१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १८:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

६ लाख घुससहित रंगेहात पक्राउ परेका उपसचिव नेपाल दोषी ठहर

तीन वर्ष प्याराग्लाइडिङको लाइसेन्स रोकेर गरेका थिए घुसको बार्गेनिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १८:२६:oo

६ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन उपसचिव प्रमोद नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

शुक्रबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले फैसला गर्दै उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार नेपाललाई ६ लाख जरिवाना र एक वर्ष कैदको फैसला भएको छ। प्याराग्लाइडिङ सञ्चालन अनुमति (लाइसेन्स) दिन ६ लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाललाई १७ साउन ०७९ मा होटेलबाट रंगेहात पक्राउ गरेको थियो।

स्रोत नखुलेको थप साढे १६ लाख रुपैयाँसमेत अख्तियारकाे टोलीले उनको गाडीबाट बरामद गरेको थियो। घुस लिन उनी सरकारी गाडी लिएरै होटेल पुगेका थिए। नेपालले लाइसेन्स रोकेर तीन वर्षदेखि घुसको बार्गेनिङ गरेका थिए।

पक्राउ पर्दा उपसचिव नेपाल प्याराग्लाइडिङ सञ्चालनको लाइसेन्स दिने पर्यटन मन्त्रालयको हवाई उद्योग तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका सिनियर एयर ट्राफिक कन्ट्रोलर थिए। उपसचिव नेपालले घुसका लागि बार्गेनिङ गरेको उजुरी पीडितले गरेपछि आयोगको टोली उजुरीकर्तासमेत लिएर होटेल पुगेको थियो ।

होटेलमा जुस खाएर घुसको विषयमा छलफल चल्दा नेपालले रकम आफ्नो गाडीमा हालिदिन भनेका थिए। घुस रकम गाडीमा हाल्ने क्रममा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो।

२ असोज ०७९ मा अख्तियारले उपसचिव प्रमोद नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। नेपाललाई घुस दिने बिबी एयरवेज प्रालिका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठलाई पनि अख्तियारले प्रतिवादी बनाएको थियो।

नेपालविरुद्ध ६ लाख रुपैयाँ बिगो कायम गरेर श्रेष्ठलाई मतियारका रूपमा अख्तियारले मुद्दा दायर गरेको थियो। विशेष अदालतले श्रेष्ठलाई भने सफाइ दिएको छ।

ad
ad