१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:o१:oo
Read Time : > 4 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

यसरी खेल्यो नेपालले पहिलो अन्तर्राष्ट्रिय फुटबल

Read Time : > 4 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:o१:oo

अच्युतकृष्ण खरेल एउटा यस्तो नाम हो, जसले ४० को दशकमा सुरक्षा क्षेत्रमा ठूलै सनसनी मच्चायो । प्रहरी प्रशासनमा एउटा बहादुर सिपाहीका रूपमा उनी परिचित थिए । आक्रामक स्वभाव थियो । ०४६ को जनआन्दोलनताका दंगा नियन्त्रणको कमान्ड उनकै थियो । पूर्वआइजिपी खरेल ४० र ५० को दशकमा प्रहरी संगठनसँगै चलायमान राजनीतिक घटनाक्रमका साक्षी हुन् । ०२७ सालमा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका उनको परिचय त्यसअघि राष्ट्रिय फुटबल खेलाडीको थियो । उनी राष्ट्रिय टोलीका पहिलो कप्तान हुन् । सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो च्याम्पियन महावीर क्लब र नेपाल पुलिस हुँदै खरेलले राष्ट्रिय टोलीको कप्तानसम्मको यात्रा गरेका थिए । उनकै कप्तानीमा नेपाल सन् १९६३ मा तत्कालीन पूर्वी पाकिस्तान (हालको बंगलादेश)मा भएको आगा खाँ गोल्डकप खेल्न पुगेको थियो । नेपालले खेलेको त्यो पहिलो औपचारिक अन्तर्राष्ट्रिय प्रतियोगिता थियो, जसको रोमाञ्चक याद खरेलसँग अझै ताजा छ । उनको समयमा फुटबलमा बाजी निकै चल्थ्यो । एक–आपसमा प्रतिस्पर्धा गर्दा १५–२० पैसासम्मको बाजी थापिन्थ्यो । डिल्लीबजारलाई हराउँदा उल्टै उनी संलग्न रहेको टोलीका खेलाडीले रामधुलाइ खाए । त्यो समयमा यस्तो घटना हुनु सामान्यजस्तै थियो । खरेलले नयाँ पत्रिकाकर्मी रमेश सुवेदीलाई पुराना अनुभव सुनाए :

मेरो जन्मथलो काभ्रेपलाञ्चोकको खरेलथोकमा भकुन्डो खेल्ने ठाउँ थिएन । ६ घण्टा लाग्ने बेँसीमा बल खेल्ने मैदान थियो । ०१२ सालमा बुबाले छोराहरूको पठनपाठनका लागि धोबीधारामा डेढ रोपनी जग्गामा घर किन्नुभएको थियो । यहाँ पनि भकुन्डो खेल्ने परिपाटी थिएन । त्यसवेला अहिलेजस्तो समाज थिएन । घोबीधारामा प्रायःजसो सबैका घरमा भोगटेको बोट हुन्थ्यो । 

त्यसवेला फुटबल खेल्ने बल हामीसँग थिएन । भोगटे टिपेर गल्लीमा फुटबल खेल्न सिकेँ । अझ फुटबल खेल्न बुट वा जुत्ता पनि हुँदैनथ्यो । हामी खाली खुट्टामै एक–आपसमा बाजी थाप्दै फुटबल खेल्थ्यौँ । बाल्यकालमा चार–पाँचजना साथीले संकलन गरी १५ देखि २० पैसाबीच बाजी खेल्थे । पद्मोदय स्कुलमा पढ्दै गर्दा देवीमाया मेमोरियल सिल्ड आयोजना भएको थियो । 

मेरो फुटबल करिअर स्कुलबाट सुरु भएको हो । ०१५ सालमा म कक्षा ६ मा पढ्दै गर्दा हाम्रो टोली फाइनल पुगेको थियो । त्यसवेला मेरो खेल प्रशिक्षक वसन्तकुमार थिए । पद्मोदय स्कुलबाट हामी सबै खेलाडीलाई साइत पारेर कन्या केटीबाट टीका लगाएर बिदाइ गरिएको थियो । टीकासँगै हामीलाई अन्डा दिइएको थियो । तर, मलाई खाऊँ कि नखाऊँ भयो । जातले अन्डा खान नदिने अवस्था थियो । तर, लोभले अन्डा खान खुबै मन लाग्यो । तत्कालै जुक्ति लगाएँ । ब्राह्मण शशि सुवेदीलाई अगाडि पठाएँ । उनीभन्दा म पछाडि बसेँ । साथी सुवेदीले अन्डा खाए । त्यसपछि मैले पनि ‘लुकेर वा चोरेर भनौँ अन्डा’ खाएँ । 

