१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
कमलराज भट्ट काठमाडाैं
२o८१ जेठ २ बुधबार o६:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

भारतको खर्चमा दुई संसदीय समितिका २८ सांसद दिल्ली र हिमाञ्चल जाँदै

Read Time : > 1 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:१२:oo

संसदीय समितिका सांसदहरू अध्ययन भ्रमणका लागि भारत जाने भएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका २८ सांसद भ्रमणमा जान लागेको संसद् सचिवालयले जनाएको छ । भ्रमणको खर्च भारतीय पक्षले नै व्यहोर्नेछ । 

सचिवालयका अनुसार भारतीय संसद्को अन्तर्राष्ट्रिय समितिको निमन्त्रणामा सभापति राजकिशोर यादवको नेतृत्वमा ११ सदस्यीय टोली मंगलबार राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको उडानबाट नयाँदिल्ली प्रस्थान गर्दै छ । त्यसपछि कृषि समितिका २० जना सदस्य बाँदर बन्ध्याकरण प्रविधिको स्थलगत अध्ययन गर्न फेब्रुअरी दोस्रो साता भारतको हिमाञ्चल प्रदेश जाने तयारीमा छन् ।

अन्तर्राष्ट्रिय समिति सभापति यादवले ३० जनवरीदेखि ६ फेब्रुअरीसम्म भारतको संसदीय व्यवस्थाबारे अध्ययन गर्न जान लागेको बताए । उनका अनुसार कांग्रेसबाट योगेश गौचन, एमालेबाट सुनिता बराल, हरि उप्रेती, सम्झना थपलिया, माओवादीबाट छिरिङ ल्हामु लामा (तामाङ), रास्वपाबाट शिशिर खनाल र नागरिक उन्मुक्तिका गंगाराम चौधरी भ्रमणमा जानेछन् । यसैगरी, समिति सचिव बबिता मिश्रसहित उपसचिव र शाखा अधिकृतसमेत तीनजना सचिवालय सदस्य पनि भ्रमण दलमा हुनेछन् । 

सभापति यादवको नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डलले भारतीय नयाँ संसद् भवनको निरीक्षणका साथै त्यहाँका सभामुखसँग भेट गर्नेछ । ‘भारतीय संसद्को नयाँ भवनमा बैठक हुनेछ । उनीहरूको संसदीय प्रक्रिया कसरी चल्छ, त्यसबारे जानकारी गराउनुहुन्छ,’ उनले भने । सभापति यादवका अनुसार नेपाली प्रतिनिधिमण्डलले भारतीय संसद्को अन्तर्राष्ट्रिय समितिका सभापति र सदस्यहरू द्विपक्षीय अनुभव आदानप्रदान गर्नेछ । राज्यसभाको भ्रमण तथा राज्यसभाका अध्यक्ष एवं उपराष्ट्रपतिसँग भेट गर्नेछ । 

यसका अलावा भारतीय विदेशमन्त्री र पर्यटनमन्त्रीसँग भेट्ने कार्यक्रम तय भएको सभापति यादवले बताए । त्यसपछि नेपाली राजदूतावासमा पूर्वभारतीय राजदूतहरूसँग छलफल गर्ने कार्यतालिका छ । कार्यतालिका अनुसार अर्काे दिन नेपाली प्रतिनिधिमण्डल मुम्बई जानेछ । मुम्बईमा महाराष्ट्रका गर्भनर र मुख्यमन्त्रीसँग भेट्ने कार्यक्रम छ । त्यहाँका उद्योगी व्यवसायीसँग पर्यटन क्षेत्रमा लगानी भित्र्याउने गरी छलफल गर्ने कार्यतालिका छ । मुम्बईबाट नेपाली प्रतिनिधिमण्डल गोवा गएर त्यहाँको पर्यटन विकासको मोडलबारे जानकारी लिनेछ । 

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिनिधिमण्डल फेब्रुअरी दोस्रो साता भारत भ्रमणमा निस्किँदै छ । समिति सभापति डा. आरजु राणा देउवाका अनुसार बाँदरको बन्ध्याकरण प्रविधि बुझ्न सांसदहरू हिमाञ्चल प्रदेश जान लागेका हुन् । नेपालको कानुनले बाँदर मार्नुलाई अपराध मानेकाले बन्ध्याकरण गर्ने मोडलमा बहस भइरहेको छ । बाँदरले बाली नष्ट गर्दा हजारौँ कृषक मर्कामा छन् । कृषकका तर्फबाट बाँदर नियन्त्रणमा पहल गरिदिन समितिमा उजुरी नै परेको छ ।

समितिले कृषि र वन मन्त्रालयसँग समन्वय गरेर १० जना भेटेरिनरी डक्टर र पाँचजना फरेस्ट रेन्जरलाई फेब्रुअरी पहिलो साता तालिमका लागि हिमाञ्चल पठाउँदै छ, यसमा भारत सरकारको सहयोग रहनेछ । त्यसपछि दोस्रो साता २० जना सांसदहरूको टोली भारतको सहयोगमा त्यसतर्फ जाने तयारी रहेको समिति सचिवालयले जनाएको छ ।

  •  अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापति राजकिशोर यादव नेतृत्वको प्रतिनिधिमण्डलले भारतीय नयाँ संसद् भवनको निरीक्षणका साथै त्यहाँका सभामुखसँग भेट गर्नेछ । ‘भारतीय संसद्को नयाँ भवनमा बैठक हुनेछ । उनीहरूको संसदीय प्रक्रिया कसरी चल्छ, त्यसबारे जानकारी गराउनुहुन्छ,’ उनले भने । प्रतिनिधिमण्डलले भारतीय संसद्को अन्तर्राष्ट्रिय समितिका सभापति र सदस्यहरूसँग द्विपक्षीय अनुभव आदान–प्रदान गर्नेछ । राज्यसभाको भ्रमण तथा राज्यसभाका अध्यक्ष एवं उपराष्ट्रपतिसँग भेट गर्नेछ । 
  • समितिले कृषि र वन मन्त्रालयसँग समन्वय गरेर १० जना भेटेरिनरी डक्टर र पाँचजना फरेस्ट रेन्जरलाई फेब्रुअरी पहिलो साता तालिमका लागि हिमाञ्चल पठाउँदै छ, यसमा भारत सरकारको सहयोग रहनेछ । त्यसपछि दोस्रो साता समितिका सभापति डा. आरजु राणाको नेतृत्वमा २० जना सांसदको टोली भारत जाने तयारी रहेको समिति सचिवालयले जनाएको छ । 
ad
ad