जोर्डन वाफ २०२४ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । भर्खरै सकिएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० गोलले पराजित गर्दै जोर्डनले बिहीबार हुने उपाधि भिडन्तका लागि फाइनलमा स्थान बनाएको हो ।
जोर्डनले आजै मध्यरात हुने दोस्रो सेमिफाइनलको विजेतासँग फाइनलमा भिडन्त गर्नेछ । दोस्रो सेमिफाइनलमा नेपाल र लेबनान प्रतिस्पर्धा गर्दैछन् ।
जोर्डनले प्यालेस्टाइनको पोस्टमा पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल गर्याे । डिफेन्डिङ च्याम्पियन जोर्डन यस प्रतियोगिताको सर्वाधिक सफल टिम हो ।
सन् २००५ बाट सुरु भएको वाफ वुमन्स च्याम्पियनसिप दुई–दुई वर्षमा आयोजना हुने गरेको छ । यसबीच सातपटक प्रतियोगिता आयोजना हुँदा जोर्डन पाँचपटक विजेता बनेको छ । सन् २०२२ मा घरेलुमैदानमा आयोजित प्रतियोगितामा लेबनानलाई पराजित गर्दै जोर्डनले उपाधि उचालेको थियो ।
यसपटकको प्रतियोगितामा नेपाल आमन्त्रित टिमका रूपमा सहभागी भएको हो । नेपालसँगै गुआम पनि आमन्त्रित टिमका रूपमा सहभागी थियो ।