१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o६:१o:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

परीक्षणमा बुक बिल्डिङमार्फत सेयर निष्कासन

बुक बिल्डिङ एक किसिमको लिलामी प्रक्रिया हो । यसमा कम्पनीले सार्वजनिक निष्कासन गर्न चाहेको कुल धितोपत्रमध्ये केही कित्ताको लिलामी गरिन्छ ।

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:१o:oo

प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन आइपिओ जारी गर्ने कम्पनीसँगै बुक बिल्डिङ विधिमार्फत आइपिओ निष्कासन हुँदै छ । नेपालको सेयर बजारमा पहिलोपटक बुक बिल्डिङ प्रक्रियामार्फत सर्वोत्तम सिमेन्टको सेयर औपचारिक रूपमा निष्कासनमा आइसकेको छ । 

बुक बिल्डिङ एक किसिमको लिलामी प्रक्रिया हो । यसमा कम्पनीले सार्वजनिक निष्कासन गर्न चाहेको कुल धितोपत्रमध्ये केही कित्ताको सीमित लिलामी गरिन्छ । यस्तो लिलामीबाट निर्धारित प्रिमियमका आधारमा बाँकी धितोपत्र सार्वजनिक निष्कासन गरिन्छ । यस विधिमा कम्पनीले नै प्राइस रेन्ज दिई आधारभूत विश्लेषणका आधारमा बिडिङ गरिन्छ । मूल्य निर्धारण गर्ने विधिका रूपमा समेत लिइने बुक बिल्डिङ विधिमा स्वतन्त्र रूपमा रहेको बजारले नै कम्पनीको मूल्य निर्धारण गर्ने मान्यता छ । बुक बिल्डिङ योग्य संस्थागत लगानीकर्ताको मागका आधारमा प्राथमिक बजारमा निष्कासन गरिने धितोपत्रको वास्तविक मूल्य निर्धारण विधि हो । सर्वोत्तम सिमेन्टले योग्य संस्थागत लगानीकर्ताको आवेदनपछि मूल्य निर्धारण गरेको छ ।

कम्पनीले पहिलो चरणमा संस्थागत योग्य लगानीकर्ताका लागि २४ लाख कित्ता अर्थात् ४० प्रतिशत सेयर निष्कासन गरिसकेको छ । संस्थागत योग्य लगानीकर्तालाई चार सय एक रुपैयाँदेखि ६ सय एक रुपैयाँ निर्धारण गरिएको थियो । उक्त बाँडफाँट भएर कम्पनीको ‘कट अफ’ मूल्य चार सय एक रुपैयाँ निर्धारण भएको हो । बोलकबोलमा आवेदन दिएको अधिकतम मूल्य र सोअनुसारको कित्ता सेयर बाँड्दै जाँदा जुन मूल्यमा पुगेर सेयर संख्या सकिन्छ, त्यही मूल्य ‘कट अफ प्राइस’का रूपमा रहन्छ । संस्थागत योग्य लगानीकर्ताले गर्ने बोलकबोलमा निस्किने कट अफ प्राइसभन्दा १० प्रतिशतले कम मूल्य राखेर दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरिन्छ । अब सर्वसाधारणलाई कम्पनीले प्रतिकित्ता सेयर तीन सय ६० रुपैयाँ ९० पैसाका दरमा बिक्री गर्नेछ । कम्पनीले २५ पुसदेखि स्थानीय र वैदेशिक रोजगारका लागि आवेदन खुला गरेको छ ।  

पहिलोपटक बुक बिल्डिङमार्फत सेयर निष्कासन गर्ने कम्पनी भएको हुँदा आमलगानीकर्ता र स्वयं धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा पनि चासो रहेको नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए । उनले भने, ‘बुक बिल्डिङ अहिलेसम्म अन्तर्राष्ट्रिय रूपमै प्रचलित सेयर कारोबार हो, नेपालमा यो अभ्यासका रूपमा आउँदै छ, यसको सफल परीक्षण भएको खण्डमा अन्य ठूलो रियल सेक्टरका कम्पनीहरू यस विधिमार्फत आकर्षित हुन्छन् ।’

धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीले बुक बिल्डिङमार्फत सेयर निष्कासनमा आउँदा सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्न सक्ने बताए । उनले भने, ‘कम्पनीको सेयरमा वित्तीय विवरण, कानुनी त्रुटि छैन र फेयर छ भने यसले नेपाली पुँजी बजारका लागि एउटा कोसेढुंगो थपिन्छ, तर वित्तीय विवरणमा कमजोरी र नियामक निकाय चनाखो हुन नसकेको खण्डमा यसले बजारलाई झनै संकटमा पनि ल्याउन सक्छ ।’ त्यस्तै, न्यु स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले पनि बुक बिल्डिङमार्फत सेयर निष्कासन हुँदा आमलगानीकर्ताका लागि चासोको विषय भएको बताए । 

सर्वोत्तमसँगै रिलायन्स स्पिनिङ मिल्सले पनि बुक बिल्डिङमार्फत आइपिओ निष्कासनमा १० माघबाट ल्याएको छ । कम्पनीले योग्य संस्थागत लगानीकर्ताका लागि सुरुवाती सेयर निष्कासन गत बुधबारबाट खुला गरेको थियो । कम्पनीको जारी पुँजी एक अर्ब ९० करोड रुपैयाँको १० दशमलव १४ प्रतिशत हुन आउने १९ करोड २६ लाख रुपैयाँ बराबरको सय रुपैयाँ अंकित मूल्यका दरले १९ लाख २६ हजार ६ सय कित्ता सेयर बुक बिल्डिङ विधिमार्फत निष्कासन गरेको हो । योग्य संस्थागत लगानीकर्ताले गरेको बोलपत्र सोमबार खोलेसँगै यस कम्पनीको कट अफ प्राइज नौ सय १२ रुपैयाँ निर्धारण हुने भएको नेप्सेले जनाएको छ । 

बोलपत्रका आधारमा कायम भएको कट अफ मूल्यबाट १० प्रतिशत घटाएर सर्वसाधारणलाई आइपिओ जारी गर्नुपर्ने व्यवस्था छ । अब रिलायन्सको आइपिओ सर्वसाधारणलाई प्रतिकित्ता आठ सय २० रुपैयाँ ८० पैसामा आवेदन दिनुपर्नेछ । बुक बिल्डिङ विधिबाट जारी हुने आइपिओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था रहेको छ । रिलायन्सपछि बुक बिल्डिङमार्फत यती ब्रुअरी लिमिटेडले पनि सेयर निष्कासन गर्ने भएको छ । 

ad
ad