मकवानपुरको पूर्वी गाउँपालिकाहरू बागमती र बकैयाले माझी समुदायको मुख्य पर्व लदीका अवसरमा सार्वजनिक बिदाको घोषणा गरेका छन्।
पालिकाहरूले सार्वजनिक सूचना जारी गर्दै यही फागुन १५ गते मंगलबार सार्वजनिक बिदा दिने घोषणा गरेका हुन्। माझी समुदायको पर्व लदी (कोशी पूजा)को अवसरमा दुई स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन्।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलान र बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा हस्ताक्षरित छुट्टाछुट्टै सूचनामा माझी समुदायको मौलिक पर्व लदीको अवसरमा बिदा दिइएको उल्लेख छ।
सो दिन पालिकाको अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्रमा बिदा दिइएको छ। पालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सार्वजनिक संस्थाहरू मंगलबार बन्द रहने सूचनामा उल्लेख छ।