१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार ११:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

६ महिनामा प्राधिकरणको नाफा १५.३६ अर्ब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:४१:oo

नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष ०८०/८१ को ६ महिनामा १५ अर्ब ३६ करोड नाफा कमाएको छ । यो गत आव ०७९/८० को सोही अवधिको तुलनामा ४१ प्रतिशतले बढी हो । गत आवको ६ महिनामा प्राधिकरणले १० अर्ब ९१ करोड नाफा कमाएको थियो । प्राधिकरणका अनुसार यो कर कट्टीअघिको नाफा हो । गत आवको पूरै वर्षभरि भने प्राधिकरणले खुद १२ अर्ब ३३ करोड नाफा कमाएको थियो । चालू आवमा नाफा बढ्ने प्राधिकरणको आकलन छ । 

६ महिनामा प्राधिकरणले विद्युत् बिक्री तथा ब्याजमार्फत ६७ अर्ब २८ करोड ७७ लाख आम्दानी गरेको छ । समीक्षा अवधिमा प्राधिकरणले भारतमा विद्युत् निर्यात गरेर मात्रै १३ अर्ब ३८ करोड ५६ लाख आम्दानी गरेको छ । स्वदेशमै विद्युत् बिक्री गरेर भने ४५ अर्ब ४९ करोड ३८ लाख खुद आम्दानी गरेको छ । यसैगरी, प्राधिकरणले समीक्षा अवधिमा विद्युत् आयात तथा खरिदलगायत शीर्षकमा ५१ अर्ब ९२ करोड ७१ लाख खर्च गरेको छ । समीक्षा अवधिमा प्राधिकरणले भारतबाट एक अर्ब ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरेको छ । यसैगरी, निजी आयोजनाबाट २८ अर्ब ४९ करोड ९६ लाखको विद्युत् खरिद गरिएको प्राधिकरणको भनाइ छ । 

अहिले सुक्खा यामका कारण स्वदेशी उत्पादन घटेपछि भारतबाट विद्युत् आयात भइरहेको छ । चैत–वैशाखसम्म १० अर्बभन्दा बढीकै विद्युत् आयात गर्न सकिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । यद्यपि, असारसम्म पुग्दा सन्तोषजनक नाफा कमाउन सकिने प्राधिकरणका एक अधिकारीले बताए । आव ०७२/७३ सम्म प्राधिकरण घाटामा थियो । त्यस यता भने प्राधिकरणले हरेक वर्ष नाफा कमाउँदै आएको छ ।

साउनयता नौ सबस्टेसन सञ्चालनमा
नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष ०८०/८१ को साउनयता विद्युत् वितरणतर्फका नौवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ । प्राधिकरणले ग्रिड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म विद्युत् पुर्‍याउन र वितरण सबस्टेसनबाट उपभोक्ताकोसम्म विद्युत् पुर्‍याउन ३३ तथा ११ किलोभोल्ट (केभी) र चार सय भोल्टका लाइनहरू निर्माण गरी सञ्चालनमा ल्याएको छ । साथै, वितरण ट्रान्सफर्म पनि जडान गरिएको छ । 

साउनबाट हालसम्म वितरणतर्फका ३३–११ केभीका नौवटा वितरण सबस्टेसन निर्माण गरेको छ । प्राधिकरणका अनुसार इलामको पश्चिम क्षेत्र र पाँचथरमा विद्युत् आपूर्तिका लागि ३३–११ केभीको चिसापानी सबस्टेसन बनाइएको छ । यसैगरी, मकवानपुरको बागमती तथा बकैया गाउँपालिकामा विद्युत् आपूर्तिका लागि क्षतिवन सबस्टेसन बनाइएको छ । म्याग्दीको मंगला, मालिका तथा धौलागिरि गाउँपालिकामा विद्युत् आपूर्तिका लागि दरबाङ सबस्टेसन र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिका क्षेत्रमा विद्युत् आपूर्तिका लागि बोझपोखरी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत सबस्टेसन निर्माण गरिएको हो । आयोजनाअन्तर्गत देशभरि २५ वटा नयाँ सबस्टेसनको निर्माण र १२ वटा सबस्टेसनको स्तरोन्नति गरिएको छ । २५ वटा सबस्टेसनमध्ये पाँचवटाको निर्माण अन्तिम चरणमा छ भने सबस्टेसनहरूको स्तरोन्नति सम्पन्न भइसकेको छ । 

विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनामार्फत प्राप्त सहुलियतपूर्ण ऋणमा मकवानपुरको मनहरी, सिन्धुलीको दुधौली, दोलखाको नाम्दु ललितपुरको उनिचौरमा वितरणतर्फको ३३–११ केभी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । 

त्यस्तै, विश्व बैंककै सहुलियतपूर्ण ऋणमा रामेछापको बाम्तीमा वितरण सबस्टेसन निर्माण गरिएको छ । उक्त सबस्टेसनसम्म पुग्ने ३३ केभी प्रसारणलाइन र त्यहाँबाट विद्युत् आपूर्तिका लागि लाइन पनि निर्माण गरी सञ्चालनमा ल्याइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् उपलब्ध गराउन देशभरि नै वितरणतर्फका लाइन र सबस्टेसन निर्माण अभियानकै रूपमा चलिरहेको बताए ।  

ad
ad