Skip This
११८ फार्मेसीमा अनुगमन, दुई फार्मेसीलाई ५०–५० हजार जरिवाना 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १९ शनिबार
  • Saturday, 27 July, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८o फाल्गुण १९ शनिबार o७:३८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

११८ फार्मेसीमा अनुगमन, दुई फार्मेसीलाई ५०–५० हजार जरिवाना 

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण १९ शनिबार o७:३८:oo

महानगरभित्रका फार्मेसीमा अयोग्य खोप तथा औषधिजन्य सामग्री बिक्री–वितरण

काठमाडौं महानगरपालिकाभित्र रहेका फार्मेसीले नागरिकको स्वास्थ्यमा गम्भीर खेलबाड गर्दै अयोग्य खोप तथा औषधिजन्य सामग्री बिक्री–वितरण गर्दै आइरहेको पाइएको छ । महानगरपालिकाले गरेको अनुगमनका क्रममा एन्टिरेबिज भ्याक्सिन, टिटीलगायतको अयोग्य खोप र औषधि वितरण गरेको पाइएको हो । 

उपमेयर सुनिता डंगोलसहितको टोलीले गरेको अनुगमनले औषधि पसलमा राखिएका कुनै पनि खोप लगाउन योग्य नदेखिएको प्रमाण फेला पारेको छ । फार्मेसीले फ्रिज नै नचलाई एन्टिरेबिज भ्याक्सिन राख्ने गरेका थिए । ती सबै भ्याक्सिन अनुगमन टोलीले जफत गरेको छ । 

महानगरको अनुगमन टोलीले २१ असोजदेखि महानगरपालिका क्षेत्रभित्र सञ्चालन गरिएका एक सय १८ वटा औषधि पसल अनुगमन गरेको थियो । अनुगमनमा कुनै पनि फार्मेसीले आधारभूत मापदण्ड पालना नगरेको पाइएको छ । टोली महानगरका सीमित क्षेत्रमा अनुगमन गर्न पुगेको थियो । वडा नं. १, २ र ३ का अधिकांश र अन्य वडाका केही फार्मेसीमा अनुगमन गर्दा सबैजसो फार्मेसीले लापरबाही गरेको पाइएको हो । 

अनुगमनका क्रममा महानगरपालिका– १४ कलंकीमा सञ्चालित मिसन फार्मेसीले फ्रिज नचलाई खोप भण्डारण गरेको भेटिएको छ । त्यहाँ भेटिएका तीन प्याकेट (३० वटा) एन्टिरेबिज भ्याक्सिन, टिटी खोप नौ थान र तीन थान इन्सुलिन जफत गरिएको छ । 

प्राणघातक रोेग रेबिजविरुद्ध लगाइने एन्टिरेबिज खोप परविचन्द्र फार्मेसीमा रेफ्रिजेरेटरको तापक्रम नै नमिलाई राखिएको थियो । ‘औषधि पसलहरूले फ्रिज तथा खोप भण्डारण गर्ने कक्षमा आवश्यक पर्ने तापक्रम नमिलाउनु गम्भीर लापरबाही हो, जनस्वास्थ्यका दृष्टिले चरम गल्ती हो,’ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘यस्ता ठाउँमा सुधारको मौका दिन सकिँदैन ।’ 

फार्मेसी अनुगमन संयोजक एवं अस्पताल नर्सिङ निरीक्षक कल्पना श्रेष्ठका अनुसार औषधि पसलमा गएर खोप लगाउन नहुने देखिएको छ । उनका अनुसार अनुगमनका क्रममा औषधि राख्ने फ्रिजमा कोल्ड चेन कुनैमा पनि मेन्टेन भएको देखिएन । औषधि पसल दर्ता गर्दा अर्कैको नाममा गर्ने र पसलमा अर्कै व्यक्ति बसेको भेटिएको छ । कतिपय फार्मेसी औषधि व्यवस्था विभागमा दर्ता भए पनि महानगरपालिकामा दर्ता छैनन् । 

अधिकांश फार्मेसीले बिलमा औषधिको म्याद सकिने (एक्स्पायरी डेट) मिति, ब्याच नं. केही उल्लेख गरेका छैनन् । नार्कोटिक ड्रग बेच्ने पसलमा डाक्टरको मेडिकल काउन्सिल दर्ता नम्बरसमेत नभएको भेटिएको छ । अनुगमनका क्रममा रियान्स आयुर्वेदिक फर्मामा सर्जिकल र एलोपेथिक औषधि भेटिएको छ । 

सुयोग आयुर्वेदिक औषधि पसलमा आयुर्वेद अध्ययन नगरेको व्यक्तिले औषधि बिक्री गरेको अनुगमनमा भेटिएको छ । त्यस्तै, घट्टेकुलोमा रहेको रोयल गन्तव्य हेल्थ केयर प्रा.लि.ले दर्ताको प्रमाणपत्रसमेत राखेको छैन । त्यस्तै, अनामनगरको रिजाल ड्रग हाउसमा औषधिभन्दा धेरै कस्मेटिक सामान राख्ने गरेको छ । अनुगमनले यस फार्मेसीको फ्रिज पनि फोहोर रहेको भेट्टाएको छ । ‘अनुगमनका क्रममा भेटिएका यी केही प्रतिनिधि अवस्था हुन्, यी र यस्ता समस्या सबैजसोमा छन्,’ अनुगमन संयोजक श्रेष्ठले भनिन्, ‘अनुगमन गर्दा राम्रा औषधि पसलचाहिँ निकै कम भेटिए ।’ 

दुई फार्मेसीलाई तिराइयो ५०–५० हजार जरिवाना 
अनुगमनका क्रममा म्याद गुज्रेका औषधि बिक्री तथा लगाउन अयोग्य खोप वितरण गर्ने दुईवटा फार्मेसीलाई जरिवाना तिराइएको छ । अन्य फार्मेसीको भने म्याद गुज्रेको र अयोग्य औषधि तथा खोप जफत गरिएको छ । जरिवाना तिराइएकामध्ये महाराजगन्जमा रहेको मेइदिनी फार्मेसी र ठमेलमा रहेको हिमालय स्टोर छन् । 

यी दुई फार्मेसलाई ५०–५० हजारका दरले जरिवाना तिराइएको छ । जरिवाना तिराएपछि महाराजगन्जमा रहेको मेइदिनी फार्मेसीले नामसमेत परिवर्तन गरेको छ । फार्मेसी अनुगमन संयोजक एवं अस्पताल नर्सिङ निरीक्षक श्रेष्ठले जनस्वास्थ्यमाथि खेलबाड गर्ने स्वास्थ्य संस्था तथा फार्मेसीहरूमा महानगरले निरन्तर अनुगमन गर्ने बताइन् ।