Skip This
काभ्रेका स्थानीय तहमध्ये रोशी उत्कृष्ट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १० बिहीबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण १० बिहीबार १२:२५:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काभ्रेका स्थानीय तहमध्ये रोशी उत्कृष्ट

देशभरका पालिकामध्ये १३औँ स्थानमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १० बिहीबार १२:२५:oo

आर्थिक वर्ष ०७९/८० को कार्यसम्पादन मूल्यांकनमा काभ्रेका १३ स्थानीय तहहरूमध्ये रोशी गाउँपालिका उत्कृष्ट भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार ४८.३९ अंक प्राप्त गरी रोशी काभ्रेकै उत्कृष्ट पालिका बनेको हो। 

कार्यसम्पादन मूल्यांकनअनुसार रोशी गाउँपालिका देशभरिका सात सय ५३ स्थानीय तहमध्ये १३औँ स्थानमा र देशभरका गाउँपालिकामध्ये साताैँ स्थानमा पर्न सफल भएको छ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको थियो। जसमा असार १० भित्र बजेट पेस गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित गरे/नगरेको, आय–व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको, बजेटको वार्षिक समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकमअनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेकोजस्ता सूचकलाई आधार मानिएको छ।

त्यस्तै, आवधिक योजना तर्जुमा गरे–नगरेको, कक्षा एकदेखि आठसम्म खुद विद्यार्थी भर्ना दर, कक्षा आठको तुलनामा कक्षा नाैमा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जिपिए प्राप्त गरेका विद्यार्थी प्रतिशत, चारपटक गर्भ जाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपातलगायतका सूचक रहेका छन्।

स्थानीय तहलाई संघीय सञ्चित कोष तथा प्रदेश सञ्चित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अनुदानअन्तर्गत कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसका लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गर्दछ।

काभ्रेका कुन पालिकाको कति अंक ?
आयोगको मूल्यांकनअनुसार जिल्लामा पाँचखाल नगरपालिका दोस्रो स्थानमा परेको छ। पाँचखाल नगरपालिकाले ४१.७३ अंक प्राप्त गरेको छ। तेस्रो नम्बरमा परेको चौँरीदेउराली गाउँपालिकाले ३९.५८ अंक प्राप्त गरेको छ। ३७.५३ अंकका साथ धुलिखेल नगरपालिका चौथो नम्बरमा परेको छ भने १८.८२ अंकका साथ पनौती नगरपालिका अन्तिम स्थानमा छ।

यसैगरी, बनेपा नगरपालिकाले ३७.५, महाभारत गाउँपालिकाले ३४.२२, तेमाल गाउँपालिकाले २८.२४, नमोबुद्ध नगरपालिकाले २८, खानीखोला गाउँपालिकाले २६.३४, बेथानचोक गाउँपालिकाले २५.४४, मण्डनदेउपुर नगरपालिकाले २२.२८ र भुम्लु गाउँपालिकाले १९.५० अंक प्राप्त गरेका छन्।