मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १४ आइतबार
  • Thursday, 19 December, 2024
शान्ति तामाङ काठमाडाैं
२o८o माघ १४ आइतबार o८:१७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

धरहरा पुनर्निर्माणमा पाँचौँपटक म्याद थपिँदै

तीन–चार महिनामा काम सक्ने गरी काम भइरहेको कम्पनीको दाबी

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ १४ आइतबार o८:१७:oo

४२ रोपनीमा फैलिएको धरहराको लागत अनुमान तीन अर्ब आठ करोड छ । जसमध्ये साढे दुई अर्ब अर्थात् ७९ प्रतिशत रकमको काम सम्पन्न ।

दुई वर्षमा सक्ने गरी कात्तिक ०७५ मा सुरु भएको धरहरा पुनर्निर्माण आयोजनाको ठेकेदार कम्पनीले पाँचैपटक म्यादको प्रक्रिया अघि बढाएको छ  । पछिल्लोपटक थपिएको म्याद पुस मसान्तमा सकिएसँगै म्याद थपको बढाएको हो ।

पाँचौँपटक म्याद थपका लागि प्रक्रिया अगाडि बढेको निर्माण कम्पनी रमन कन्स्ट्रक्सनले जनाएको छ । ‘म्याद थपका लागि प्रक्रिया अगाडि बढाइरहेका छौँ । म्याद थपपछि ‘फुल फेज’मा देखिने गरी काम गर्छौँ,’ कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर साजन सुवालले भने । हाल बगैँचा निर्माणका लागि फूल–बिरुवा रोप्ने काम, झिलिमिलिका लागि बत्तीको काम, धरहरापरिसरमा रहेको मेटलमा सिसा हाल्नेलगायतका काम रहेका छन् ।

निर्माण कम्पनीका अनुसार धरहरा निर्माणमा अझै १० प्रतिशत काम बाँकी छ । ‘पूर्वाधारतर्फ ९० प्रतिशत काम सकिएको छ । फुल, बिरुवा रोप्ने, धरहराअगाडि राखिएको मेटलमा सिसा राख्नेजस्ता सामान्य काम बाँकी छन्,’ कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर सुवालले भने । उनका अनुसार तीनदेखि चार महिनामा काम सकिने गरी काम भइरहेको छ ।

भूमिगत पार्किङलाई प्रयोग गर्न मिल्ने भन्दै दसैँ–तिहारलाई लक्षित गरी काठमाडौं महानगरपालिकाले गत कात्तिकमा पार्किङ पनि खुला गरेको थियो । तत्कालीन प्रधानमन्त्री ओलीले ११ वैशाख ०७८ मै धरहरा निर्माण सम्पन्न भएको दाबी गर्दै उद्घाटन गरेका थिए । तर, टावरबाहेक अन्य संरचना निर्माण बाँकी रहेकाले सर्वसाधारणका लागि धरहरा खुला हुन सकेको छैन । 

४२ रोपनीमा फैलिएको धरहराको लागत अनुमान तीन अर्ब आठ करोड छ । जसमध्ये साढे दुई अर्ब अर्थात् ७९ प्रतिशत रकमको काम भइसकेको छ । धरहरा आधुनिक ढंगले पुनर्निर्माण गर्न जमिन अपुग भएपछि सरकारले गोश्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको सबै जमिन एकीकृत रूपमा विकास गरेको थियो । जसकारण पहिले पाँच रोपनी क्षेत्रफलमा फैलिएको धरहरा ४२ रोपनीमा विस्तार भएको हो । तत्कालीन पुनर्निर्माण प्राधिकरणले पारित गरेको डिजाइनअनुसार गोश्वारा हुलाक भएको ठाउँमा धरहरा प्रवेशद्वार रहेको छ । भित्र छिरेपछि दुई तला भूमिगत छ । भूमिगत तलाबाट लिफ्ट चढेर धरहराको माथिल्लो भागमा पुग्न सकिनेछ ।

धरहरापरिसरमा रहेको सुन्धारा पुनर्निर्माण गलत तरिकाले भएको आरोपमा स्थानीयले विरोध गरेपछि काम रोकिएको थियो । निर्माण कम्पनीको कामविरुद्ध महानगरका मेयर बालेन्द्र साह (बालेन)ले समेत आपत्ति जनाएका थिए । भूकम्पले ढलेको धरहरा संरक्षण पनि उपयुक्त तरिकाले नभएको भन्दै स्थानीयले विरोध गरेपछि कम्पनीले काम रोकेको थियो । उक्त रोकिएको काम कहिले सुरु हुने भन्ने अझै यकिन भएको छैन ।

संरक्षणका काम नहुँदा सुन्धारावरपर पहेँलो हुने गरी लेउ लागेको छ । लामा–लामा घाँस उम्रिएका छन् । सुन्धाराको संरक्षण हुन सकेको छैन नै । पुरानो धरहरासमेत बेवास्तामा परेको छ । जसकारण पुरानो धरहरा क्षेत्रमा समेत घाँस उम्रन थालेको छ । पुरानो धरहरा र सुन्धारा संरक्षणका लागि पुरातत्व विभागको निर्णयनुसार काम अगाडि बढ्ने निर्माण कम्पनीले बताएको छ । ‘धरहरा र सुन्धारा पुनर्निर्माण कसरी गर्ने, यो विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा विभागको निर्णयअनुसार हुन्छ । हालसम्म विभागको तर्फबाट कुनै पनि जानकारी आएको छैन,’ सुवालले भने ।

विभागले भने धरहरा र सुन्धाराको संरक्षणसम्बन्धी कामको गति मन्द भएको भन्दै द्रुत गतिमा काम नभए आफैँले गर्ने बताएको छ । ‘धरहरा क्षेत्रमा धमाधम काम भइरहे पनि पुरानो धरहरा र सुन्धारा संरक्षणको काम हुन सकेको छैन । यसमा हाम्रो ध्यानाकर्षण भएको छ,’ विभागका महानिर्देशक शौभाग्य प्रधानांगले भनिन्, ‘हामीले उहाँहरूलाई छिटो काम गर्नुहोस् । तपाईंहरू सक्नुहुन्न भने हामी गर्छाैँ भनिरहेका छौँ । उहाँहरूले चासो देखाउनुभएन भने हामी आफैँ गर्छौँ ।’ तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणको काम सहरी तथा भवन निर्माणलाई हस्तान्तरण गरेको थियो ।