१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १२:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मुगु अस्पतालकाे एक्सरे मेसिन एक महिनादेखि बन्द, बिरामीलाई जुम्ला जानुपर्ने बाध्यता 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:o५:oo

मुगुको एक मात्र अस्पतालमा एक महिनादेखि बिग्रिएकाे एक्सरे मेसिन मर्मत नहुँदा बिरामीलाई सास्ती भएको छ।

एक्सरे मेसिनको इमेज क्यासेट बिग्रिएपछि बिरामीलाई एक्सरे गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाउने गरिएको जिल्ला अस्पताल मुगुले जनाएको छ।

उक्त एक्सरे मेसिनको इमेज क्यासेट विद्युतीय भोल्टेज अनियमित भई बिग्रेको र करिब दुई लाख ५० हजारजति रकम मर्मतमा खर्च लाग्ने र अस्पतालले रकम व्यवस्थापन गर्न सक्ने भए पनि विद्युतीय भोल्टेजको कारण फेरि एक्सरे मेसिन बिग्रने भयले मर्मत कार्य हुन नसक्दा सामान्य चोटपटकलगायत अन्य रोगका बिरामीलाई एक्सरे गर्न जुम्ला पुग्नुपर्ने बाध्यता छ।

जिल्लाका दूरदराजबाट उपचारका लागि जिल्ला अस्पताल ठिनी आउने बिरामीले एक्सरे मेसिन अभावले सास्ती भोग्दै आएका छन्। अस्पतालमा एक महिनादेखि बिग्रिएको एक्सरे मेसिन मर्मतका लागि पहल भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. कमल ढुंगानाले बताए। 

उनका अनुसार विद्युतको भोल्टेज स्थिर नहुँदा अस्पतालका धेरै उपकरण बिग्रिएर थन्क्याइएको छ। एक्सरे मेसिन पनि यसरी विद्युत् भोल्टेज स्थिर नभएर नै बिग्रिएको हो।

लाखौँ  रुपयाँ खर्च गरेर एक्सरे मेसिन बनायो फेरि विद्युतको कारणले बिग्रिहाल्छ। केही दिनपछि अस्पताल हाताभित्र विद्युतीय ट्रान्सफर्मर जडान गर्ने र मेसिन चलाउन सक्ने विद्युतको भोल्टेज पुगेपछि एक्सरे मर्मत गरी सञ्चालन गरिने पनि निमित्त स्वास्थ्य प्रमुख ढुंगानाले बताए।

मेसिन चलाउन दुई सय २० भोल्ट विद्युतको आवश्यकता पर्ने गरेको र हालको विद्युतको भोल्टेज अपुग छ। विद्युतीय भोल्टेज बढाउने ट्रान्सफर्मर खरिदको प्रक्रिया पूरा भएपछि एक्सरे सञ्चालन हुने उनले जनाए।

जिल्ला अस्पताल ठिनीबाहेक एक्सरेको कुनै विकल्प मुगु जिल्लामा नभएपछि मुगुका बिरामीलाई जुम्ला लग्ने गरिएको छ। जुम्ला जान–आउन सवारी यातायात र होटेल खर्च गरी न्यूनतम सात–आठ हजारभन्दा बढी रकम लाग्ने गरेको छ।

प्राथमिक स्वास्थ्य केन्द्रबाट ०६३ पुसमा १५ शय्याबाट सुरु भएको यो अस्पतालबाट  साबिकका गम, सोरू, खतेड र करान भेगका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको थियो।

कोरियन सरकारले अस्पतालको आवश्यक उपकरणसहित भौतिक पूर्वाधार निर्माणमा सहयोग गरे पनि आन्तरिक रूपमा जनशक्ति अभाव, फार्मेसी सेवा सञ्चालन र रक्त सञ्चार सेवा नहुँदा अस्पतालको सेवा प्रभावकारी हुन सकेको छैन। 

ad
ad