१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १४:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको पिपिए खुलाउने निर्णय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १४:५८:oo

नेपाल विद्युत् प्राधिकरणले स्वदेशी साना लगानीकर्ताहरूको विद्युतमा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) खुला गर्ने निर्णय गरेको छ। 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षमा गत २४ माघमा बसेको प्राधिकरण सञ्चालक समितिको ९६३औँ बैठकले १० मेगावाटसम्मका नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पिआरओआर) जलविद्युत् आयोजनासँग जहिले र जति पनि पिपिए गर्ने निर्णय गरेको हो। 

१० मेगावाटसम्मका  जलविद्युत् आयोजनाहरूको विद्युत् ‘लेऊ या तिर’ प्रावधानका आधारमा खरिद गरिने छ। आयोजनाहरूको विद्युत् सुक्खायाम (१६ मंसिर–१५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मंसिर)का लागि हाल कायम रहेको दर क्रमश: रु ८.४० र ४.८० प्रतियुनिटमा खरिद हुनेछ। 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीय प्राकृतिक स्रोतको अधिकतम प्रयोग र स्वदेशी साना लगानीकर्ताहरूको लगानी जलविद्युत् क्षेत्रमा प्रोत्साहन गर्न १० मेगावाटसम्मका आयोजनाहरूमा उत्पादन सम्मिश्रणका आधारमा तय गरिएको पिपिए सीमा लागू नहुने व्यवस्था गरिएको बताए। 

१० मेगावाटसम्मका ८९ वटा आयोजनाले पिपिएका लागि प्राधिकरणमा निवेदन दिएका छन् । आयोजनाहरूको क्षमता ३५१ मेगावाट छ। त्यसमध्ये १९५ मेगावाटका ४४ आयोजनासँग ग्रिड आबद्ध सम्झौता सम्पन्न भइसकेको छ। 

दीर्घकालीन रूपमा आन्तरिक उत्पादनबाटै विद्युतमा आत्मनिर्भर हुने उद्देश्यले आगामी १० वर्षमा उत्पादन गरिने १५ हजार मेगावाटको लक्ष्यलाई आधार मानी विद्युत् प्रणालीमा जलाशययुक्त आयोजनाको २५ प्रतिशत, पिकिङ आरओआरको ३० प्रतिशत, आरओआरको ४५ प्रतिशत अंश रहने गरी उत्पादन सम्मिश्रण तय गरिएको थियो।

सोही आधारमा पिपिएको सीमा तय गरिएको थियो। आरओआर आयोजनाहरूका लागि तय गरिएको अर्थात् ६७५० मेगावाट सीमा पूरा भइसकेकाले १० मेगावाटसम्मका आयोजनाको समेत पिपिए हुन सकिरहेको थिएन। १० मेगावाटसम्मका अधिकांश आयोजना आरओआर छन्। प्राधिकरणले हालसम्म ९२०० मेगावाटको पििए गरिसकेको छ। 

बढेको क्षमताको विद्युत् किन्ने 

प्राधिकरण सञ्चालक समितिले पिपिए भइसकेका जलविद्युत् आयोजनाको क्षमता वृद्धि गरिएमा थप हुने विद्युत् खरिद गरिदिने निर्णय गरेको छ। 

प्राधिकरणले आयोजनाको जडित क्षमता २५ प्रतिशतसम्म वृद्धि भएमा पिपिएको सीमा लागू नहुने निर्णय गरेको हो। कार्यकारी निर्देशक घिसिङले आयोजनाको डिजाइन परिवर्तनलगायतका कारण जडित क्षमताको २५ प्रतिशतसम्म अभिवृद्धिबाट उत्पादन हुने विद्युत् ‘लिऊ वा तिर’ प्रावधान राखी पिपिए संशाेधन गरिने बताए। 

सौर्य ऊर्जाको सीमा बढ्यो 

प्राधिकरणले सौर्य जलविद्युत् आयोजनासँग गरिने पिपिएको सीमा बढाएको छ । प्राधिकरणले सौर्य आयोजनाहरूको पििए प्रतिस्पर्धाबाट गर्दै आएको छ। 

प्राधिकरणले हाल कायम रहेको जडित क्षमता र पिपिए भइसकेका आयोजनालाईसमेत समावेश गर्दा हुने राष्ट्रिय ग्रिडको कुल क्षमताको १० प्रतिशतसम्मको सीमामा रहेर प्रतिस्पर्धाका आधारमा सौर्य ऊर्जाको पिपिए गर्नेछ। 

यसअघि राष्ट्रिय ग्रिडको जडित क्षमताको १० प्रतिशतसम्ममा सीमामा रहेर सौर्य आयोजनाहरूको पिपिए हुँदै आएको थियो। 

सौर्य आयोजनाको विद्युत् प्रतिस्पर्धाबाट खरिद गर्न प्रतियुनिट पाँच रुपैयाँ ९४ पैसा अधिकतम आधार दर तय गरिएको छ। प्रतिस्पर्धामा उक्त दरभन्दा जसले कम कबोल गर्छ त्यही आयोजनासँग पिपिए गरिनेछ। 

प्राधिकरणले प्रतिस्पर्धाबाट हालसम्म एक सय ७५ मेगावाटको पिपिए गरेको छ। त्यसमध्ये एक सय ६ मेगावाट सञ्चालनमा आएका छन्। थप ३० मेगावाटका सौर्य आयोजना पिपिए गर्ने प्रक्रियामा छन्। 

 

ad
ad