रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनकी आमालाई बुझाइएको छ।
मृत्यु भएको एक साताभन्दा बढी समयपछि नाभाल्नीको शव आमालाई बुझाइएको नाभाल्नीका प्रवक्ता किरा यार्मिशको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
सामाजिक सञ्जालमा यार्मिशले भनेका छन्, ‘एलेक्सीको शव उहाँकी आमालाई बुझाइएको छ। हामीसँग यो माग गर्ने सबैलाई धेरै–धेरै धन्यवाद।’ फेब्रुअरी १६ मा एलेक्सी नाभाल्नीको पेनल कोलोनी कारागारमा हुँदा मृत्यु भएको हो।
यार्मिशले नाभाल्नीको अन्तिम संस्कार सम्बन्धमा अझै योजना नबनाइएको जानकारी दिए। ‘परिवारले चाहेअनुसार र एलेक्सीको चाहनाबमोजिम गर्न अधिकारीहरूले हस्तक्षेप गर्छन् वा गर्दैनन्, हामीलाई थाहा छैन। खबर आउनेबित्तिकै हामी तपाईंलाई सूचित गर्नेछौँ,’ उनले भने।
नाभाल्नीको परिवार र सहकर्मीहरूले उनको मृत्युका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दोष दिएका छन। एलेक्सी नाभाल्नीको मृत्यु मार्चमा रुसमा हुन गइरहेको राष्ट्रपति निर्वाचनअघि भएको छ।
एलेक्सी नाभाल्नीकी श्रीमती युलिया नाभाल्नायाले पुटिनमाथि नाभाल्नीको मृत्युको कारण लुकाउन र उनको अन्तिम संस्कारमा ठूलो भिड सहभागी हुने डरले शवलाई राख्न आदेश दिएको आरोप लगाइन्। क्रेमलिनले भने उक्त आरोपलाई अस्वीकार गरेको सिएनएनले बताएको छ।
पछिल्ला धेरै दिनदेखि नाभाल्नीको परिवारले रुसी अधिकारीहरूसँग उनको शव दिन अनुरोध गरिरहेका थिए। एलेक्सी नाभाल्नीकी आमा ल्युडमिला नाभाल्नायाले आफ्नो छोराको मृत्युपछि तुरुन्तै शव निकाल्न सालेकहार्ड गएकी थिइन्।
यसैबीच एलेक्सी नाभाल्नीको श्रीमती र छोरीले फेब्रुअरी २२ मा सान फ्रान्सिस्कोमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन्। युलिया नाभाल्नाया र दशा नाभाल्नायासँगको भेटका क्रममा बाइडेनले उनीप्रति समवेदना व्यक्त गर्दै एलेक्सीलाई असाधारण साहस र भ्रष्टाचारविरुद्ध लड्ने भन्दै प्रशंसा गरेका थिए।