१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १८:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बाँदर नियन्त्रण गर्न रुख काट्ने उर्दीको चौतर्फी आलोचना, महानगरको पत्रपछि वडाध्यक्ष 'ब्याक'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:o७:oo

‘रुख काटेर प्रदेश सरकारलाई सहयोग गर्नुस्’ भन्दै उर्दी जारी गरेका पोखराका वडाध्यक्षको चौतर्फी विरोध भएको छ। पोखरा महानगरपालिका– १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार एक सूचना जारी गर्दै ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरेका थिए।

पाण्डेले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयका सम्बन्धमा कास्की जिल्ला पोखरा महानगरपालिका साबिक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अतिप्रभावित क्षेत्र भएको र हाल प्रदेश सरकारले आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रणसम्बन्धी नीति पास गरेको हुँदा आजको मितिले १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आ–आफ्नो घरवरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्‍याउनको साथै आ–आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्‍याउनको लागि वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडावासीको लागि यो सूचना प्रकाशित गरिन्छ।’

वडाध्यक्षले जारी गरेको सूचनालाई लिएर सामाजिक सञ्जाललगायत चौतर्फी रूपमा आलोचना र विरोध भएपछि मंगलबार पोखरा महानगरपालिकाको कार्यालयले वडा कार्यालयलाई पत्राचार गर्दै रुख कटान कार्य बन्द गर्न भनेको हो।

महानगरपालिका कार्यालयको तर्फबाट वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्माले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘तहाँ वडा कार्यालयबाट मिति २०८०-१०-१५ मा प्रकाशित भएको रुख काट्नेसम्बन्धी सार्वजनिक सूचना प्रकाशन भएको देखियो। उक्त सूचना अविलम्ब रद्द गरी रुख कटान गर्ने कार्य बन्द गर्नुहुन अनुरोध गरिन्छ।’

महानगरपालिकाको पत्रपछि वडाध्यक्षले महानगरपालिका कार्यालयको निर्देशनअनुसारको कार्य गर्न भनी सूचना जारी गरेका छन्।  सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयमा यस कार्यालयबाट मिति २०८०/१०/१५ गते प्रकाशित बाँदर नियन्त्रणका लागि रुख कटान गर्ने विषयक सूचना सम्बन्धमा पोखरा महानगरपालिका नगरकार्यपालिकाको कार्यालयबाट प्राप्त निर्देशनअनुसार गर्नू गराउनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।’

ad
ad