डिल्लीबजारलाई हराएपछि कुटाइ खाएँ
वास्तवमा फुटबल आफैँमा गज्जब खेल हो । भोगटेलाई नै भकुन्डो बनाएर खेलेँ । स्कुल पढ्दासम्म लगभग भोगटेलाई नै भकुन्डो बनाएँ । स्कुल जीवनपछि अमृत साइन्स कलेजमा पढँे । त्यस समयको समाजले खेलकुदमा लागेको र खेलेको राम्रो मान्दैनथ्यो । तर, टुँडिखेल र सानो गौचरनमा खेल्न थालियो । त्यो पनि बल बाहिर गएका वेला हान्ने गरिन्थ्यो । त्यहाँ डिल्लीबजारको टोलीविरुद्ध खेलेको थिएँ । तत्कालीन समयमा दुःखलाग्दो पक्ष, खेल्न जाँदा जर्सी नहुने, अझ त्यसमाथि बुट पनि हुँदैनथ्यो । हामीले केही नभए पनि डिल्लीबजार टोलीलाई हरायौँ । हार पचाउन नसकेका डिल्लीबजारका खेलाडीले हामीलाई उल्टै कुटेका थिए । 

हाम्रो समयमा फुटबल खेल्दा बाजी नै हुन्थ्यो । डिल्लीबजारसँग पनि यस्तै भएको थियो । हामी विजयी भएको टोलीले बाजी थापेको पैसा पाउनुपर्ने थियो । तर, उनीहरूले बाजीको पैसा नदिएर कुट्न थाले । राम दाइ भागेर भद्रकालीमा ज्यान बचाउन पुगे । 

बाहिर फुटबल खेल्न त्यति सहज वातावरण थिएन । फुटबल खेलेर खाना पुग्दैन भन्ने आमधारणा थियो । खेलाडी बन्न घरबाट सहयोग थिएन । फेरि नपढी जागिर पाइँदैन, खेलकुदमा लागेपछि पढ्न सकिँदैन भन्ने थियो । खेलकुद र पढाइ सँगसँगै समानान्तर रूपमा लैजाने वातावरण थिएन । म पुलिसमा डिएसपी हुँदा पनि केही खेलाडीले ट्याक्सी चलाउने वा पसलमा काम गरेको सुनेको थिएँ । खेल जीवनको प्रारम्भिक समयमा घरबाट कहिल्यै सहयोग भएन । धेरैपटक मैले कुटाइ नै खाएँ ।

महावीरबाट पहिलो खेल

सन् १९६३ को आगा खाँ गोल्डकपमा सहभागी नेपाली टोली ।

मेरो व्यावसायिक फुटबल करिअरमा पहिलो खेल नै महावीर क्लबबाट भएको थियो । महावीरबाट खेल्न थालेपछि ज्ञानेश्वर, सानो गौचरन वा चारखाल अड्डामा अभ्यास हुन्थ्यो । ०१९ सालमा म १५ वर्षको थिएँ । महावीरमा म खेलाडीमध्ये सबैभन्दा कान्छो थिएँ । क्लबको कप्तान पनि म नै । महावीरमा प्रशिक्षकको सिस्टम थिएन । यसैले गर्दा कप्तानको भूमिका कस्तो हुनुपर्छ, केही मेसो नै थिएन ।

११ जना खेलाडीलाई मैदानमा कहाँ, कसरी खेल्ने ? थाहा थिएन । यस्तै रनभुल्लमा म थिएँ । मलाई प्रशिक्षकको सेन्ट्रल हाफबाट खेल भन्ने निर्देशन थियो । अब यो कस्तो भूमिका हो । त्यो पनि थाहा थिएन । 

अनि मभन्दा सिनियर खेलाडीलाई सोध्न खेल हेरिरहेका आरबी राजासमक्ष पुगेँ । आरबी राजाले ‘तिमीलाई जसरी, जस्तो मन लाग्छ, त्यसैगरी खेल्नु नि’ भन्ने उत्तर दिनुभयो । खेल्दै जाँदा थाहा भयो । सेन्ट्रल हाफ भनेको मैदानको सबैतिर भ्याउनुपर्ने खेलाडी पो रहेछ । त्यस समयमा एनआरटी, संकटा, विद्या व्यायाम, फ्रेन्ड्स युुनियनभन्दा हामी महावीर निकै बलिया थियौँ । 

विद्या व्यायाममा सुशीलशमशेर संंरक्षित भएकाले सबै खेलाडीले सामग्री पाउने गरेका थिए । महावीर विशुद्ध स्थानीय क्लब भएकाले यहाँ खेल्ने खेलाडीसँग केही थिएन । घरमै टन्न डाइट खाएर खेल्न जान्थे । भकुन्डो (बल)सम्म चन्दाकै भरमा किन्नुपर्थ्यो । टुकुचादेखि सबै महावीरका समर्थक थिए । नरशमशेर महावीरसँग नजिक थिए । नेपाली फुटबलको इतिहासमा नरशमशेर जनक नै हुन् । उहाँले महावीरका लागि बुट र जर्सी किनिदिनुभयो । धेरै पछि हामीले प्रशिक्षण र खेल्ने क्रममा डाइट पायौँ । महावीरबाट धेरैभन्दा धेरै उपाधि जितेँ । महावीरको खेल भनेपछि डिल्लीबजार र मैतीदेवीका सबै रंगशालामा पुग्थेँ ।

