१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १२:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चिनियाँ कम्पनीका दुईसहित पाँचजनाविरुद्ध अवैध उत्खनन मुद्दा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:४o:oo

डिभिजन वन कार्यालय सिराहाले कमला–कञ्चनपुर सडक स्तरोन्नति गर्ने ठेक्का पाएको चाइना रेल्वे नं. २ इन्जिनियरिङ ग्रुप कम्पनीका दुई चिनियाँ नागरिक, नगरपालिकाका इन्जिनियर र दुईजना एक्स्काभेटरचालकविरुद्ध जिल्ला अदालतमा अवैध उत्खननकाे मुद्दा दायर गरेको छ।

डिभिजन वन प्रमुख सुजितकुमार झाका अनुसार चाइना रेल्वे नं. २ इन्जिनियरिङ ग्रुप कम्पनीका साइट इन्चार्ज हु सिवकिङ, जिल्ला परियोजना इन्चार्ज झाङ बाओझोङ, लहान नगरपालिकाका इन्जिनियर एकमणि सिपलिया तथा एक्स्काभेटरचालकद्वय सप्तरीको सुरुंगा नगरपालिका– १ का अजय चौधरी र सिराहाको कर्जन्हा नगरपालिका– २ का विन्देश्वरकुमार महतोविरुद्ध आइतबार अवैध उत्खननकाे मुद्दा दायर गरिएको हो।

लहान नगरपालिका– १५ को चुरे वन क्षेत्रमा पर्ने खुट्टी खोलामा अवैध रूपमा ढुंगा, गिटी, बालुवा उत्खनन गरिरहेको अवस्थामा गत १४ मंसिरमा पक्राउ परेका चालकद्वय चौधरी र महतो धरौटीमा रिहा भएका थिए।

वन डिभिजनका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार लहानका इन्जिनियर सिपलियाले वतावरण संरक्षण ऐन, २०७६ को दफा ३ (ख) वन नियमावली, २०७९ को नियम ३० (५) वातावरण संरक्षण ऐन, मधेश प्रदेश कार्यविभाजन नियमावली, २०७९, ढुंगा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ को दफा  ४(२), ६(४) र १२ (१) (२) उल्लंघन गरेको आरोप लगाइएको  छ।

इन्जिनियर सिपालीविरुद्ध चुरे संरक्षण क्षेत्रमा विकास निर्माण गर्दा अवलम्बन गर्नुपर्ने कार्यविधि तथा मापदण्ड, २०७७ को परिच्छेद– २ को दफा ५(३) अनुसारका सामान्य प्रक्रियाहरू पूरा नगरी वन ऐन, २०७६ को दफा ४९ को खण्ड (झ) बमोजिमको कसुर गरेको अभियोगसहित ऐनको दफा ५० को उपदफा ६ (घ) बमोजिम सजायको माग गरिएको सूचना अधिकारी चौधरीले बताए।

त्यस्तै, चुरे वन क्षेत्रको खोलामा अवैध उत्खनन गर्न लगाउने चिनियाँ कम्पनीका जिल्ला परियोजना इन्चार्ज झाङ बाओझोङविरुद्ध ऐनको दफा ६८ उपदफा (३) बमोजिम थप सजायको माग दाबीसहित मुद्दा दायर गरिएको उनले बताए। अवैध उत्खननसम्बन्धी कागजात सदर गर्ने लहान नगरकी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमको हकमा जिल्ला अदालत सिराहाबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५० तथा जिल्ला अदालत नियमावली २०७५ को नियम ३२ बमोजिम दरपीठ गरिएको जनाइएको छ।

गत ४ पुसमा अवैध ढंगले ढुंगा, गिटी, बालुवा उत्खनन गरिरहेको अवस्थामा धनगढीमाईको सर्रे खोलाबाट ट्याक्टरसहित पक्राउ गरिएका सातजना चालक, एकजना जेसिबीचालक, सातजना ट्याक्टरधनी, धनगढीमाईका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतो, प्रशासन शाखा सहायक रञ्जितकुमार सिंह र ठेकेदार कम्पनी वरुण कन्स्ट्रक्सनकी प्रोप्राइटर नीलमकुमारी यादवविरुद्ध एक लाख ५७ हजार आठ सय १५ रुपैयाँ बिगो कायम मागसहित सिराहा जिल्ला अदालतमा मुद्दा दायर गरेको मुद्दा विचाराधीन रहेको डिभिजनले जनाएको छ।

ad
ad