१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १७:o४:oo
Read Time : > 5 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

असुरक्षित गर्भपतनका कारण जोखिम बढ्दै

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १७:o४:oo

घटना १ : २१ वर्षकी एक युवतीको विवाह भएको ढेड महिनापछि वैदेशिक रोजगारीका क्रममा श्रीमान विदेश गए। अध्ययनका लागि घरदेखि केही टाढा बसेकी उनको स्थानीय एक पुरुषसँग चिनजान भयो। पछि उनीहरूबीच यौन सम्बन्ध रह्यो। यौन सम्बन्धपछि ती युवतीको गर्भ बस्यो, उनले नजिकैको फार्मेर्सीबाट गर्भपतन गर्ने औषधि ल्याएर खाइन्। त्यसको केही महिनापछि पुनः उनको गर्भ बस्यो। त्यसपछि उनले एकै हप्तामा फरक-फरक फार्मेसीबाट गरी दुई–तीन थरी औषधि ल्याएर खाइन्। आवश्यकभन्दा बढी र फरक औषधि सेवन गरेका कारण तीन -चार महिनासम्म उनको रक्तश्राव रोकिएन। सोही समयमा विदेश गएका श्रीमान् विदेश नजाने गरी घर फर्किए। श्रीमतीको समस्या देखेपछि उपचारका लागि अस्पताल लगे। उपचारका लागि तीन–चार स्थानमा लाँदासमेत श्रीमतीको समस्या समाधान भएन। उपचारकै क्रममा श्रीमतीले गर्भपतन गर्ने औषधि बढी प्रयोग गरेको थाहा पाए। यही विषयले परिवारमा झगडा सुरु भयो र सम्बन्ध विच्छेदसम्म पुग्यो।

घटना २ : १७ वर्षकी एक युवती अध्ययनको लागि गाउँबाट सहर झरिन्। सहरमा घरधनीको छोरासँग उनको सम्बन्ध नजिकियो। घुमघामबाट सम्बन्ध झाँगिएपछि उनीहरूबीच सहमतिमा यौनसम्पर्क भयो। साढे दुई वर्षको अवधिमा पटक-पटक गर्भ बस्यो, उनले औषधि खाँदै गइन्। पछि उनको विवाह गाउँकै एक पुरुषसँग भयो। विवाह गरेको तीनचार वर्षसम्म गर्भ बसेन। परिवारले चेकजाँचका लागि धेरै ठाउँमा लगे। अन्तिममा पाठेघरको समस्याका कारण उनी आमा बन्न नसक्ने पत्ता लाग्यो। बारम्बारको औषधि प्रयोगले उनको पाठेघरमा समस्या आएको थियो। गर्भ नबसेकै कारण उनीहरूको सम्बन्धमा खटपट सुरु भयो, र फरक-फरक बस्न थाले।

घटना ३ : सँगै काम गर्ने कार्यालयका हाकिमसँग प्रेममा परेकी ३७ वर्षकी एक महिलाको यौन सम्बन्धपछि गर्भ बस्यो। उनले सुटुक्क नजिकैको औषधि पसलमा गएर गर्भ फाल्ने औषधि ल्याइन्। उनले एउटै पसलबाट पटक-पटक गरेर तीनपटक ल्याएर औषधि खाइन्। औषधिका कारण उनमा केही समस्यासमेत देखियो। परिवार नियोजन गरेका श्रीमानले श्रीमतीले पसलबाट गर्भपतनको औषधि ल्याएर खाएको नजिकका साथीबाट थाहा पाए। कुरा बुझ्दै जाँदा एक छोरा र दुई छोरीकी आमा ती महिलाको विवाहेत्तर सम्बन्ध रहेको थाहा पाए। यही कारणले श्रीमान् श्रीमतीको बोलचाल बन्द भयो। स्वार्थ पूरा भएपछि हाकिमले समेत ती महिलालाई वास्ता गर्न छाडे। ती हाकिम सरुवा भएर गए, श्रीमानले छोडपत्र मागे। अहिले यसै विषयमा उनीहरूको मुद्दा चलिरहेको छ।


