१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o६:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

चार महिनापछि त्रिविले पायो उपकुलपति, यसरी भएको थियो छनोट 

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:१३:oo

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् । छनोट प्रक्रियाबाट छानिएका तीनजनामध्ये दोस्रो नम्बरमा रहेका बराललाई विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार नियुक्त गरेका हुन् । यसअघि धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएपछि १७ कात्तिकदेखि उपकुलपति पद रिक्त थियो । 

उपकुलपति छनोटका लागि शिक्षामन्त्री अशोककुमार राईको अध्यक्षतामा शिक्षासचिव सुरेश अधिकारी र त्रिवि सभाका सदस्य उपप्राध्यापक चन्द्रकला घिमिरे सदस्य रहेको सिफारिस समिति गठन गरिएको थियो । त्रिविले दरखास्त आह्वान गरेपछि उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ४२ जनाको आवेदन रुजु भएको थियो भने एकजनाको मापदण्ड नै नपुगेर अस्वीकृत भएको थियो । छनोट प्रक्रिया सुरु भएपछि समितिले ४२ जनामध्येबाट १४ जनाको ‘सर्टलिस्ट’ सार्वजनिक गरेको थियो । त्यसबाट पनि आइतबार उत्कृष्ट तीनजनाको नाम सिफारिस गरिएको थियो । तीनजनामध्येबाट दोस्रो नम्बर रहेका प्रा.डा. बराललाई प्रधानमन्त्रीले उपकुलपति नियुक्त गरेका हुन् । 

यसअघि कुसुम शाक्य, गोविन्द सुवेदी, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, चित्रबहादुर बुढाथोकी, केशरजंग बराल, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलबासे, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा ‘सर्टलिस्टमा’ परेका थिए । 

यसरी भएको थियो छनोट 
सर्टलिस्टमा परेका १४ जना प्रतिस्पर्धीमध्ये समितिले अंकभार तथा मापदण्डका आधारमा आइतबार क्रमशः चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो । बुढाथोकीले ७८, बरालले ७७ र धमलाले ७६ अंकभार ल्याएका थिए । उत्कृष्ट अंकभारकै आधारमा सिफारिस समितिले पहिलो, दोस्रो र तेस्रोका रूपमा सिफारिस गरेको थियो । शोधपत्र, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताबाट तीनजनाको नाम सिफारिस भएको थियो । सिफारिस गर्दा प्राध्यापक, पिएचडी गरेको, अनुसन्धान गरेकोलगायत योग्यता र अनुभव पनि हेरिएको थियो । तर, तीनमध्ये प्रधानमन्त्रीले जसलाई पनि नियुक्त गर्न पाउने त्रिवि ऐनमा उल्लेख छ । सोहीअनुसार नै प्रधानमन्त्री प्रचण्डले बिहीबार दोस्रो नम्बरमा रहेको प्रा.डा. बराललाई नियुक्त गरेका हुन् ।

को हुन् बराल ? 
पाल्पा पिपलडाँडामा ०१४ मा जन्मिएका प्रा.डा. बरालले ४० वर्षभन्दा बढी शिक्षण पेसामा काम गरेका छन् । ०६४ देखि ०६८ सम्म उनी पोखरा विश्वविद्यालयमा उपकुलपति थिए । त्यहाँ उपकुलपतिको कार्यकाल सकिएपछि उनी त्रिभुवन विश्वविद्यालयमै अध्यापन गराउन फर्किएका थिए । उनी ०७७ मा त्रिविबाट सेवानिवृत्त भएका थिए । त्यसपछि पनि शिक्षण पेसामै आबद्ध थिए । 

प्रारम्भिक शिक्षा पाल्पामै गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवसाय प्रशासन र वाणिज्यमा स्नातकोत्तर गरेका छन् । उनले दिल्ली विश्वविद्यालयबाट वित्त व्यवस्थापन अध्ययन संकायमा पिएचडी गरेका छन् । उनी अमेरिकी वित्त संघको सदस्य, एसियाली विकास बैंकको परामर्शदाता, पाठ्यक्रम विकास उपसमितिको संयोजक, नेपाल खुला विश्वविद्यालयको रणनीति योजना तर्जुमा उपसमितिको सदस्यलगायतमा बसेर पनि काम गरेका छन् । 

यसबाहेक उनी फाइनान्स तथा मगर संस्कृतिका विज्ञ पनि मानिन्छन् । उनले पाल्पा, तनहुँ र स्याङ्जाका मगरहरूको संस्कृति नामक अनुसन्धानमूलक पुस्तक पनि लेखेका छन् । प्रा.डा. बरालसँग चीन, भारत, अमेरिका, भुटानलगायतका देशका विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा काम गरेको पनि अनुभव छ । 

नवनियुक्त उपकुलपति बराल भन्छन्– त्रिविको शैक्षिक सत्रलाई ट्र्याकमा ल्याउँछु 

तपाईंसँग त्रिभुवन विश्वविद्यालय सुधार्ने योजना के–के छन् ? 
मुख्यतः मैले तीनवटा विषयलाई प्राथमिकतामा राखेको छु । जसमा त्रिविको क्यालेन्डर लागू गरेर शैक्षिक सत्रलाई ट्र्याकमा ल्याउने, परीक्षाफल समयमा प्रकाशन गर्ने र पाठ्यक्रम अद्यावधिक गर्ने । त्रिविको सबैभन्दा ठूलो समस्या भनेको शैक्षिक क्यालेन्डर हो । यो क्यालेन्डर सच्चियो भने त्रिवि आधाजसो सुध्रिन्छ । अब त्रिविको क्यालेन्डर ट्र्याकमा आउँछ ।

यसअघिका उपकुलपतिहरूले पनि नियुक्त हुँदा यही एजेन्डा उठान गरेका थिए, तर क्यालेन्डर सच्याउन सकेनन्, तपाईंले सुधार्नुहुन्छ भन्ने के आधार छ ? 
त्रिविको क्यालेन्डर सुधार गर्न उपकुलपतिलाई सबैले सहयोग गर्नुपर्छ । क्यालेन्डर सुध्रियो भने मात्रै त्रिवि सुध्रिन्छ । जस्तोसुकै अवस्था आए पनि म क्यालेन्डर सच्याउनतिर लाग्छु । त्रिविको समस्या भनेको क्यालेन्डर पनि हो । 

त्रिविमा विद्यार्थीको आकर्षण घट्दो छ, पठनपाठन पनि खस्कँदो छ, कसरी सुधार गर्नुहुन्छ ? 
मेरो विचारमा त्रिविको क्यालेन्डर लागू गरेर शैक्षिक सत्रलाई ट्र्याकमा ल्याउने हो भने विद्यार्थी आकर्षण बढ्छ । अहिले त्रिविमा विद्यार्थीले खेपेको मुख्य समस्या भनेको परीक्षाफल समयमा प्रकाशन नहुनु पनि हो । चारवर्षे कार्यक्रमलाई ६ वर्षसम्म लगाइएको छ । यसो गर्दा विद्यार्थीको भविष्य अन्योलमा परेको छ । त्यसकारण क्यालेन्डर मात्रै सुधार गर्न सकियो भने विद्यार्थीको आकर्षण बढ्न सक्छ ।

ad
ad