१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार ११:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मनाङको ढुकुरपोखरीमा हिमपहिरो, आवतजावत गर्न जोखिम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:४o:oo

मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ। ङिस्याङ– १ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङमा आवतजावत गर्न जोखिम बढेको छ।

हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए।

उनका अनुसार आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो आएको हो। हिमपहिराेले माथिल्लो मनाङ आवतजावतमा समस्या भएको उनले बताए।

उनले भने, ‘मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ। दैनिक रूपमा यहाँका पर्यटकीय क्षेत्र अवलोकन भ्रमणमा पर्यटक आइरहेका छन्। आवतजावतमा जोखिम बढ्दा समस्या भएको छ।’

दैनिक रूपमा यहाँ ५० देखि ६० पर्यटक भित्रिन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए।

उनले भने, ‘दैनिक पर्यटक आगमन बढ्न थालेको छ। भारी हिमपातसँगै आएको हिमपहिराेले जोखिम भने बढाएको छ। बाटो नै नछेकिए पनि जोखिम भने छ। सचेत भएर उक्त क्षेत्र पार गर्न आग्रह गर्ने गरेका छौँ।’

समय सकिन लाग्दा आएको भारी हिमपातले पहिरो गएको छ। किसानलाई हिमपात उपयुक्त भए पनि यससँगै आएको विपतले भने सकस बनाएको छ। यस क्षेत्रमा आएको हिमपहिराेले नदीनालाको पानीको बहावलाई नरोकिएको र बाटो बन्द भने भएको छैन। 

यस क्षेत्रमार्फत यात्रा गर्ने स्थानीय तथा पर्यटकलाई सचेतता अपनाउन आग्रह गरिएको प्रजिअ लामिछानेले बताए। हिमपातले अन्य क्षेत्रमा पनि हिमपहिरो जान सक्ने भएकाले सचेत रहन उनले अनुरोध गरे।  

पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा अन्नपूर्ण पदमार्गमार्फत पर्यटक आउने गर्छन्। अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका– ७ मनाङे चौतारामा छ। 

अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएको छ। काठमाडौंबाट बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् र पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुवात गर्दछन्। दुई समयमा मनाङमा पर्यटक घुम्न आउने गर्दछन्।
 

ad
ad