१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:१९:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

६ क्रिकेटरले मासिक एक लाख पाउने

क्यानले ग्रेड ‘ए’ मा परेका पुरुष खेलाडीको मासिक पारिश्रमिक ४० हजार बढाउँदै एक लाख पुर्‍याएको छ, तर ‘ए’ ग्रेडकै महिला खेलाडीलाई मासिक ५० हजार मात्रै तोकेको छ । विभेद गरिएको भन्दै क्यानको आलोचना हुँदै छ ।

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:१९:oo

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेटरको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । क्यानको १२ र १४ फागुनमा बसेको बोर्ड बैठकले खेलाडीहरूको नयाँ वर्गीकरण गरेको हो । जसअनुसार पुरुषतर्फ ३० जना क्रिकेटरलाई चार श्रेणीमा वर्गीकरण गरिएको छ । यसैगरी, महिलातर्फ १९ खेलाडीलाई पनि वर्गिकरण गरिएको क्यानले जनाएको छ । पुरुषतर्फका ६ खेलाडीले ‘ए’ ग्रेडमा परेका छन् । उनीहरूले मासिक एक लाख रुपैयाँ पाउने भएका छन् । क्यानले खेलाडीहरूसँगको केन्द्रिय सम्झौताअन्तर्गत पुरुष र महिलामा ए, बी, सी, डी र इमर्जिङ गरी पाँच श्रेणीमा वर्गीकरण गरेको हो । 

यसपटकको वर्गीकरणअनुसार ‘ए’ ग्रेडकाले एक लाख, बी खेलाडीले ७० हजार, सीमा परेका खेलाडीले ५५ हजार, डीमा रहेकाले ३५ हजार र इमर्जिङ वर्गीकरणमा परेका खेलाडीले २५ हजार रुपैयाँ मासिक पाउने क्यानले जनाएको छ । पछिल्लोपटकको तुलनामा ‘ए’ ग्रेडमा दोहोरो प्रतिशतले मासिक पारिश्रमिक बढाएको छ । क्यानको ११ जेठ, २०७९ को बोर्ड वैठकले त्यसवेला राष्ट्रिय क्रिकेट टोलीका (पुरुष) सेन्ट्रल कन्ट्रयाक्टमा रहेका सम्पूर्ण खेलाडीहरूको मासिक पारिश्रमिक १० हजार रूपैयाले वृद्धि गरिएको छ ।  पछिल्लोपटकको ग्रेड अनुसार ’ए’ खेलाडीले ६० हजार, ’बी’ ग्रेडका खेलाडीले ५० हजार र ’सी’ ग्रेडका खेलाडीले ४० हजार पाएका थिए । 

पुरुषतर्फको ‘ए’ श्रेणीमा एकदिवसीय र टी–२० का कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल रहेका छन् । यसैगरी ‘बी’ श्रेणीमा कुशल मल्ल, गुलसन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख, अविनाश बोहरा छन् । ‘सी’ श्रेणीमा नेपाली राष्ट्रिय टोली ‘ए’का कप्तान तथा विकेटकिपर विनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिश जिसीले अव ५५ हजार रूपैयाँ पाउने भएका छन् ।

 ‘डी’मा रहेका पवन सराफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद, सूर्य तामाङले ३५ हजार प्राप्त गर्ने छन् । क्यानले इमर्जिङ क्याटोगरीमा रहेका युवा खेलाडीहरूलाई पनि समावेश गरेका छन् । जसअनुसार दिपेश कंडेल, रूपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती, हेमन्त धामी रहेका छन् । उनीहरूले क्यानबाट मासिक २५ हजार रूपैयाँ पाउनेछन् । 

महिलाको वृद्धि समान भएन
क्यानले महिलातर्फ पनि तलब वृद्धि गरेको छ । तर, पुरुषबराबर महिलातर्फको मासिक तलव वृद्धि भएको छैन । क्यानले ‘ए’ ग्रेडमा रहेकालाई ५० हजार, ‘बी’ ग्रेडकालाई ३५ हजार, ‘सी’ ग्रेडकालाई ३० हजार, ‘डी’ ग्रेडकालाई २५ हजार र इमर्जिङ क्याटोगरीमा रहेका खेलाडीलाई २० हजार रूपैयाँ मासिक उपलब्ध गराउने निर्णय गरेको छ । ‘ए’ मा कप्तान इन्दु बर्मा, रुबिना क्षेत्री र सीता रानामगर छन् । ‘बी’ ग्रेडमा कविता कुँवर मात्रै रहेको क्यानले जनाएको छ । ‘सी’ ग्रेडमा पुजा महतो, अश्मिना कर्माचार्य छन् । ‘डी’मा अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र विन्दु रावल छन् ।

यसैगरी इमर्जिङ क्याटेगोरीमा  सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कञ्चन श्रेष्ठ, रुवि पोदार, सृष्टि जैसी, सम्झनाकुमारी खड्का र साना प्रवीन छन् । पछिल्लोपटकको सम्झौता अनुसार क्यानले महिलातर्फको ‘ए’ ग्रेडका खेलाडीलाई मासिक १२ हजार, बी ग्रेडका खेलाडीलाई १८ हजार र सी ग्रेडका खेलाडीलाई १५ हजार रूपैयाँ प्रदान गरिएको थियो । 

चार समितिका संयोजक चयन
क्यानले क्रिकेट गतिविधिलाई चुस्त बनाउन चार समितिको संयोजक मनोनयन गर्ने निर्णय गरेको छ । क्यानको पछिल्लो बोर्ड बैठकले दिवाकर घलेलाई प्रतियोगिता समितिको संयोजकको जिम्मेवारी दिएको छ । क्यानका केन्द्रीय सदस्य घले तीन दशकदेखि क्रिकेटमा सक्रिय छन् । यसैगरी, क्यानले केन्द्रीय सदस्य विक्रम विष्टलाई प्राविधिक समितिको संयोजक बनाएको छ । कैलालीका विष्ट लामो समयदेखि क्रिकेट गतिविधिमा सक्रिय छन् ।

पूर्वखेलाडी तथा क्यान केन्द्रीय सदस्य धिरेन्द्र साउदले विकास समितिको संयोजकको जिम्मेवारी पाएका छन् । धीरेन्द्रले सुवास शाहीसँग मिलेर १२ धनगढी क्रिकेट एकेडेमी स्थापना गरेका थिए । महिला क्रिकेट विकास समितिको संयोजकमा दाङका प्रदीप मजगैया बनेका छन् । यसैगरी, क्यानले नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र पूर्वखेलाडी कलाम अलीलाई नेपालको ‘ए’ टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ । महेशप्रसाद रिजाललाई राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको क्यानले जनाएको छ । 

ad
ad