टाइब्रेकरमा ५–३ गोलअन्तरले नेपाललाई हराउँदै जोर्डन वाफ महिला च्याम्पियनसिप २०२४ को विजेता बनेको छ ।
डिफेन्डिङ च्याम्पियनसमेत रहेको जोर्डनले आठौं संस्करणसम्म आइपुग्दा छैटौँपटक उपाधि उचाल्यो । जोर्डनले यसअघि सन् २००५, २००७, २०१४, २०१९, २०२२ मा पनि विजेता बनेको थियो ।
निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि विजेताको टुंगो टाइब्रेकरबाट भएको हो । जहाँ जोर्डनका सबै खेलाडीले गोल गरे भने नेपालको तर्फबाट अमृता जोशीको प्रहार गोलमा परिणत हुन सकेन । गीता राना, दीपा शाही र हीराकुमारी भुजेलले गोल गरे ।
११ पटकको फाइनल असफलता बिर्साउँदै उपाधि चाल्ने र उपाधिको खडेरी तोड्ने सपना यसपटक पनि पूरा हुन सकेन । खेलको सबै क्षेत्रमा बलियो प्रदर्शन गरे पनि नेपाली टिममा फरवार्ड लाइनमा सावित्रा भण्डारी साम्बाको अनुपस्थिति महसुस भएको थियो ।
साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल स्पोर्टस् सिटी स्टेडियममा भएको फाइनल खेलमा अग्रता भने नेपालले लिएको थियो । २९औँ मिनेटमा सबिता रानामगरले सानदार गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । रेखा पौडेलले दिएको पासमा सबिताले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार दोस्रो बार च्याप्दै सुन्दर गोलमा परिणत भएको थियो ।
तर, ७४औँ मिनेटमा जोर्डन खेलमा फर्कियो । निर्धारित ९० मिनेटको खेल सकिन एक मिनेट बाँकी हुँदा ८९औँ मिनेटमा जोर्डन थप गोल गर्दै उपाधि रक्षा गर्ने दिशामा बढेको थियो ।
तर, अतिरिक्त समयको पहिलो मिनेटमै नेपालले पेनाल्टी प्राप्त गर्यो, जसलाई सुन्दर ढंगले गोलमा परिणत गर्दै गीता रानाले नेपाललाई खेलमा फर्काइन् । त्यसपछिको टाइब्रेकर भने नेपालको पक्षमा हुन सकेन ।