१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
बेलेन फर्नान्डेज
२o८१ बैशाख १८ मंगलबार o९:४२:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

जुलियन असान्जको सुनुवाइ : लोकतन्त्रको अवसान 

Read Time : > 2 मिनेट
बेलेन फर्नान्डेज
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:४२:oo

जुलियन असान्जलाई दिइने सजाय र यातनाले अमेरिकाको बचेखुचेको लोकतन्त्र र न्यायको पनि मृत्यु हुनेछ 

जुन २०२२ मा जब अमेरिकाले रुसी मिडियामाथि रोक लगाउने निर्णय गरेको थियो, तब रुसी विदेश मन्त्रालयले अमेरिकी मिडियाविरुद्ध ‘कडा पहलकदमी’ लिने घोषणा गरेको थियो । रुसी जवाफी निर्णयपछि अमेरिकी विदेश मन्त्रालयले क्रुद्ध हुँदै क्रेमलिनले ‘मिडिया स्वतन्त्रता, सूचनाको पहुँच र सत्यमाथि पूर्ण आक्रमण गरेको’ जनाएको थियो । 

यस्तो किसिमको पाखण्ड नौलो भने होइन । विश्वकै स्वघोषित यो महानतम लोकतन्त्रका लागि आधारभूत अधिकार र स्वतन्त्रता शत्रु तप्काले मात्रै मान्नुपर्छ । यो लज्जास्पद दोहोरो मापदण्ड भएकै कारण अमेरिका क्युबाका राजनीतिक बन्दीबारे कोकोहोलो मच्चाउँछ, तर सोही समयमा अमेरिकाले क्युबाको भूमिमा अवैधानिक कारागार बनाएको छ । यो त्यही अमेरिका हो, जो चीनलाई ‘जासुसी बेलुन’ अमेरिकातर्फ उडाएको आरोप लगाउँछ, तर आफू भने चीन र सारा विश्वको निगरानी गर्न खोज्छ । यही २१ फेब्रुअरी बुधबारका दिन विकिलिक्सका संस्थापक जुलियन असान्जले अमेरिकामा हुन सक्ने सुपर्दगीबाट जोगिन अन्तिम कानुनी प्रयास गरेका छन् । अहिले अमेरिकामा ‘मिडिया स्वतन्त्रता, सूचनाको पहुँच र सत्यमाथि पूर्ण आक्रमण’ भइरहेको छ । यदि अस्ट्रेलियाली मूलका असान्जको सुपर्दगी हुन्छ भने उनलाई जासुसीको आरोपमा एक सय ७५ वर्षसम्मको जेल सजाय हुनेछ । यो जेल सजाय त्यो मुलुकले गर्नेछ, जसले ऐतिहासिक रूपमा आफ्नै नागरिकमाथि अवैधानिक ढंगले जासुसी गर्दै आएको छ । वास्तवमा असान्जको एक मात्र ‘अपराध’ भनेको विकिलिक्सको प्रयोग गरेर अमेरिकी सैन्य अपराधको खुलासा गर्नु थियो । 

उदाहरणका लागि सन् २०१० मा उनले विकिलिक्सका माध्यमबाट कुख्यात ‘कोल्याटरल मर्डर’को भिडियोको खुलासा गरेका थिए । सो भिडियो फुटेज सन् २००७ को हो, जहाँ बगदादमा हेलिकोप्टरमा रहेका अमेरिकी सेनाले एक दर्जनभन्दा बढी मानिसको हत्या गरेका थिए । हत्या गर्ने सेनाले आफ्नो अनुहार लुकाएकासमेत थिएनन् । हत्या गरिएका इराकीमा रोयटर्स समाचार एजेन्सीका दुईजना कर्मचारी पनि थिए । मिडिया स्वतन्त्रतामाथि हुने आक्रमणबारे अब गरौँ कुरा !  

