१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २५ शुक्रबार
  • Saturday, 29 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण २५ शुक्रबार o९:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

बैंकर र व्यवसायीअनुकूलको नीति लिने अर्थमन्त्रीको आश्वासन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण २५ शुक्रबार o९:o९:oo

अर्थमन्त्री वर्षमान पुनले बैंकर र व्यवसायीसँग उनीहरूको मनोबल बढाउने गरी काम गर्ने प्रतिबद्धता गरेका छन् । बिहीबार अर्थ मन्त्रालयमा पुगेका उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डलसँग भेट गर्दै उनले निजी क्षेत्रको मनोबल उकास्ने बताए । सरकारले कुनै समुदायप्रति अपराधीजस्तो व्यवहार नगर्ने उनको भनाइ छ ।

निजी क्षेत्रमाथि धरपकड भइरहेको विषयमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मन्त्री पुनको ध्यानाकर्षण गराएका थिए । मन्त्री पुनले पहिले अनुसन्धान पूरा नगरी थुन्ने वातावरण अन्त्य गर्न सम्बन्धित निकायसँग पनि समन्वय गर्ने बताएका छन् । ‘गल्ती गर्नेले सजाय पाउँछ, तर कोही व्यक्तिले गल्ती गर्दैमा पूरै समुदायलाई नराम्रो भन्न हुँदैन,’ व्यवसायीसँगको भेटमा उनले भने, ‘यो मेरो जिम्मेवारी हो । म यहाँहरूलाई हतोत्साही हुन दिन्न ।’

ढकालले विद्यमान आर्थिक समस्या समाधानका लागि पहिलो सर्त निजी क्षेत्र र सर्वसाधारणको मनोबल बढाउनु रहेको बताए । साना सहर र गाउँसम्म रकम प्रवाह गर्न सरकारले पुँजीगत खर्च बढाउनुका साथै पुनर्कर्जा सुविधा विस्तार गर्नुपर्ने बताएका थिए । ‘सहकारी र लघुवित्तमा देखिएको समस्याले साना व्यवसायी र सर्वसाधारणको हातमा रकम पुग्न सकेको छैन,’ उनले भने, ‘त्यसका लागि सरकार र बैंकमा रहेको रकम सर्वसाधारणको हातमा पुग्ने व्यवस्था गर्नुपर्छ ।’

अर्थमन्त्री वर्षमान पुनले व्यवसायीहरूसँग भने– गल्ती गर्नेले सजाय पाउँछ, तर कोही व्यक्तिले गल्ती गर्दैमा पूरै समुदायलाई नराम्रो भन्न हुँदैन । व्यवसायीको पिरमर्का बुझ्ने र समाधान गर्ने जिम्मेवारी मेरो हो । म यहाँहरूलाई हतोत्साही हुन दिन्न ।

उनले निर्माण व्यवसायीलाई बक्यौता भुक्तानीका लागि पहल गर्न पनि मन्त्री पुनसमक्ष आग्रह गरेका छन् । महासंघका प्रतिनिधिअघि मन्त्री पुनलाई नेपाल बैंकर्स संघका पदाधिकारीले पनि भेट गरेका थिए । सो भेटमा मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नुहुन्न भन्ने प्रवृत्तिलाई कडाइका साथ नियन्त्रण गर्ने बताएका थिए ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ऋण नर्तिन भड्काउँदै हिँड्नेहरूलाई कारबाही गर्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएको उनले जानकारी दिए ।

पुनलाई नेप्सेको ‘ग्रिन सिग्नल’
 नवनियुक्त अर्थमन्त्रीका वर्षमान पुनलाई सेयर बजारले ‘ग्रिन सिग्नल’ दिएको छ । अर्थमन्त्री शपथ लिएको दिन बुधबार नेप्से परिसूचक १३ दशमलव ५१ अंकले बढेर दुई हजार ३० दशमलव ५५ विन्दुमा आइपुगेको थियो । कारोबार बन्द हुन केही समय बाँकी हुँदा अर्थमन्त्रीमा पुनको आगमन हुने संकेतबीच नेप्से सूचक ९ दशमलव ३३ प्रतिशतले बढेको थियो । 

पुनले बुधबार साँझ नै अर्थ मन्त्रालयको पदभार ग्रहण गर्दै प्यानिक अवस्थामा रहेका लगानीकर्तालाई राहत हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले ६० लाख लगानीकर्ताको हितमा रहेर काम गर्दै सेयर बजारलाई सुधार गर्ने बताएका थिए । सेयर लगानीकर्तालाई देखाएको सद्भावबीच बिहीबारको सेयर बजारले पनि उनलाई ग्रिन सिग्नल दिँदै १३ दशमलव ५१ अंकले वृद्धि भएको छ । लगानीकर्ता तुलसीराम ढकालले विगतमा पनि पुनः अर्थमन्त्री हुँदा बजार प्यानिक अवस्थामा रहेको र उनको आगमनले सेयर बजारमा सुधार भएको इतिहासलाई सकारात्मक रूपमा हेरिएको बताए । उनले भने, ‘उहाँ लगानीकर्ताको कुरा सुन्ने र सुझबुझपूर्ण निर्णय लिने हुँदा निरुत्साहित लगानीकर्तामा उत्साह आएको देखिन्छ ।’

सत्ता परिवर्तनसँगै सुस्ताएको सेयर बजारमा उत्साह आएको छ । पछिल्लो चार दिनको कारोबारमा ७० दशमलव २३ अंकले नेप्से परिसूचक बढेको छ, यसबीचमा ११ अर्बकोे कारोबार भएको छ । बिहीबार धितोपत्र र ऋणपत्र गरी तीन सय नौ कम्पनीको ८९ लाख २९ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा तीन अर्ब १९ करोड रुपैयाँको कारोबार भएको छ । 

ad
ad
ad
ad