१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १५:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आयुर्वेद औषधि पसललाई एक-एक लाख जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:२१:oo

जिल्ला प्रशासन कार्यालय गुल्मीले तम्घासमा सञ्चालित दुई आयुर्वेद औषधि पससलाई एक-एक लाख रुपैयाँ जरिवाना गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार कानुनविपरीत रमेश अधिकारीले सञ्चालन गरेको सम्पन्न आयुर्वेद औषधि पसल र कमला पाण्डेयले सञ्चालन गरेको सफल होमियोप्याथिक औषधि पसललाई जरिवाना गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय गुल्मीले दुवै पसललाई १५ माघमा सिलबन्दी गरेको थियो । पसलहरू सिलबन्दी गरेसँगै थप उसले छानबिन गर्न प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको थियो । 

छानबिन समितिको प्रतिवेदनको आधारमा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार एक–एक लाख रुपैयाँ जरिवाना गरेर ११ दिनपछि पसल सञ्चालन गर्न दिइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । 

उनले अहिले आयुर्वेद औषधि पसलहरू मात्रै सञ्चालन गर्न दिएको र प्रतिवेदनअनुसार थप कारबाही गर्न औषधि व्यवस्था विभागमा पत्राचार गरिने बताए । 

‘जरिवाना गरेर आयुर्वेद खोल्ने र एलोपेथिक बन्द नै गर्ने निर्णय गरेका छौँ । आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभागमा पठाउँछौँ,’ उनले भने, ‘प्रशासनको क्षेत्राधिकारभित्रको काम गरेका छौँ ।’

जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले आयुर्वेद तथा होमियोप्याथिक औषधिको खुद्रा बिक्री–वितरण गर्ने अनुमति मात्रै रहेको दुई पसलले अनुमतिविना एलोपेथिक औषधिहरू बिक्री–वितरण गरेको, एक्सरे तथा भिडियो एक्सरे सेवा, फिजियोथेरापी सेवा, नेबुलाइजर सेवा प्रवाह गरिएको भेटाएको थियो । 

साथै, भर्ना गरेर स्लाइन चढाउने तथा चिकित्सकको परामर्शविना ल्याब र रेफर गर्ने गरेकोसमेत पाएपछि कारबाहीअगाडि बढाएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । 

रेसुंगा नगरपालिका– ९ मा रहेका दुई औषधि पसलसहित गोदाम, एक्सरे मेसिन, भिडियो एक्सरे र फिजियोथेरापी कक्षमा प्रशासनले सिलबन्दी गरेको थियो ।

ad
ad