माथि उल्लेख गरिएका घटना केही उदाहरण मात्र हुन्। गर्भपतनका लागि मान्यता प्राप्त स्वास्थ्य संस्थामा नगई आफ्नै तरिकाले फामेर्सीबाट औषधि ल्याएर सेवन गर्दाको परिणाम हो यो। यी र यस्ता घटना हरेक स्थानमा छन्, जुन दिन प्रतिदिन बढिरहेका छन्। समाजमा धेरै समस्यासमेत पैदा गरेका छन्। सूचीकृत संस्थामा जाँदा कसैले देख्ला र थाहा पाउला भन्ने डरका कारण अधिकांश महिलाहरू घरदेखि केही पर रहेका नचिनेका पसलहरूमा गई औषधि ल्याएर खाने गरेकाले विभिन्न समस्या पैदा भइरहेका छन्।

नेपालमा गर्भपतनले कानुनी मान्यता पाएको करिब दुई दशक पूरा भयो। सरकारले सुरक्षित गर्भपतनसम्बन्धी राष्ट्रिय नीतिसमेत बनायो र ०७३ देखि सरकारी स्वास्थ्य संस्थाहरूले गर्भपतनका लागि निःशुल्क सेवासमेत दिँदै आएका छन्। त्यसपछि सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन जारीसँगै सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिकासमेत जारी गरेर  लागू गरेको छ। महिलाको मन्जुरीमा १२ हप्ता, जबर्जस्ती करणी र हाडनाता करणीको १८ हप्तासम्म गर्भपतन गर्न पाइने व्यवस्था कानुनले गरेको छ।

आपसी सहमतिमा गरिएको शारीरिक सम्पर्कपछि बसेको गर्भ, बच्चा नचाहने, छोराको आवश्यकता, परिवार नियोजनको साधन प्रयोग नगर्दा बसेको गर्भलगायतमा यसकै फाइदा उठाउँदै गर्भपतन गर्नेहरूको संख्या दिन प्रतिदिन बढिरहेको छ। उनीहरूमध्ये धेरैले असुरक्षित गर्भपतन गर्ने गरेका छन्। असुरक्षित गर्भपतनका कारण दिन प्रतिदिन जोखिम बढ्दो छ। किशोरी र महिला अज्ञानताका कारण असुरक्षित गर्भपतन गर्न बाध्य भइरहेका छन्, जसको प्रत्यक्ष असर मातृ मृत्युदरमा परिरहेको छ।

गर्भपतनका लागि सरकारले आवश्यक कानुन बनाए पनि मान्यता पाएकाभन्दा अन्य संस्थामा गएर गर्भपतन गराउनेको संख्या बढ्दो छ। औषधि पसलहरूमा समेत सरकारले स्वीकृति नदिएका औषधिहरू खुलमखुला बिक्री भइरहेका छन्। चिकित्सकको प्रत्यक्ष निगरानीमा प्रयोग गर्नुपर्ने औषधि मनलाग्दी बिक्री र प्रगोग भइरहेका छन्। यसको निगरानी न सरकरले गरेको छ, न त सरोकारवाला निकायले।

यस्तो छ गण्डकीमा सुरक्षित गर्भपतनको अवस्था
गण्डकी प्रदेशमा विगत पाँच आर्थिक वर्षमा सूचीकृत संस्थामा गएर गर्भपतन गराउनेहरूको संख्या लगभग स्थिर छ। प्रदेशका ११ जिल्लामा १४० को हाराहारीमा सूचीकृत संस्थाहरू छन्। ती संस्थाहरूबाट करिब ८० प्रतिशतले औषधि प्रयोग र २० प्रतिशतले सर्जिकल पद्धतिबाट गर्भपतन गराएकाे तथ्यांक छ।

आव ०७५/७६ मा सर्जिकल पद्धतिबाट चार हजार १५१ र औषधि प्रयोगबाट नौ हजार ८९६ गरी कुल १४ हजार ४७ जनाले गर्भपतन गराएका छन्। आव ०७६/७७ मा सर्जिकल पद्धतिबाट दुई हजार ७६८ र औषधि प्रयोगबाट नौ हजार ९२३ गरी १२ हजार ६९१ तथा आव ०७७/७८ मा सर्जिकल पद्धतिबाट एक हजार ९३९ र औषधि प्रयोगबाट नौ हजार ३८३ गरी ११ हजार ३२२ जनाले गर्भपतन गराएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको तथ्यांक छ।

