![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/pokhara-festival2024-02-09-11-04-01.gif)
नेपाल लिटरेचर फेस्टिभलको ११औँ संस्करण फागुन ३ देखि ७ गतेसम्म बाराहीघाट, लेकसाइड पोखरामा आयोजना हुने भएको छ । बुकवर्म फाउन्डेसनको आयोजनामा हुने फेस्टिभललाई सूर्य नेपाल प्रालिको उपक्रम सूर्य नेपाल गाथा, पोखरा महानगरपालिकालगायतले सहयोग गरेका छन् ।
फेस्टिभलका अघिल्ला संस्करणझैँ यस वर्ष पनि देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवं विशिष्ट व्यक्तित्वको उपस्थिति रहने आयोजकले जनाएको छ । फेस्टिभलमा ५५ भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक सामग्री समावेश गरिनेछन् ।
यस वर्ष फेस्टिभलमा विश्वप्रसिद्ध पुस्तक ‘अमेरिकन प्रोमिथियस : द ट्रायम्फ एन्ड ट्र्याजिडी अफ जे रबर्ट ओपनहाइमर’का सहलेखक काई बर्डको सहभागिता हुँदै छ । उनको यस पुस्तकले विश्वप्रसिद्ध ‘पुलिट्जर प्राइज’समेत जितेको थियो । उनको यस पुस्तकमा आधारित ओपनहाइमर चलचित्र बनेको छ । क्रिस्टोफर नोलनले निर्देशन गरेको यो चलचित्र सन् २०२३ को बक्स अफिसमा ब्लकबस्टर बनेको थियो । ९६औँ अस्कर अवार्डमा यो फिल्म १३ विधामा मनोनीत भएको छ ।
प्रसिद्ध भारतीय लेखिका ज्यानिस प्यारियट पनि फेस्टिभलमा आउँदै छिन् । उनको पुस्तक एभ्रिथिङ द लाइट टचेजबारे उनले फेस्टिभलमा चर्चा गर्नेछिन् । उनको यस पुस्तकले सन् २०२३ मा उत्कृष्ट आख्यानका लागि ‘सुशीलादेवी अवार्ड’ पाएको थियो । विश्वप्रसिद्ध समालोचक एवं उपन्यासकार चन्द्रहास चौधरी पनि फेस्टिभलमा आउँदै छन् । उनले क्लाउड्स र अर्जी द ड्वार्फ पुस्तक लेखेका छन् । उनको अर्जी द ड्वार्फ पुस्तक ‘कमनवेल्थ फस्र्ट बुक प्राइज’का लागि सर्टलिस्टसमेत भएको थियो ।