१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o९:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

५९ प्रतिशतले घट्यो सुन आयात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o९:o६:oo

चालू आर्थिक वर्ष ०८०/८१ को ६ महिनामा बहुमूल्य धातु सुनको आयात ५९.३ प्रतिशतले घटेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार पुस मसान्तसम्म एक हजार तीन सय किलोबराबर सुन आयात भएको छ । यसको लागत ११ अर्ब ८८ करोड ६२ लाखबराबर हुन आउँछ । गत आवको सोही अवधिमा भने २९ अर्ब २० करोड ३२ लाखको सुन आयात भएको थियो । गत आव ०७९/८० मा भने कुल ४३ अर्ब ८९ करोड ९८ लाखको सुन आयात भएको केन्द्रको तथ्यांक छ । यो तथ्यांकमा झिटीगुन्टा शीर्षकमा आउने सुनसमेत समावेश छ । 

नेपालमा धेरै आयात हुने वस्तुमा सुन ११औँ नम्बरमा परेको छ । चालू आवको ६ महिनामा कुल सात खर्ब ६८ अर्ब १६ करोड ६५ लाखको वस्तु आयात भएको छ, त्यसमा सुनको हिस्सा १.५५ प्रतिशत छ । 

पछिल्लो समय देखिएको आर्थिक शिथिलताकै कारण सुनको आयात कम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए । बजारमा माग नभएपछि आयात घटाउनुपरेको उनको भनाइ छ । नेपालमा सुन आयात गर्ने अधिकार वाणिज्य बैंकहरूलाई मात्रै छ । व्यवसायीहरूको सिफारिसमा बैंकहरूले सुन आयात गर्ने अभ्यास छ । 

कोरोनालगत्तै विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि सरकारले सुन आयातको दैनिक कोटा २० किलोबाट घटाएर १० किलोमा सीमित राखेको थियो । गत असोजबाट भने सुन आयात गर्ने दैनिक कोटालाई २० किलो नै पुर्‍याइएको छ । तैपनि, सुनको आयात बढ्न सकेको छैन । 

आर्थिक शिथिलता र महँगीका कारण सुनका गरगहनाको माग कम भएको व्यवसायीहरू बताउछन् । पछिल्लो समय देखिएको आर्थिक शिथिलताका कारण आमउपभोक्ताको क्रयशक्ति घटेको छ । यसै पनि अहिले बजारमा अन्य आधारभूत वस्तुकै मूल्य उच्च छ । विलासिता वस्तु मानिने सुनको मूल्य पनि प्रतितोला एक लाख १८ हजार रुपैयाँ (आइतबारको मूल्यदरअनुसार) पुगेको छ । त्यो अवस्थामा आमउपभोक्ताले सुनका गरगहनालाई न्यून प्राथमिकतामा राखेको व्यवसायीहरू बताउँछन् । अहिले उपभोक्ताले आवश्यकताका मात्रै गरगहना बनाउने गरेको उनीहरूको भनाइ छ । 

‘पहिला उपभोक्ताले रहरका लागि पनि सुनका गरगहना बनाउने गर्थे । तर, अहिले आवश्यकताका आधारमा मात्रै यस्तो गरगहना बनाउँछन् । त्यसमा पनि कम परिमाणमा यस्तो गरगहना बनाउने गर्छन्,’ एक व्यवसायीले भने, ‘त्यसैले अहिले सुनको आयात बढ्न सकेको छैन ।’ यसैगरी, आमउपभोक्ताको पैसा सहकारीमा डुबेको छ, त्यसले गर्दा पनि गरगहनाको माग घटेको व्यवसायीहरू बताउँछन् । 

यस्तै, सरकारले चालू आवदेखि नै सुनजस्ता बहुमूल्य धातुमा २ प्रतिशत विलासिताको कर लगाएको छ, त्यसले गर्दा पनि गरगहनाको माग घटेको हुन सक्ने सरोकारवाला बताउँछन् । यद्यपि, सुन तस्करीका कारण पनि वैधानिक सुनको आयात प्रभावित भएको हुन सक्ने व्यवसायीहरू बताउँछन् । सरकारले चालू आवमा पटक–पटक ठूलो परिमाणमा तस्करीको सुन फेला पारेको छ । 

ad
ad