१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १o:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भरतमोहन अधिकारीको स्मृति दिवस सिर्जनात्मक रूपले मनाइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:१४:oo

लोकप्रिय वामपन्थी नेता स्वर्गीय भरतमोहन अधिकारीको पाँचौँ स्मृति दिवस सिर्जनात्मक रूपले मनाइने भएको छ । ‘भरतमोहन अधिकारी स्मृति फाउन्डेसन’ की सदस्य तथा अधिकारीपुत्री  लिमा अधिकारीका अनुसार स्मृति दिवसको अवसर पारेर चन्द्रागिरि नगरपालिका– १३ स्थित कंकाली माविका छात्रछात्रालाई आत्मनिर्भर बनाउन सीपमूलक प्राविधिक तालिम आयोजना गरिएको छ । 

सो विद्यालयका कक्षा नाैदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी विषय विज्ञहरूबाट अंग्रेजी भाषा सिकाइका साथै इलेक्ट्रिक, इलेक्ट्रोनिक, प्लम्बिङ, कम्प्युटर र डिजिटल मार्केटिङसम्बन्धी एकमहिने तालिम दिन लागिएको लिमाले बताइन् । नेपालको शिक्षा कामसँग नजोडिएका कारण शैक्षिक बेरोजगार उत्पादन गर्ने थलोजस्तो बनेकाले विद्यालय उमेरमै सीप सिकाउन सकिए युवा पलायन रोक्न सकिने विश्वास आफूहरूले लिएको उनको भनाइ थियो ।

‘नेपालमा बस्ने अवस्था नै छैन । नेपालमा काम गरेर पनि केही हुँदैन भन्ने मनोविज्ञानले युवा पुस्तालाई नराम्ररी गाँजेको छ,’ लिमाले भनिन्, ‘गरियो भने नेपालमै सम्भव छ भन्ने सन्देश दिन हामीले यसपटक बुबाको स्मृति दिवसको अवसर पारेर विद्यार्थीलाई व्यावसायिक तालिम दिन लागेका हौँ ।’  स्मृति दिवसमा नेता आउने, बुबाको योगदानको र व्यक्तित्वको चर्चा गर्ने र गएपछि बिर्सनेजस्तो नहोओस् भन्ने आफूहरूको चाहना रहेको अधिकारीले उल्लेख गरिन् । कार्यक्रमको पहिलो दिन रास्वपा नेता एवं पब्लिक स्पिकर रमेश प्रसाईंले ‘नेपालमै सम्भव छ’ शीर्षकमा विद्यार्थीलाई मोटिभेसनल तालिम दिने पनि प्रतिष्ठानले जनाएको छ । 

विक्रम संवत् १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा बुबा रामचन्द्र र आमा पूर्णकुमारीको कोखबाट जन्मिएका भरतमोहनको ८२ वर्षको उमेरमा ०७५ साल फागुन १८ गते काठमाडौंमा निधन भएको थियो । 

अधिकारीले वामपन्थी आन्दोलनमार्फत नेपालको राजनीतिक परिवर्तन, राजनीतिक अर्थशास्त्र तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान गरेका छन् । अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातकसम्मको अध्ययन गरेका अधिकारी पञ्चायतकालीन समयमा चर्चित अधिवक्ता थिए । ०४७ सालको संविधान मस्यौदा समितिमा रहेर उनले संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा भरतमोहन अर्थमन्त्री थिए । उनले  नै ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रममार्फत हरेक स्थानीय तहमा सीधै रकम पठाउने कामको सुरुवात गरेका थिए । तत्कालीन अर्थमन्त्रीका रूपमा बजेटमार्फत अधिकारीले मासिक एक सय रुपैयाँ वृद्धभत्ता र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिने कामको सुरुवात गरेका थिए । उक्त रकम बढेर हाल मासिक चार हजार पुगेको छ । यस्तै, उनले महिलाको नाममा जग्गा पास गर्दा लाग्ने शुल्कमा छुट दिने योजना ल्याएका थिए । सुत्केरी महिलालाई पोषण भत्ता दिने कामको सुरुवात पनि अधिकारीले नै गरे । 

०४६ को राजनीतिक परिवर्तनपछि चारपटक सांसद निर्वाचित अधिकारीले अर्थ मन्त्रालयका साथै भौतिक मन्त्रालयको पनि नेतृत्व गरेका थिए । एमाले नेतृत्वमाथि अधिकारीले अघि सारेका जनमुखी लोकप्रिय कार्यक्रमको प्रचार गरेर चुनावमा मतदाता आकर्षित गरे पनि अधिकारीको योगदानको मूल्यांकन गर्न नसकेको टिप्पणीहरू हुने गरेका छन् ।
 

ad
ad