मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
मिटरब्याजपीडितहरूले आइतबार काठमाडौंमा निकालेले न्याय मार्च । तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२०८० फाल्गुण १४ सोमबार ०८:२८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मिटरब्याजपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन, सोमबार पुनः बस्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० फाल्गुण १४ सोमबार ०८:२८:००

२३ दिन पैदल हिँडेर काठमाडौं आएका मिटरब्याजपीडित र सरकारबीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ । सरकार र मिटरब्याजपीडितबीच आइतबार बेलुका सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको वार्ता विनानिष्कर्ष सकिएको र सोमबार पुनः बस्ने तय भएको छ । 

वार्तामा मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहसहितको टोली र सरकारको तर्फबाट गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितसहितको टोली सहभागी थिए । वार्ता सोमबार पुनः बस्ने गरी टुंगिएको गृहका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए । उनले भने, ‘पीडित र सरकार पक्षबीच गृह मन्त्रालयमा वार्ता भएको छ । वार्तामा पीडित पक्षले आफ्ना माग राखेका छन् । सोमबार पुनः बस्ने गरी वार्ता टुंगिएको छ ।’

सरकारले पीडितसँग वार्ता गर्न आइतबार नै सहसचिव पण्डितको नेतृत्वमा सरकारी वार्ता टोली गठन गरेको थियो । टोलीले पीडित पक्षलाई आइतबार नै वार्तामा बोलाएको थियो । मिटरब्याजको पासोबाट उठीवास भएका चार हजार पीडित गत बुधबार बेलुका काठमाडौं आइपुगेका थिए । उनीहरूले गत १६ पुसबाट पूर्वीनाका काँकडभिट्टा र पश्चिमनाका गड्डाचौकीबाट ‘न्यायका लागि मार्च’ सुरु गरेका थिए ।थानकोटस्थित त्रिभुवन पार्कमा वास बसेका उनीहरू शुक्रबारदेखि भृकुटीमण्डपमा आएर बसेका छन् । यसपटक भने माग पूरा नभएसम्म घर नफर्कने मनस्थितिका साथ उनीहरू काठमाडौं आएका हुन् । 

सरकारले मिटरब्याजपीडित जाँचबुझ आयोग बनाए पनि अझै ३० हजार पीडितको समस्या नसुल्झिँदा न्यायका लागि पैदलयात्रा गरिरहेको समितिका अध्यक्ष कुशवाहले बताए । मिटरब्याजी साहुकार र लघुवित्तले जग्गा–जमिन नै लिलाम गर्ने अवस्था आएकाले न्याय माग्न काठमाडौं हिँडेको उनको भनाइ छ । मिटरब्याजपीडित गत चैतमा पनि पैदलै काठमाडौं आएका थिए । त्यतिखेर सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याजपीडित जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगले हालै मात्र प्रतिवेदन बुझाएको छ । फर्जी तमसुक, दृष्टिबन्धक, चेक अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायतका माग पीडितहरूको छ ।मिटरब्याज लिँदा साहुले अधिकांश पीडितको घरजग्गा दृष्टिबन्धक राखेर कब्जा गरेको पीडितको गुनासो छ । मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखतहरू अवैध घोषणा गर्दै जुनसुकै तहमा भएको पीडितको सम्पत्तिको हक हस्तान्तरण बदर गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने संघर्ष समितिले माग राखेको छ ।

मिटरब्याजपीडितको आन्दोलनमा पूर्वप्रधानमन्त्री खनालको ऐक्यबद्धता
एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याजपीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । काठमाडौंमा जारी मिटरब्याजपीडितको आन्दोलनमा उपस्थित भएर खनालले ऐक्यबद्धता जनाएका हुन् । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै खनालले भने, ‘हाम्रो पार्टी तपाईंहरूसँग छ । तपाईंहरूको आन्दोलन न्यायपूर्ण संघर्ष हो ।’

खनालले किसान र मिटरब्याजपीडितका मागलाई प्राथमिकतामा राखेर सरकारले काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘मिटरब्याजपीडित किसानका माग पूरा नगर्ने सरकारको कुनै काम हुँदैन । किसान र मिटरब्याजपीडितका मागलाई प्राथमिकतामा राखेर सरकारले काम गर्नुपर्छ ।’ यसैबीच, एकीकृत समाजवादीनिकट युवा संघ नेपालले आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।

 लघुवित्तपीडितको धर्ना

देशभरबाट काठमाडौंमा जम्मा भएका लघुवित्तपीडित । सिफलचौरमा बस्दै आएका उनीहरूले आइतबार बालुवाटारनजिक नक्सालमा प्रदर्शन र धर्ना दिएका थिए । तस्बिर : नयाँ पत्रिका