यसैगरी, आव ०७८/७९ मा १२ हजार ४५० र ०७९/८० मा १२ हजार ७९४ जनाले गर्भपतन गराएका छन्। यसमध्ये सर्जिकल र औषधि प्रयोग गर्नेको संख्या क्रमशः पहिलो वर्षमा दुई हजार ६६४ र नौ हजार ७८६ तथा दोस्रो वर्षमा दुई हजार ७७० र १० हजार २४ छ। चालू वर्षको मंसिर मसान्तसम्म सर्जिकल पद्धतिबाट ८३१ र औषधि प्रयोगबाट तीन हजार ५८९ गरी कुल चार हजार ४२० जनाले सुरक्षित गर्भपतन गराएका छन्।

सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन गरेकाहरूमध्ये आर्व ०७५/७६ मा ७१४ जना, ०७६/७७ मा ३१३ जना, ०७७/७८ मा २२० जना, ०७८/७९ मा ५३ जना र ०७९/८० मा १४८ जनामा जटिलता देखिएको तथ्यांक छ।

यी तथ्यांक हेर्दा गर्भपतन गराउने २० वर्षमुनिको उमेर समूहको संख्या ११ देखि चार प्रतिशतसम्म रहेको छ। आव ०७५/७६ मा ११ प्रतिशत, ०७६/७७ मा सात प्रतिशत र ०७७/७८ मा ९.३ प्रतिशत २० वर्षमुनिका किशोरीले गर्भपतन गराएका छन्। यसैगरी, कुल संख्यामध्ये सो समूहका किशोरीले ०७८/७९ मा ६.४ प्रतिशत, ०७९/८० मा ४.६ प्रतिशत र चालू आर्थिक वर्षमा पाँच प्रतिशतले सूचीकृत संस्थाबाट गर्भपतन गराएका छन्।

गर्भपतनपछि परिवार नियोजनको साधन प्रयोग बढ्दो
गण्डकीमा गर्भपतनपछि लामो अवधिको परिवार नियोजनको साधन प्रयोग गर्नेहरूको संख्या बढ्दै गएको देखिन्छ। आव ०७५/७६ मा साधन प्रयोग गर्नेहरूको संख्या १४ प्रतिशत रहेकोमा त्यसपछि क्रमशः बढदै गएको छ।

आव ०७६/७७ मा १५ प्रतिशत, ०७७/७८ मा १७ प्रतिशत, ०७८/७९ मा २२.५० प्रतिशत र ०७९/८० मा २३.०३ प्रतिशतले गर्भपतनपछि लामो अवधिको परिवार नियोजनका साधनहरू प्रयोग गरेका स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ।

गर्भपतनका कारण– लिंग पहिचानदेखि विवाहेत्तर सम्बन्धसम्म
चिकित्सकका अनुसार आवश्यक परेर नै गर्भपतन गराउनेको संख्या निकै कम देखिन्छ। विगत १४ वर्षदेखि गर्भपतनका लागि सूचीकृत चिकित्सकको रूपमा काम गर्दै आएका पोखरास्थित मेरी प्रजनन स्वास्थ्य सेवा केन्द्रमा कार्यरत डा. मुकेश मल्लिकका अनुसार विशेष गरी लिंग पहिचान गरेर, सन्तान नचाहेका, अविवाहित, श्रीमान् विदेशमा भएकाहरू गर्भपतनका लागि बढी आउने गरेका छन्।

सूचीकृत नभएका स्वास्थ्य संस्थामा गएर आफ्नै हिसाबले औषधि किनेर खानेहरूको स्वास्थ्यमा धेरै समस्या आएको आफूले पाएको भन्दै डा. मल्लिकले एक-दुईपटक फामेर्सीबाट किनेर खाएको औषधिले काम नगरेपछि र स्वास्थ्यमा समस्या देखिएपछि मात्र सूचीकृत संस्थामा आउने गरेकाे धेरै भेटेको सुनाए। त्यसरी आउनेहरूमा धेरै समस्या रहने गरेको र कतिपयको समस्या समाधान गर्न नसकिने खालको हुने जानकारी दिँदै उनले अत्यधिक रक्तस्राव र पाठेघर संक्रमणलगायतको समस्या धेरैमा देखिएको बताए।

डा. मल्लिकका अनुसार धेरै बच्चा पाएकाहरूको पाठेघरको भित्री भाग पातलो हुने भएकाले गर्भपतन गर्दा स्वास्थ्यमा समस्या आउन सक्छ। हप्तामा दुई-तीनपटक औषधि खाएकाहरूमा र पहिलोपटक अप्रेसन गरी बच्चा जन्माएकाहरूले पछि गर्भपतन गर्दा समस्या हुने गरेको छ। केहीले आफ्नो विगत लुकाउन खोज्ने भएकाले पनि सही उपचार गर्न नसकिने भएकाले पछि समस्या आउने गरेको उनले सुनाए।

