ग्राउन्डेड ट्विनअटर विमान मर्मत गरेर उडाउन बेवास्ता गरेपछि पर्यटनमन्त्री सुदन किराँती नेपाल वायुसेवा निगम (नेवानि)का कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग रुष्ट भएका छन् । सोमबार अनुगमनका लागि जहाज मर्मतस्थल पुगेका उनी जहाज मर्मतमा खटिएको टोलीबाट सन्तोषजनक जवाफ नपाएपछि कडा रूपमा प्रस्तुत भएका थिए ।
सन् २०१२ देखि ग्राउन्डेड जहाज मर्मत गर्न निगम सञ्चालक समितिको बोर्ड बैठकबाट निर्णय भएको दुई महिना बित्न लाग्दासमेत कार्यान्वयन नभएपछि मन्त्री किराँती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित निगमको ह्यांगरमा पुगेका थिए । निगम कार्यकारी अध्यक्ष अधिकारीलाई लक्षित गर्दै उनले भने, ‘जनताले कागजात हेर्दैनन्, परिणाम चाहेका छन् । मलाई परिणाम चाहियो, जहाज कहिलेसम्म बनिसक्छ ? पहिलाजस्तो ढाँट्न पाइन्न । परिणाम दिन नसक्ने कर्मचारीलाई मैले निगममा किन राख्ने ?’
अहिले निगमका अन्तर्राष्ट्रिय जहाज उडान गर्नेभन्दा ग्राउन्डेड बढी भइरहेका छन् । आन्तरिक उडानका लागि दुईवटा ट्विनअटर भए पनि नियमित उडानमा भने एउटा मात्र हुने गर्छ । निगमको न्यारोबडी ९एन–एकेएक्स जहाज चालू आर्थिक वर्षको साढे ६ महिनामा साढे चार महिनाभन्दा बढी ग्राउन्डेड भइसकेको छ । पछिल्लो समय करिब दुई महिनादेखि ग्राउन्डेड एकेएक्स जहाज इजरायल लगेर थन्क्याइएको छ ।