१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

स्नातक तहलाई पुनः तीन वर्षमा झार्ने बहस : ड्रपआउट घट्ने र विद्यार्थी आकर्षण बढ्ने शिक्षाविद्को विश्वास

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:o९:oo

त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले स्नातक तहका चारवर्षे कार्यक्रमलाई पुनः तीन वर्षमा झार्ने योजना सारेसँगै यसमाथि बहस पनि सुरु भएको छ । शिक्षाविद् र सरोकारवालाले स्नातकलाई तीन वर्षकै बनाउँदा ड्रपआउट घट्ने र विद्यार्थी आकर्षण बढ्ने अपेक्षा गरेका छन् । 

सरकारले शिक्षाशास्त्र, मानविकी र व्यवस्थापन संकायका विषयलाई ०७१/७२ देखि चारवर्षे बनाएको थियो । नवनियुक्त उपकुलपति प्रा.डा. बरालले शुक्रबार कार्यभार सम्हाल्दै चारवर्षे स्नातक तह तीनवर्षेमा झार्ने योजना सुनाएका थिए । ‘चारवर्षे कार्यक्रमका कारण ‘ड्रपआउट’ बढिरहेको छ ।

चारवर्षे तह सक्न ६ वर्ष लाग्छ,’ उनले भने, ‘यसलाई हामीले तीन वर्षमा ल्याउँछौँ ।’ उनले आफू उपकुलपति नहुँदै गत साउनमा पनि तत्कालीन उपकुलपति धर्मकान्त बाँस्कोटालाई तीन वर्षमा झार्न सुझाव दिएका थिए । तर, त्यति वेला उपकुलपति बाँस्कोटाले अनिच्छा देखाएपछि यो विषय कार्यान्वयन हुन सकेको थिएन । अब भने सो विषय कार्यान्वयन गर्ने भूमिकामा प्रा.डा. बराल आफैँ आइपुगेका छन् । 

हाल त्रिविको शिक्षाशास्त्र, मानविकी र व्यवस्थापनतर्फको स्नातक कार्यक्रममा विद्यार्थी संख्या घटेको र ‘ड्रपआउट’ बढेको देखिन्छ । गत साउनमा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका डिन चित्रकुमार बुढाथोकी र मानविकी संकाय प्रमुख कुसुम शाक्यले पहिले तीन वर्षमै रहेको स्नातक तहका केही संकायलाई पुरानै अवस्थामा ल्याउनुपर्ने माग राख्दै प्रस्ताव पेस नै गरेका थिए । तर, उपकुलपतिले त्यसलाई पनि अस्वीकार गरेका थिए ।

त्रिवि शिक्षाशास्त्र संकायका डिन चित्रबहादुर बुढाथोकीले ३ वर्षमा झार्नेबारे अहिलेको उपकुलपति सकारात्मक देखिएको बताउँदै यसमा समर्थन गरेका छन् । ‘आइसिटी, टेक्निकल र विज्ञानका केही विषयबाहेक अन्य संकायका विषय तीन वर्षमा झार्नुपर्छ, तर तीनवर्षे बनाउने भन्नेबारे गहन छलफल भएको छैन,’ उनले भने, ‘मानविकी, व्यवस्थापन र शिक्षाशास्त्रका विद्यार्थीले चारवर्षे तहको पीडा खेपिरहेका छन्, अझ क्यालेन्डर लागू नहुँदा उनीहरूलाई टाउको दुःखाइ छ, धेरै त ड्रपआउट हुने गरेका छन् ।’ शिक्षाशास्त्रमा ०७२, मानविकीमा ०७४, बिबिएसमा ०७३ देखि चारवर्षे नियम लागू भएको थियो । सरकारले तीनवर्षे कोर्सलाई चारवर्षे बनाउन ०७१ मै नयाँ कोर्स तयारसमेत पारेर अभ्यासमा लगेको थियो । सरकारले विश्व बैंक, शिक्षाविद्लगायतको सुझावअनुसार तीन वर्षमा सीमित रहेका केही संकायलाई चारवर्षे बनाएको थियो । 

तर, चारवर्षे बनाउँदा शुल्क पनि वृद्धि हुने र विद्यार्थीले जागिर खोज्ने वेलामा शिक्षामै भौँतारिनुपर्ने भएकाले तीनवर्षे कोर्स उत्तम हुने विज्ञहरूले बताउँदै आइरहेका थिए । शिक्षाविद् विद्यानाथ कोइरालाले तीनवर्षे कोर्स सञ्चालन गर्दा नै उत्तम हुने बताए ।  त्रिविका आंगिक तथा निजी क्याम्पसहरूमा पाँच लाख १७ हजार हाराहारी विद्यार्थी स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत छन् । चाबहिलस्थित पशुपति क्याम्पसका क्याम्पस प्रमुख विनोदचन्द्र पन्तले बिए, बिबिए, बिएडलगायतका कार्यक्रम चारवर्षे हुँदा पनि ‘ड्रपआउट’ बढेको बताउँछन् । नयाँ उपकुलपतिले चारवर्षे तहलाई तीन वर्षमा झार्ने बताएपछि विद्यार्थीहरू पनि सकारात्मक छन् । ‘चार वर्षको कोर्स पढ्न ६ वर्ष लाग्ने रहेछ, अझ चौथो वर्षको कोर्स कुनै प्रभावकारी छैन, चौथो वर्षको पाठ्यपुस्तक पनि पाइँदैन, अर्को कुरा पाठ्यक्रम पनि प्रभावकारी छैन,’ चाबहिल जिपी कोइराला मेमोरियल सामुदायिक क्याम्पसमा बिए चौथो वर्षमा अध्ययनरत विद्यार्थी सन्दीप बस्नेतले भने, ‘यो कार्यक्रमले हाम्रो समय बर्बाद गरिरहेको छ ।’

ad
ad