अमेरिका असान्जले विकिलिक्सबाट यस्ता सामग्री प्रकाशित गरेर उनले सक्रिय रूपमा इराक, अफगानिस्तान र अन्यत्रको जीवन संकटमा पारेको दाबी गर्छ । तर, मैले यसअघि भनेझैँ इराक, अफगानिस्तान र अन्यत्रका निर्दोष मानिसको ज्यान जोगाउन अमेरिकाले सुरुमै ती मुलुकमा आक्रमण गर्नु हुन्थेन । यो नै ती मुलुकका मानिसको ज्यान जोगाउने अचुक उपाय थियो । अमेरिकाले कैयौँ मुलुकमा कैयौँ आममानिसको हत्या गरेको छ र यो निःसन्देह सबैले स्विकारेको तथ्य हो । यद्यपि अमेरिकाको आधिकारिक भाष्यले यी हत्या कुनै खेल वा मनोरञ्जनका लागि नभई स्वतन्त्रता, लोकतन्त्र र अन्य महान् उद्देश्यका लागि भएका हुन् भन्ने दाबी गर्छ । यी हत्यालाई असान्जले खुलासा गरेको ‘कोल्याटरल मर्डर’ले पुष्टि गर्छ । यस अवस्थामा गोपनीयता भंग भएको ठूलै नाटक र जुलियन असान्जको अति–दानवीकरण किन ? आखिरमा अमेरिकाले आफ्नो विश्वव्यापी परोपकारको मुखौटोलाई अत्यधिक वा पूर्ण रूपमा कमजोर पार्न सक्दैन । यदि धेरै पारदर्शिता र सत्यता झल्किन्छ भने यसले अमेरिकाको विश्वभर अराजकता मच्चाउने कार्यको औचित्यमाथि प्रश्न खडा गर्छ । अन्तिम परिणाम जेसुकै आए पनि असान्जविरुद्ध लामो समयदेखि अमेरिकाले छेडेको युद्धले प्रेस स्वतन्त्रता र अन्य अधिकारमाथि खतरनाक नजिर स्थापित गरेको छ । 

असान्जमाथि भएको शारीरिक एवं मानसिक यातनाले अन्य प्रकाशक एवं पत्रकारलाई सत्य पछ्याउने अपराध गर्नबाट रोक्नेछ । नरोकोस् पनि किन ? अमेरिकाले सत्यको खोजीलाई नै अपराध बनाइसकेको छ । यही अपराधको सजायका लागि दक्षिणपूर्वी लन्डनको बेल्मार्स जेलमा पाँच वर्षयता असान्जलाई राखिएको छ । यस अर्थमा बेलायती सरकारले असान्जलाई सिध्याउने अमेरिकाको लामो समयदेखिको युद्धमा सघाएको छ । सन् २०१९ मा असान्ज गिरफ्तारीमा परेर थुनिएपछिको केही समयमा यातनासम्बन्धी राष्ट्रसंघका विशेष विज्ञ निल्स मेल्जरले असान्जको जीवन जोखिममा भएको चेतावनी दिएका थिए । उनका अनुसार असान्जमा ‘लामो समयसम्म मनोवैज्ञानिक यातना पाउने विशिष्ट लक्षण’ रहेको जनाएका थिए । ग्लास्गो विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापकसमेत रहेका मेल्जरले त्यसवेला ‘अमेरिकी सरकारले असान्जलाई यातना र हत्याजस्ता गम्भीर मानवअधिकार उल्लंघनको सूचना प्रकाशित गरेका कारण सजाय दिइरहँदा असान्जले खुलासा गरेको अपराधका अपराधीले उन्मुक्ति पाउनेछन्,’ भनेका थिए । मेल्जरलाई पनि जेल हाल्नुपर्ने हो कि के हो ? 

जसै सुपुर्दगीविरुद्धको संघर्ष नजिकिँदै छ, अमेरिकाले असान्जको हत्या गर्न सक्छ । असान्जकी श्रीमती स्टेला असान्जले हालै पत्रकारलाई ‘यदि उनको सुपुर्दगी हुन्छ भने उनको मृत्यु हुनेछ’ भनेकी थिइन् । जुलियन असान्जलाई दिइने सजाय र यातनाले अमेरिकाको बचेखुचेको लोकतन्त्र र न्यायको पनि मृत्यु हुनेछ । स्मरण रहोस्, अमेरिकाको संविधानले वाक् एवं प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको छ । 

असान्जको मामिलाको निष्कर्ष निस्किन बाँकी छँदै अन्याय भइसकेको छ, किनभने असान्जको मुद्दाको सुनुवाइलाई अमेरिकी कर्पोरेट मिडियाले खासै ठाउँ दिएका थिएनन् । यसैकारण नेसनल सेक्युरिटी एजेन्सी (एनएसए) का मुखबिर एडवार्ड स्नोडेनले असान्जको मुद्दालाई ‘विश्वकै सबैभन्दा महŒवपूर्ण प्रेस स्वतन्त्रताको मुद्दा’को संज्ञा दिएका छन् । अर्को भाषामा भन्ने हो भने असान्जको मुद्दाको सुनुवाइ नै मुख्य समाचार हुनुपथ्र्यो । तर, समाचार लुकाउनु भनेको समाचारको हत्या गर्नु हो । यस अर्थमा असान्जको हत्या भइसकेको छ ।

(फर्नान्डेज लेखक एवं स्तम्भकार हुन्) अल जजिराबाट

ad
ad