविधा सरल, सहज एवं प्रभावकारी तवरले दिन सकिएमा मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पूरा हुन उनको भनाइ थियो।
राष्ट्रपति पौडेलले नवनिर्मित प्रशासकीय भवन, नगरपालिकाको नवनिर्मित सभाहल र हेलिप्याड एकैदिन उद्घाटन गरेका छन्। नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनबाट गत असोज ३ गते संविधान दिवसको दिनदेखि सेवा सञ्चालन गरेका थिए।
संविधान दिवसको अवसर पारेर बाजागाजासहित भाडाको घरबाट मण्डनदेउपुर– ७ मनमैतीस्थित नवनिर्मित भवन सेवा सञ्चालन गरेका थिए । सेवा सञ्चालन गरेको ५ महिनापछि भवनको उद्घाटन गरेका हुन्।