Skip This
बागमती प्रदेशमा आजबाट भेडाबाख्रामा लाग्ने पिपिआर रोगविरुद्धको खोप लगाइँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १६ बुधबार
  • Friday, 26 July, 2024
फाइल तस्बिर
२o८o फाल्गुण १६ बुधबार o९:४७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बागमती प्रदेशमा आजबाट भेडाबाख्रामा लाग्ने पिपिआर रोगविरुद्धको खोप लगाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १६ बुधबार o९:४७:oo

आजबाट बागमती प्रदेशमा भेडाबाख्रामा लाग्ने पिपिआर रोगविरुद्धको खोप अभियान सञ्चालन हुँदै छ । प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयमातहत सञ्चालन हुने खोप अभियानमा प्रदेशका १३ जिल्लाका करिब साढे १३ लाख भेडाबाख्रामा खोप लगाइने भएको छ।

एक हप्तासम्म चल्ने खोप अभियानमा जिल्ला पशु सेवा कार्यालयमार्फत २० वटाभन्दा बढी भेडाबाख्रा पाल्ने कृषकको पहिचान गरी सोही स्थानमा पुगी खोप सञ्चालन गरिने योजना रहेको मन्त्रालयका प्रवक्ता सुजन कँडेलले जानकारी दिए ।

२२ फागुनसम्म चल्ने खोप अभियानका लागि १५ लाख ९४ हजार डोज खोप प्राप्त भएकोमा १३ लाख ५० हजार डोज खोप खपत गर्ने लक्ष्य रहेको प्रवक्ता कँडेलको भनाइ छ । उनले मन्त्रालयको तथ्यांकअनुसार प्रदेशभर करिब २८ लाख भेडाबाख्रा रहेकोमा अहिले सञ्चालन गर्ने खोपको कभरेज करिब ५८ प्रतिशत रहेको बताए । प्रवक्ता कँडेलले पिपिआरविरुद्धको खोप भेडाबाख्रामा पहिलोपटक तीन महिनाको उमेर पूरा भएपछि लगाउने र खोप लगाउँदा हरेक तीन–तीन वर्षको फरकमा लगाउनुपर्ने जानकारी दिए ।

प्रदेश सरकारले गत २ वर्षदेखि बर्सेनि खोप अभियान चलाइरहेकाले गत वर्ष खोप लगाएका भेडाबाख्रालाई यसपटक लगाउनु नपर्ने भएकाले बागमती प्रदेशका लागि छुट्याइएको १५ लाख खोप पर्याप्त हुने बताए । पिपिआर रोगको संक्रमणदर शतप्रतिशत र मृत्युदर ९० प्रतिशतसम्म पुग्ने भएकाले यसलाई पशुहरूमा लाग्ने सबैभन्दा खतरनाक रोग मानिने गरेको प्रवक्ता कँडेलले जानकारी दिए । 

नेपालमा पहिलोपटक सन् १९९४ मा देखिएको यो रोग हाल ७७ वटै जिल्लामा पुष्टि भएको छ । यो रोग लागेका भेडाबाख्रामा ज्वरो आउने, झोक्राउने, घाँस, दानापानी नखाने, नाकबाट पानी बग्ने, नाकको प्वाल बन्द हुने, आँखा रातो, कचेरा निस्कने, निरन्तर आँसु बग्नेलगायतका लक्षण देखिने र रोग लागेको पाँचदेखि १० दिनमा भेडाबाख्राको मृत्यु हुने गर्छ ।