Skip This
अकल्पनीय पीडाबीच गाजामा बालबालिका
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १६ बुधबार
  • Saturday, 27 July, 2024
क्याथरिन रसेल
२o८o फाल्गुण १६ बुधबार १o:३१:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अकल्पनीय पीडाबीच गाजामा बालबालिका

रफाहमा शरण लिइरहेका गाजाका जनता सम्भावित ठूला सैन्य कारबाहीको भयावह यथार्थसँग बाँचिरहेका छन्

Read Time : > 2 मिनेट
क्याथरिन रसेल
नयाँ पत्रिका
२o८o फाल्गुण १६ बुधबार १o:३१:oo

गाजाको द्वन्द्वले २० साताको सीमा पार गरेको छ । अक्टोबरयता चलिरहेको युद्धले मानिसलाई दक्षिणतर्फ खुम्च्याइरहेको छ । मानिसहरू इजिप्टसँग सीमा जोडिएको गाजाको रफाह क्षेत्रमा धकेलिँदै छन् । पछिल्ला ६ सातामा मात्र रफाहको जनसंख्या तीन लाखदेखि १४ लाख पुगेको छ, जहाँ कैयौँ साना बालबालिकासहितका विक्षिप्त परिवारले शरण लिइरहेका छन् । रफाहमा शरण लिइरहेका गाजाका जनता सम्भावित ठूला सैन्य कारबाहीको भयावह यथार्थसँग बाँचिरहेका छन् । शरण लिइरहेका जनताका लागि रफाहभन्दा दक्षिण जाने ठाउँ छैन र उत्तरतर्फ त कुनै सुरक्षित ठाउँ छैन ।

इजिप्टसँग जोडिएको रफाहको छेत्रफल २५ वर्गमाइल मात्र छ, तर रफाहको अहिले जनघनत्व न्युयोर्कभन्दा दोब्बर र वासिंटन डिसीभन्दा चार गुणा बढी छ । यी अमेरिकी सहरको जस्तो गगनचुम्बी भवन वा ठूला आवास क्षेत्र रफाहमा छैनन् । रफाहमा मानिस भिडभाडयुक्त अस्पताल र विद्यालय भवनमा ओत लागिरहेका छन् । यी भवनमा ६ लाख १० हजारभन्दा बढी बालबालिका अर्थात् करिब आधा विस्थापित जनता कैद भएका छन् ।

रफाहमा ओत लाग्न संघर्षरत जनता अकल्पनीय अवस्था सहिरहेका छन् । शरण लिएका जनता लामो समयदेखि चलिरहेको जाडो र हिउँदे वर्षा सहिरहेका छन् र सडक किनारालगायत खाली ठाउँ, जहाँ भेट्यो त्यहाँ त्रिपाल गाडेर बसिरहेका छन् । पहिल्यैदेखि पर्याप्त पीडा व्यहोरेको गाजाको यो सानो टुक्रामा अहिले थप अप्ठ्यारा र प्रताडना थपिएका छन् । केही सातायतादेखि रफाहमा सम्भावित सैन्य कारबाही हुने समाचार शीर्षक देखा परिरहेका छन् ।  

रफाहमा विशाल जनघनत्व छ र त्यहाँ सुरक्षित खुला स्थानको कमी देखिन्छ । यस्तो अवस्थामा यदि कुनै ठूलो सैन्य हमला विशेषतः विस्फोटक हतियारको प्रयोग हुन्छ भने यसले अन्धाधुन्ध परिणाम निम्त्याउनेछ अर्थात् यस क्षेत्रमा फसेका आमजनता विशेषतः सबैभन्दा बढी जोखिममा रहेका बासिन्दाका लागि विपत्ति हुनेछ । हामीले यो विपत्ति गाजाका अन्य क्षेत्रमा देखिसकेका छौँ, जहाँ पछिल्ला चार महिनामा २९ हजार नागरिक मारिएका छन् र मारिनेमा स्तब्ध पार्ने गरी ७० प्रतिशत बालबालिका एवं महिला छन् ।  

रफाहमा हुने आक्रमणले मृत्यु हुने र घाइतेको संख्या उल्लेख्य रूपमा बढाउन सक्छ । यसबाहेक हिंसा, अत्यावश्यक सेवाको कमी र अत्यधिक जोखिममा रहेका जनतालाई दिइने मानवीय सहयोगमा हुने अवरोधले हजारौँको ज्यान लिन सक्छ । सम्भावित आक्रमणले पहिल्यैदेखि कमजोर रहेको कानुन व्यवस्थालाई थप कमजोर बनाउनेछ ।    