उचित समयमा उचित तरिकाले औषधि प्रयोग गर्न नजान्दा स्वास्थ्यमा समस्या आउने गरेको उनको भनाइ छ। ‘दिएको औषधि सही तरिकाले प्रयोग गर्ने हो भने त्यसले समस्या पार्दैन। तर, जथाभावी बेच्दा र खाँदा त्यसले नकारात्मक असर पारेको छ,’ उनले भने। औषधि बेच्ने अनुमति पाएका फार्मेसीले समेत चिकित्सकको प्रेस्क्रिप्सनविना बेच्न नपाउने भए पनि नियम पालना नभएकाले धेरै समस्या आएको डा. मल्लिकको भनाइ छ।

सूचीकृत संस्थाबाहेकमा गर्भपतन गर्नेको संख्या धेरै, हुँदैन अनुगमन
चिकित्सकको ‘प्रेस्क्रिप्सन’विना गर्भपतनका औषधि बेच्च पाइँदैन। तर, बजारमा रहेका ९० प्रतिशत बढी फार्मेसीले खुलमखुला विना‘प्रेस्क्रिप्सन’ सहजै बेचिरहेका छन्। औषधि पसलसँगै अनुमति नलिई फार्मेसी, निजी क्लिनिक र अस्पतालमा गर्भपतन गर्नु कानुनविपरीत मानिन्छ। तर, सूचीकृत संस्थाभन्दा बाहिर गर्भपतन गर्नेहरूको संख्या पाँच- ६ गुणा बढिरहेको अनुमान छ।

गण्डकीमा सरदर वार्षिक १२ हजारले सूचीकृत संस्थामा गएर गर्भपतन गर्ने गरेकोमा बाहिर गएर गर्नेको संख्या ५० हजारभन्दा माथि रहेको अनुमान छ। सरोकारवाला निकायले यसको अनुमगन गरी कारबाही गर्नुपर्ने हो। तर, न अनुगमन हुन्छ न कारबाही। अनुमति नलिएका स्वास्थ्य संस्थाहरूले गर्भपतनका लागि आउने बिरामी, उसको अवस्था हेरी ढेड दुई लाखसम्म लिने गरेकाे बताइन्छ। उनीहरूले न औषधि प्रयोग गर्ने तरिका सिकाउँछन्, न त्यसको प्रभावबारे नै बुझाउँछन्। 

नेपालमा कुल मातृ मृत्युमध्ये पाँच प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनको कारणले हुने गरेको छ। कुल मातृ मृत्युको २० प्रतिशत मृत्यु गर्भपतनसम्बन्धी जटिलताको कारणले हुने गरेको तथ्यांक रहेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशकी अस्पताल नर्सिङ प्रशासक अन्जु पौडेल असुरक्षित गर्भपतनका विषयमा आवश्यक अनुगमन नभएको स्वीकार गर्छिन्। ‘अनुमति नलिएका निजी क्लिनिक, अस्पताल र अन्य स्वास्थ्य संस्थाहरूमा गर्भपतनको लागि कोही आए आफूहरूले सूचीकृत संस्थामा रिफर गर्ने गरेको जवाफ दिन्छन्। बाहिर भने सूचीकृत नभएका संस्थाहरूमा बढी गर्भपतन गराइने गरेको सुनिन्छ, तर ठोस प्रमाण पाइँदैन, अनि कसरी कारबाही गर्ने?’ उनको प्रश्न छ, ‘औषधि पसलहरूमा अनुगमनमा जाँदासमेत गर्भपतनका औषधिहरू भेटिँदैनन्, अनि के गर्ने?’

तोकिएकै स्थानबाट सुरक्षित गर्भपतन गराउनेको यकिन तथ्यांक आए पनि असुरक्षित रूपमा गर्ने गराउनेहरू त्योभन्दा धेरै रहेको जानकारी दिँदै उनले त्यो संख्या चार–पाँच गुणासम्म हुन सक्ने बताइन्।

नेपालमा कानुनले तोकेको अवस्थाबाहेक गर्भपतन गर्ने वा गराउनेलाई १ वर्षदेखि ६ वर्षसम्म कैद र १० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ। तर, सरोकारवाला निकायले अनुगमन नगर्दा महिला तथा किशोरीहरूको स्वास्थ्य र ज्यान नै जोखिममा पर्ने गरेको छ।

ad
ad