Skip This
फुटपाथ व्यवसायीले घेरे महानगर कार्यालय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
अभियन्ता ईःको पदयात्रामा साथ दिँदै युवाहरू । 
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख २६ बुधबार o७:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

फुटपाथ व्यवसायीले घेरे महानगर कार्यालय

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o७:५१:oo

व्यवसायीको पक्षमा अभियन्ता ई:ले थाले लुम्बिनी–सिंहदरबार पैदलयात्रा

काठमाडौं महानगरको फुटपाथमा व्यापार व्यवसाय गर्दै आएका व्यवसायीले आइतबार काठमाडौं महानगरपालिका कार्यालय घेराउ गरेका छन् । १२ माघमा घोषणा गरेको चरणबद्ध आन्दोलनको अन्तिम दिन आइतबार उनीहरूले नाराजुलुससहित दुई घण्टा कार्यालय घेराउ गरेका हुन् । 

यसअघि उनीहरूले विभिन्न राजनीतिक दलका कार्यालयमा महानगरले गर्दै आएको ज्यादती रोक्न ध्यानाकर्षण पत्र बुझाएका थिए । पहिलो चरणको आन्दोलनका कार्यक्रम आइतबार सम्पन्न भएको नेपाल स्वरोजगार व्यापार श्रमिक संघले जनाएको छ । १० असोजमा महानगरले गरेको चारबुँदे सहमति कार्यान्वयन नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघले जनाइएको छ । सहमतिविपरीत ७ माघ (आइतबार) बेलुका महानगर प्रहरीले रत्नपार्कको फुटपाथबाट व्यवसायीको सामान जफत गरेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । जफत गरिएका सामान फिर्ता गर्नुपर्ने, चारबुँदे माग अक्षरशः पालन गर्नुपर्नेलगायत माग राख्दै उनीहरूले माघ ८ गते आन्दोलनको घोषणा गरे । 

संघमा आबद्ध व्यवसायीहरूले महानगरले विभिन्न समयमा व्यवसायीबाट जफत सामान फिर्ता गर्नुपर्ने, महानगरभित्रका सबै वडामा ‘सस्तो बजार’ सञ्चालन गरी सस्तोमा नागरिकले सामान पाउने व्यवस्था गर्नुपर्ने, वैकल्पिक व्यवस्थापन नहुन्जेलसम्म हाल व्यवसाय गरिरहेकै स्थानमा उचित समय निर्धारण गरी व्यवसाय सञ्चालन गर्ने कार्य सुनिश्चित गरिनुपर्नेलगायत माग अघि सारेका छन् । ‘असोजमा भएको सहमतिअनुसार बिहान–बेलुका एक–एक घण्टा सहज रूपमा व्यापार गर्न दिने, जफत सामान फिर्ता गर्ने भन्ने थियो । तर, उक्त सम्झौता पालना भएन,’ संघकी अध्यक्ष माया गुरुङले भनिन्, ‘७ माघ बेलुका नगर प्रहरीहरू आएर हाम्रा साथीहरूमाथि हातपात नै गरे ।’ उनका अनुसार ७ माघमा मात्रै करिब एक करोडबराबरको तीन गाडी सामान नगर प्रहरीले लगेको छ । 

पैदलयात्रामा स्वस्फूर्त रूपमा युवाहरू जोडिँदै
सडक व्यापारी, बृहत्तर अनौपचारिक क्षेत्र र सहरी गरिबको पक्षमा सामाजिक अभियन्ता ई:ले आइतबारबाट लुम्बिनीदेखि सिंहदरबार पैदलयात्रा सुरु गरेका छन् । बेरोजगारी, आर्थिक, सामाजिक असमानता बढेको र मौलिक हक–अधिकार कुण्ठित भएको भन्दै सामाजिक न्याय सुनिश्चित गर्ने प्रावधानले भरिपूर्ण र समाजवादउन्मुख लेखिएको संविधानको सार्थकता पुष्टि गर्न र आमजनतामुखी कारुणिक शासन प्रोत्साहन गर्न संघीय सरकारको भूमिका अनिवार्य गर्न पैदलयात्रा सुरु गरिएको अभियन्ता ई:ले बताए ।

आइतबार बिहान साढे ८ बजे लुम्बिनीस्थित मायादेवी प्रांगणबाट अभियन्ता ई:ले पैदलयात्रा सुरु गरेका हुन् । उनीसँग स्वस्फूर्त रूपमा युवाहरू जोडिँदै छन् । आइतबारदेखि सुरु भएको पैदलयात्रा ६ फागुनमा सिंहदरबार पुगेर समाप्त हुनेछ । अभियन्ता ई:ले यसअघि फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्नुपर्ने भन्दै एक सय ९९ घण्टा उभिएर राष्ट्रिय सभागृहअगाडि विरोध प्रदर्शन गरेका थिए ।

ad
ad