गाजामै रहेका युनिसेफका कर्मचारी यस युद्धका क्रूर त्रासदीको साक्षी बनेका छन् । द्वन्द्वमा रहेका पक्षले नांगो रूपमा बालबालिकाविरुद्ध अपराध गरेका छन्, अर्थात् यसमा बालबालिकाको हत्या गर्ने, तिनलाई घाइते बनाउने, अपहरण गर्नेदेखि लिएर विद्यालय एवं अस्पतालमा हमला गर्ने र आधारभूत मानवीय सेवाबाट वञ्चित गराउनेसम्मका कृत्य छन् ।

गम्भीर जलन, अंगभंगको अवस्था, ठूला चोटपटक र अन्य आघात भएका बालबालिका बचेखुचेका केही अस्पतालमा भर्ना भइरहेका छन् । रफाहमा बालबालिकाको स्वास्थ्यका लागि आवश्यक अस्पताल, आश्रयस्थल, बजार र खानेपानी प्रणाली अझै पनि बाँकी छन् । यी संशाधनविना भोकमरी र रोगव्याधीमा बढोत्तरी हुनेछ, नतिजा थप बालबालिकाले ज्यान गुमाउनेछन् । अहिले पनि हामीले आकलन गरेअनुसार गाजाका पाँच वर्षमुनिका ९० प्रतिशत बालबालिकालाई एक वा बढी सरुवा रोग लागेको छ । त्यसैगरी दुई साताअघि ७० प्रतिशत बालबालिका झाडापखालाबाट ग्रस्त थिए र यो आँकडा सन् २०२२ को औसत झाडापखाला लाग्ने बालबालिकाको संख्याको २३ गुणा बढी हो । 

रफाहमा ठूलो सैन्य आक्रमण गर्नुपूर्व त्यहाँका आमजनतालाई हटाउने खबर आएको छ । तर, त्यहाँका आममानिस जाने कहाँ ? गाजाको अधिकांश हिस्सा धुलोपिठो भएको छ । आमजनतालाई जबर्जस्ती थप दक्षिणतर्फ स्थानान्तरण गर्न सकिँदैन । यी आमजनतालाई केहिले भन्ने गरेको गाजाको दक्षिण–पूर्वी तटमा रहेको सानो बस्ती अल मवासी सार्ने सल्लाह पनि भएको छ, तर यो सम्भव छैन, किनभने यो समुद्री तटीय बस्तीमा स्थानान्तरण गरिने जनसंख्याका लागि पर्याप्त शौचालय, खानेपानीलगायत पूर्वाधारको व्यवस्था छैन । 

अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन गर्दै कैयौँपटकको युद्धका कारण रफाहका अधिकांश बालबालिका विस्थापित भएका छन् । युद्धको २०औँ साता चलिरहँदा कैयौँ बालबालिका घाइते, बिरामी र कुपोषणले ग्रस्त छन् र यी बालबालिकालाई अन्यत्र पु¥याउन अफ्ठ्यारो छ । हाम्रो अनुमानअनुसार कम्तीमा गाजामा १७ हजार बालबालिका टुहुरा बनेका छन् वा परिवारबाट छुट्टिएका छन् । र, यो संख्या आगामी दिनमा हुने विस्थापनसँगै बढ्नेछ । 

रफाह र वरपर थप सैन्य हमला रोक्न र गाजाभित्रका सबै बन्धकलाई तत्कालै सुरक्षित रूपमा रिहा गरिएको सुनिश्चित गर्न आवश्यक छ । यदि युद्धरत पक्षले यो आह्वानलाई ध्यान दिएनन् भने यी पक्ष थप हजारौँ बालबालिकाको मृत्युका लागि जिम्मेवार हुनेछन् । द्वन्द्वरत पक्षले तुरुन्तै स्थायी मानवीय युद्धविराम लागू गर्नुपर्छ ताकि हाम्रो समूह र अन्य मानवीय एजेन्सीले ठूलो, बहु–निकाय योजना लागू गर्न मद्दत गर्न सक्छन्, जुन अत्यन्तै आवश्यक छ ।

म सख्त रूपमा अधिकारीहरूलाई थप सहायता ट्रकलाई सीमाबाट प्रवेश गर्न, मानवतावादी कार्यकर्तामाथिको बन्देज हटाउन र सहायता प्राप्त गर्ने मानिसलाई बेरोकटोक सहायता लिनदिन आग्रह गर्छु । गाजाको विनाश र सर्वसाधारणको हत्याले यस क्षेत्रमा शान्ति वा सुरक्षा ल्याउनेछैन । यो केवल एक संवादयुक्त राजनीतिक समाधानबाट प्राप्त गर्न सकिन्छ, जसले इजरायली र प्यालेस्टिनी बालबालिकाको भविष्यका पुस्ताको अधिकार र भलाइलाई प्राथमिकता दिनेछ । 
(रसेल युनिसेफकी कार्यकारी निर्देशक हुन्) सिएनएनबाट