आन्तरिक प्रतिस्पर्धाबाट कप्तान भएँ
२२ वर्षको उमेरमै म नेपाल प्रहरीको इन्स्पेक्टर भएँ । पुलिसको जागिरमा रहँदा मैले धेरै वर्ष कप्तानीको जिम्मेवारी सम्हालेँ । त्यहाँ बिस्तारै रूपकराज शर्मा, बाबुराम पुन, अशोक केसी र सुरेश पन्थी आए । त्यसवेला पुलिस काठमाडौंमा भएका क्लबमध्ये सबैभन्दा बलियो टिम थियो । राष्ट्रिय फुटबल टोलीमा १६ मध्ये कम्तीमा नौजना पुलिसका खेलाडी नै हुन्थे । पुलिसमा राम्रो खेलेकै कारण भारतीय प्रशिक्षक किट टुले ०२८ सालमा मलाई राष्ट्रिय टोलीमा समावेश गरे । राष्ट्रिय टोलीमा रहँदा हामीले पाटनमा अभ्यास गरेका थियौँ । प्रशिक्षक किट टुले मलाई समावेश गर्नुपर्छ भनी टोलीमा राखेको थाहा पाएँ । राष्ट्रिय टोलीभित्र एउटा समस्या आयो । अब कप्तान कसलाई दिने ? प्रशिक्षकको कुरामा पनि विवाद भएछ । खरेल अभ्यास खेलमा नभएकाले कप्तान नदिने भनेछन् । कप्तानीका लागि ट्रायल खेल भयो । त्यसमा म सफल भएँ र कप्तानको जिम्मेवारी पाएँ । मेरै कप्तानमा नेपालले आगा खाँ गोल्डकप खेलेको थियो । 

आगा खाँ गोल्डकपको मैदान हेर्दा ट्वाल्ल परेँ 
नेपालले आधिकारिक पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाएको आगा खाँ गोल्डकप नै थियो । त्यसमा मैले नै कप्तानी गरेको थिएँ । प्रतियोगिता बंगलादेशमा भएको थियो । बंगलादेश त्यसवेला पाकिस्तानको पूर्वी भाग थियो । पछि मात्र पाकिस्तानबाट छुट्टिएर बंगलादेश अलग देश बनेको हो । हामी नेपाली टोली पिआइएको विमानबाट पूर्र्वी पाकिस्तान पुग्यौँ । पहिलोपटक विमान चढेर फुटबल प्रतियोगिता खेल्न गएको हामीलाई के हो, के हो ? जस्तो लागेको थियो । आगा खाँ गोल्डकपको धेरै पक्षको खासै याद अहिले छैन । खेलअगाडि र पछाडि धेरैलाई नेपालको कप्तानीका रूपमा अन्तर्वार्ता दिएँ । अचम्मको कुरा के छ भने, आगा खाँ गोल्डकप खेलाउने मैदान (रंगशाला) ज्यादै ठूलो थियो । त्यो मैदानमा दुई खेल खेलाउन सक्ने किसिमको थियो । हामीले टुँडिखेल, सानो गौरचन, रंगशाला र ज्ञानेश्वरको सानो मैदानमा अभ्यास गर्ने र खेल्ने गरेका थियौँ । सम्भवतः करिअरमा पहिलोपटक यतिविघ्न ठूलो रंगशाला देख्ने अवसर पाएँ । मैदानमा छिर्दा निकै नर्भस भएको थिएँ । विपक्षी कस्ता छन्, उनीहरू कसरी खेल्छन् ? यसबारे कसैलाई जानकारी थिएन । फेरि अन्तर्राष्ट्रिय खेलमा कसरी खेल्नुपर्छ भन्ने ज्ञान थिएन । तर, हामीले गोल्डकपमा राम्रो खेल्यौँ । हामीले यसवेलासम्म सिस्टम चेन्ज गरेका थियौँ । थ्री ब्याक सिस्टममा आएका थियौँ । हामीले खेलेको राम्रो भएछ । प्रतियोगितामा नेपाल पराजित भए पनि त्यसवेला सबैले राम्रो मानेका थिए । 

पाकिस्तानबाट आउनेबित्तिकै पुलिसमा हाजिर लगाउन पुगेँ । टिमलाई सही तरिकाले अगाडि बढाउन सकियो भने राम्रो बन्न सक्छ भन्ने आकलन भयो । पाकिस्तानबाट आएर एसियन युथ खेल्न टोकियो गएँ । यसपछि मलेसिया, थाइल्यान्डलगायत देशमा पनि खेल्न गयौँ । त्यही वेला जापान र कुवेतसँग धेरै राम्रो खेलेको सम्झना अहिले पनि छ । ०३५ सालमा जागिरमै केन्द्रित हुनुपर्ने भएपछि विराटनगरमा गोल्डकप खेल्दै फुटबलबाट सन्न्यास लिएँ । तत्काल मैले फुटबलबाट सन्न्यास लिन्छु भने कसैले पनि सोचेकै थिएनन् । 

ad
ad