मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १६ बुधबार
  • Wednesday, 28 February, 2024
प्रदेश सरकारको सहयोगमा रास्कोट नगरपालिकामा बनाइएका एकीकृत नमुना बस्ती ।
रमेश सुनार कालिकोट
२०८० माघ २८ आइतबार ०६:०७:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

वासविनाको नमुना बस्ती 

कालिकोट रास्कोटका तीन वडाका ७३ घर पहिरोपीडितलाई कर्णाली सरकारले एकीकृत नमुना बस्ती बनाइदियो, तर लाभग्राहीले छाडेनन् जोखिमयुक्त थातथलो

Read Time : > 1 मिनेट
रमेश सुनार कालिकोट
२०८० माघ २८ आइतबार ०६:०७:००

कालिकोटको रास्कोट नगरपालिका– ७ पोखरीकोट पुग्नेलाई नीलो जस्तापाताको एकनासका घरले लोभ्याउँछ । आकर्षक देखिने पोखरीकोट बस्ती कालिकोटको एकीकृत नमुना बस्ती हो । त्यहाँ पुगेर धेरैले तस्बिर खिच्ने र घुम्ने गर्छन् । बस्ती पुग्ने धेरैको एउटै प्रश्न हुन्छ, किन सुनसान ?

०७८ असोजको पहिरोले जमिन धाँजा परेर बस्न अयोग्य भएपछि कर्णाली प्रदेश सरकारले रास्कोट नगरपालिका– १, ३ र ७ का पहिरोपीडितका लागि एकीकृत नमुना बस्तीको अवधारणा ल्यायो । त्रिपालमा पुगेका ७३ परिवारलाई पुनस्र्थापना गर्न तीन वर्षअघि नै बस्ती बन्यो । नमुना बस्ती बनेपछि ७३ घरमध्ये १६ घरमा केही महिनासम्म स्थानीय बासिन्दा बसेका थिए । तर, पछि उनीहरू पुरानै जोखिमयुक्त पुच्छ्रेगाउँकै थातथलोमा बसिरहेका छन् । एकीकृत बस्तीका अधिकांश घरमा ताला लागेको छ । केही पशुचौपायाका गोठ बनेका छन् । 

बस्तीमा बनेका घर बेचबिखन गर्न नपाउने सर्तमा बस्ती स्थानान्तरण भएको हो । घर बने पनि खानेपानी, बिजुली, स्वास्थ्य चौकी र विद्यालय नहुँदा आफूहरू नमुना बस्तीमा जान नसकेको प्रकाश महतराले बताए । नमुना बस्तीमा सडक, विद्युत्, खानेपानी, बालउद्यानलगायत पूर्वाधार बनेका छैनन् । नजिकै विद्यालय र स्वास्थ्य चौकीसमेत छैन । जसका कारण बस्तीमा मान्छे नबसेका हुन् । 

‘पाँच लाखमा घर बन्छ भने । पछि त आठ लाख लाग्यो,’ महतराले गुनासो गरे, ‘बस्तीका सबै ऋणमा डुबेका छन्, छाना मात्रै छाएको घरमा कसरी बस्न सकिन्छ ?’ घर निर्माणका लागि प्रदेश सरकारले प्रतिपरिवार चार लाख दिएको छ । बाँकी लगानी स्थानीयको हो ।

रास्कोट नगरपालिका मेयर धर्मराज शाहीका अनुसार नमुना बस्तीमा पाँच करोड खर्च भएको छ । ‘पहिरोले त्रिपालमुनि बसिरहेका लागि मुख्य आवश्यकता घर नै हो भनेर घर बनाएर बस्ती बसालेका हौँ,’ उनले भने, ‘अहिले यो बस्तीमा स्वास्थ्य संस्था, विद्यालय र खेतबारी नहुँदा पुरानै थातथलो गएर बसेका छन् ।’ नगरपालिकाले विद्यालय र खानेपानीका लागि चालू आवमा बजेट विनियोजन गरेको उनले बताए । खानेपानी आयोजनाका लागि हुरेन्डेक नेपाल नामक संस्थाले डिपिआर बनाएको छ । ०७८ असोजको बाढीपहिरोले सय घरपरिवार पहिरोले लगेको थियो । 

सुन्दरखाल नमुना बस्ती पनि अधुरै
नरहरिनाथ गाउँपालिका– ४ स्थित सुन्दरखालमा पनि नमुना बस्ती बनिरहेको छ । तर, तीन वर्षमा पनि काम सकिएको छैन । नरहरिनाथ– ४ का वडाध्यक्ष नन्दराम सहकारीका अनुसार नमुना बस्तीमा दुई सय ४० घर बन्नुपर्नेमा एक सय ४३ घर मात्र बनेका छन् । अझै ९७ घर बन्न बाँकी छन् । यहाँ पनि आधारभूत सुविधा खानेपानी, विद्यालय, विद्युुत् र पक्की सडक अभाव छ । यो बस्तीमा तीन–चार घरपरिवार भने बस्न थालेका छन् ।

सुन्दरखाल नमुना बस्तीमा अछामको रामारोशन ताल पुग्ने पाँच किलोमिटर मात्र रहेको सडक पुर्‍याउन सकिए रारादेखि रामारोशनसम्म पर्यटकीय मार्ग बन्ने र नमुना बस्तीलाई होम–स्टेका रूपमा प्रयोग गर्न सकिने स्थानीय रत्नबहादुर सहकारीले बताए । गाउँपालिका अध्यक्ष नगेन्दबहादुर विष्ट भने सुन्दरखाल नमुना बस्तीको आवश्यकता नरहेको दाबी गर्छन् । ‘त्यो बस्तीमा चोरीसिकारी गर्नेहरू आएर बसेका छन् । सुन्दरखाल नमुना बस्ती अछामको रामारोशन क्षेत्रमा पर्छ, त्यो ठाउँ पछि संरक्षण क्षेत्रमातहत जान सक्छ,’ उनले भने ।