Skip This
नगरपालिकासहितको संयुक्त लगानीमा बेलौरीमा तेल उद्योग सञ्चालन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २२ सोमबार
  • Saturday, 27 July, 2024
मोहन विष्ट कञ्चनपुर
२o८o माघ २२ सोमबार १३:३६:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

नगरपालिकासहितको संयुक्त लगानीमा बेलौरीमा तेल उद्योग सञ्चालन

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o माघ २२ सोमबार १३:३६:oo

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा खानेतेलको उद्योग सञ्चालनमा आएको छ। सीमावर्ती बेलौरी नगरपालिका– ४ मा नगरपालिकासमेतको संयुक्त लगानीमा शुद्ध तोरीको तेल उद्योग सञ्चालनमा ल्याइएको हो।

बेलौरी नगरका मेयर पोतिलाल चौधरीले स्थानीय सरकारसहित निजी क्षेत्रसँगको संयुक्त साझेदारीमा ३० लाख लागतमा उद्योग सञ्चालनमा आएको बताए। उद्योगमा नगरपालिकाको १५ लाख, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको १० लाख र सम्झौता सहकारी संस्थाको पाँच लाख रुपैयाँ लगानी छ।

‘हामी बेलौरी नगरवासी सीमावर्ती क्षेत्रका हौँ, घरमै उत्पादन हुने तोरी बिक्री गरेर भारतीय बजारको अखाद्य तेल उपभोग गरिरहेका छौँ,’ मेयर चौधरीले भने। उद्योग स्थापनाको विषय बेलौरी नगरपालिकाको आर्थिक वर्ष ०७९/८० को नीति, कार्यक्रममा नै समेटिएको उनको भनाइ छ। 

मेयर चौधरीले कच्चा पदार्थको अभाव हुन नदिन किसानलाई नगरपालिकामार्फत तोरी उत्पादनका लागि प्रवर्द्धनात्मक कार्यक्रम गर्ने बताए। किसानलाई बिउबिजनदेखि अनुदानका कार्यक्रम सञ्चालन गरेर तोरी उत्पादन बढाउन प्रोत्साहन गर्ने उनको भनाइ छ।

सम्झौता सहकारीका लेखा संयोजक मनराज उपाध्यायले दक्षिणी क्षेत्रमा तोरीको राम्रो सम्भावना भएकाले सहकारीले स्थानीय सरकारसहितका सरकारी निकायसँगको समन्वयमा उद्योग सञ्चालनमा ल्याएको बताए। उनका अनुसार उद्योगको मेसिन दैनिक पाँच सय लिटर तेल उत्पादन गर्ने क्षमताको रहेको छ।