१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
लोकेश साउद अल्मोडा (भारत)
२o८१ बैशाख २० बिहीबार १६:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘सुदूरपश्चिम र उत्तराखण्डको इतिहास पुनर्लेखन हुनुपर्छ’

Read Time : > 1 मिनेट
लोकेश साउद, अल्मोडा (भारत)
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:५२:oo

सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री तथा इतिहासकार राजेन्द्रसिंह रावलले भारतको उत्तराखण्ड र सुदूरपश्चिमको इतिहासलाई पुनर्लेखन गर्नुपर्ने बताएका छन्। 

उत्तराखण्डको ‘एसएस जिना विश्वविद्यालय, अल्मोडा’ले आयोजना गरेको ‘हिमालयी लोक संस्कृति, अन्तराष्ट्रिय गोष्ठी’मा प्रमुख अथितिको रुपमा बोल्दै रावलले भारतको उत्तराखण्ड राज्य (तत्कालिन कुमाउ राज्य) र सुदूरपश्चिम प्रदेश (तत्कालीन डोटी राज्य)को इतिहासमाथि व्यापक बहस र पुनर्लेखनको आवश्यकता रहेको बताएका हुन्। 

भारतका विश्वविद्यालयहरुमा अंग्रेज इतिहासकार इडविन टि एट्किन्सनद्वारा सन १८८४ मा लेखिएको ‘द हिमालयन डिस्टिक्स’ नामक पुस्तक र सोही आधारमा कुमाउँका इतिहासकार बद्रीदत्त पाण्डेद्वारा लेखित ‘कुमाउका इतिहास’लाई सन्दर्भ ग्रन्थको रुपमा प्रयोग गरिँदै आएको प्रसंग कोट्याउँदै उनले वर्तमान समयमा फरक तथ्य फेला परिसकेको दाबी गरे।

रावलले हाल पुरातात्विक स्रोतबाट प्राप्त प्रमाणका आधारमा उक्त इतिहासलाई पुर्नलेखन गर्नु आवश्यक भएको औल्याए। सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री रावलले हालै मात्रै १७ वर्ष अनुसन्धान गरेर ‘द हिष्ट्री अफ मिडिभल डोटी (मध्यकालिन डोटी राज्यको इतिहास)’ नामक अंग्रेजी भाषाको पुस्तक प्रकासनमा ल्याएका छन्। 

भर्खरै बजारमा आएको उक्त पुस्तकमा साके सम्बत १२३५ देखि १७१२ सम्मको इतिहाँस लेखिएको छ भने पुस्तकले कयौं पुराना तथ्यहरुलाई चुनौती दिएको छ।

‘हाम्रो इतिहास हामी आफैले लेख्नुपर्छ। नाग मल्ल, मालुसाइ, राजुलाका ऐतिहाँसिक जागर (लोक गाथा) गाइन्छन्। जुन कुरा एटकिन्सनलाई थाहा थिएन’ अल्मोडामा आयोजित अन्तराष्ट्रिय गोष्ठिमा बोल्दै रावलले भने ‘भडाहामा तत्कालिन डोटी कुमाउको गाथा गाउने झुस्या दमाई, सबाई गाउने भट्टराईहरु एवं कत्युरीहरुको इतिहास हामीले पुर्नलेखन गर्नु आवश्यक छ।’ 

देशको पश्चिम सीमाना महाकाली नदीको वारी, पारीको संस्कृति र सभ्यता एउटै भएको र वर्तमान समयमा यसको अन्तरघुलनको आवस्यकता रहेको उनले बताए। 

आयोजकलाई सुदूरपश्चिम र उत्तराखण्डको लोक संस्कृति बिषयको ज्ञान नयाँ पुस्तामा पुस्तान्तर गर्नुपर्ने र यसलाई समृद्धिका लागि उपयोग गर्नुपर्ने उनले सुझाए। यसैको माध्यमबाट दुई देशको सम्बन्धलाइ प्रगाढ बनाउन सकिने उनको धारणा थियो। 

कार्यक्रममा विश्वविद्यालय स्तरमा दुई देशका साँस्कृतिक आयामहरुमाथि संयुक्त अध्ययनको आवस्यकता रहेको वक्ताहरुको धारणा थियो। 

‘पहाडी क्षेत्रको बसाइसराईको समस्या दुबैतिर उस्तै प्रकृतिको छ, गाउँबाट मानिसहरु शहर पस्दै जाँदा संस्कृतिमाथि चुनौती थपिएको छ।’ कार्यक्रममा सहभागी लोक साँस्कृतिक संग्राहलय भिमतालका डा. यसोधर मठपाल भन्छन्। 

उक्त अन्तराष्ट्रिय गोष्ठीमा नेपाल–भारत प्रवुद्ध समूहमा भारतको तर्फबाट संयोजक रहेका भगत सिंह कोष्यारीले भर्चुअल माध्यमबाट शुभकामना व्यक्त गरेका थिए। कोष्यारीले भर्चुअल माध्यमबाट उपस्थिति जनाएपछि रावल प्रमुख अतिथि बनेका थिए। 

गोष्ठीमा नेपालको त्रिभुवन विश्वविद्यालयको तर्फबाट प्रा.डा. विदुर चालिसेले सहभागीता जनाएका थिए। त्यस्तै अमेरिका, पोल्याण्ड, क्यानडा, स्वीजरल्याण्ड, पोर्चुगल, श्रीलंकाबाट इतिहाँस तथा संस्कृति बिषयका अध्येताको सहभागीता रहेको थियो। 

गोष्ठिमा भारतको राजस्थान विश्वविद्यालय, कुमाउ विश्वविद्यालय, लखनउ विश्वविद्यालय, बनारस हिन्दु विश्वविद्यालयलगायत १५ वटा विश्वविद्यालयको सहभागिता थियो। 

उत्तराखण्ड अल्मोडाको एसएस जिना विश्वविद्यालयको इतिहास, पुरातत्व तथा सांस्कृतिक विभागद्वारा आयोजना गरिएको उक्त अन्तराष्ट्रिय गोष्ठिमा २ सय १३ वटा कार्यपत्र प्रस्तुत भएको आयोजक विश्वविद्यालयका प्राध्यापक डा.गोकुल देउवाले जानकारी दिए। फेबु्रअरी १७ र १८ मा सञ्चालन भएको गोष्ठीमा कार्यपत्रलाई १२ वटा प्राविधिक समूहमा छलफल गरिएको थियो। 

ad
ad