मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १६ बुधबार
  • Sunday, 16 February, 2025
२o८o फाल्गुण १६ बुधबार १२:३९:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

धनकुटामा व्यवसाय दर्तासम्बन्धी सबै काम वडा कार्यालयबाटै हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १६ बुधबार १२:३९:oo

धनकुटा नगरपालिकाभित्र व्यवसाय दर्ता, नवीकरणसहित व्यवसायसम्बन्धी सम्पूर्ण काम वडा कार्यालयबाटै हुने भएको छ। नगरपालिकाले वडालाई अधिकार प्रत्यायोजन गरेर व्यवसायसम्बन्धी सबै काम वडा कार्यालयबाटै हुने व्यवस्था मिलाएको हो।

यसअघि व्यवसाय दर्ता, नवीकरण, नामसारी, कारोबार थप, लगत कट्टा, व्यवसाय तथा बहाल कर दाखिलालगायतका लागि नगरपालिका कार्यालय नै पुग्नुपर्ने बाध्यता थियो। तर, अब व्यवसायसँग सम्बन्धित सम्पूर्ण काम वडाबाटै हुने गरी अधिकार प्रत्यायोजन गरिएको नगर प्रमुख चिन्तन तामाङले जानकारी दिए।

‘व्यवसायीहरूलाई सजिलो बनाउन हामीले वडालाई अधिकार प्रत्यायोजन गरेका छौँ। व्यवसायसँग सम्बन्धित कामका लागि अब नगरपालिका आइरहनुपर्दैन, वडाबाटै सबै काम हुन्छ,’ नगर प्रमुख तामाङले भने, ‘यसले व्यवसायीहरूलाई निकै सहज हुनेछ।’

व्यवसाय दर्ताका लागि यसअघि वडा कार्यालयले सर्जमिन मुचुल्का गरेर नगरपालिकालाई सिफारिसको काम मात्र गर्दै आएको थियो। नगर कार्यपालिकाको निर्णयपछि व्यवसाय दर्ता, नवीकरणसहित व्यवसायसँग सम्बन्धित सबै काम वडाबाटै गर्न थालिएको धनकुटा– ४ का वडाध्यक्ष जम्सेर छाराले जानकारी दिए। सेवा सुरु गर्नुअघि १० वटै वडाका कर्मचारीलाई प्रशिक्षणसमेत दिइएको छ।

धनकुटा नगरपालिकाका राजस्व अधिकृत राजु गुरागाईंका अनुसार नगरमा करिब तीन हजार व्यवसाय दर्ता छन्। वार्षिक करिब दुई सय नयाँ व्यवसाय दर्ता हुने गरेका छन्।