१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
पवन बराइली काठमाडाैं
२o८१ जेठ १ मंगलबार o६:२९:oo
Read Time : > 8 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

विश्व मञ्चमा पहुँच बढाउँदै नेपाली सिनेमा 

Read Time : > 8 मिनेट
पवन बराइली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:२९:oo

०५२ मा नवीन सुब्बाको ‘खाङ्ग्री’ इटालीको ट्रिन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भएयता दर्जनौँ नेपाली सर्ट र फिचर फिल्मले अन्तर्राष्ट्रिय फेस्टिभलमा उपस्थिति जनाइसकेका छन् । पछिल्लोपटक मीन भाम निर्देशित फिल्म ‘साम्बाला’ विश्वचर्चित ‘बर्लिन फिल्म फेस्टिभल’मा मुख्य प्रतिस्पर्धाका लागि छनोट भएको छ ।

- ०५० कै दशकमा विश्व मञ्चमा पुगेका थिए नेपाली फिल्म
- सर्ट फिल्मको छलाङ 
- वृत्तचित्र पनि अन्तर्राष्ट्रिय मञ्चमा 

पछिल्लो एक–डेढ दशकयता विश्वचर्चित फिल्म फेस्टिभलमा नेपाली चलचित्रको उपस्थिति नियमितजसो हुन थालेको छ । जुन–जुन चलचित्र छनोट भएर विश्वमञ्चमा प्रदर्शन भएका छन्, तिनले राम्रो प्रशंसा पाउन सफल पनि भएका छन् । कान्स, बर्लिन, टोरन्टो, बुसान, भेनिस, लुकार्नो, रोट्रेड्याम, ढाका, मुम्बई फिल्म फेस्टिभल (मामी), सनडान्सलगायतका फिल्म फेस्टिभलमा नेपाली सर्ट र फिचर फिल्मको उपस्थिति बाक्लै देखिन थालेको छ ।

पछिल्लोपटक मीन भाम निर्देशित फिल्म ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलमा मुख्य प्रतिस्पर्धाका लागि छनोट भएको छ । दक्षिण एसियाबाट एक दशकयता कुनै पनि फिल्म मुख्य प्रतिस्पर्धामा छनोट हुन नसक्दाको रिक्तता यसले मेटेको छ । नेपालका हकमा बर्लिनमा मुख्य प्रतिस्पर्धामा छनोट हुने यही नै पहिलो फिल्म हो । डोल्पाको हिमाली भेगमा छायांकन गरिएको ‘साम्बाला’ले श्रीमान् खोज्न हिँडेकी एक गर्भवती महिलाको कथा बताउँछ । यही वर्ष बर्लिनमै सौरभ घिमिरे निर्देशित सर्ट फिल्म ‘संग्स अफ लभ एन्ड हेट’ पनि प्रदर्शन हुँदै छ ।

हालै मात्र क्यानडाको ‘टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ प्रिमियर भएको थियो । विश्वचर्चित निर्देशक, निर्माता र कलाकार सहभागी फेस्टिभलमा नेपालबाट निर्देशक सुब्बा, अभिनेता दयाहाङ राई, पशुपति राई, निर्माता अमोद राईलगायत सहभागी भएका थिए । विगतमा दयाहाङ अभिनीत ‘हाइवे’ बर्लिन र ‘सेतो सूर्य’ भेनिस फिल्म फेस्टिभलमा प्रदर्शन भएका थिए । दुवै फिल्म दीपक रौनियारले निर्देशन गरेका हुन् ।

यसै वर्ष दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘गाउँ आएको बाटो’ र निरञ्जनराज भेटवालले निर्देशन गरेको छोटो चलचित्र ‘साक्षी रुख’ देखाइयो । ‘साक्षी रुख’ नेदरल्यान्डको रोट्रेड्याम अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र फ्रान्सको ‘क्लेर्माेन्ट फेर्रान्ड इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल’मा पनि छानिएको थियो । त्यस्तै, विश्व प्रतिष्ठित मानिने इटालीको ‘भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘द रेड सुटकेस’ यसै वर्ष प्रिमियर भयो । फिल्म निर्देशक फिडेल देवकोटा, निर्माता रामकृष्ण पोखरेल, कलाकार सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठलगायत फेस्टिभलमा सहभागी थिए । 

मुम्बई फिल्म फेस्टिभल (मामी)मा यो वर्ष ‘गाउँ आएको बाटो’ र ‘द रेड सुटकेस’सहित फिचर तथा छोटो विधातर्फ गरेर पाँचवटा चलचित्र छनोट भए । आयारुस पौडेलको ‘हेलेना र विन्ड हर्स’, सौरभ राई निर्देशित ‘गुराँस’ र विदुषी गिरीको ‘चिसो घर’ पनि फेस्टिभलमा प्रदर्शन गरिएका थिए । 

सन् २०२२ मा बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा दुई नेपाली सर्ट फिल्म प्रदर्शन भए । दीपक रौनियार निर्देशित ‘फोर नाइट्स’ र सूर्य शाही निर्देशित ‘ह्विल अन द बस’ले राम्रै प्रशंसा पाएको थियो । ‘फोर नाइट्स’ सर्ट फिल्मअन्तर्गतको मुख्य प्रतिस्पर्धामा र ‘जेनेरेसन के प्लस’अन्तर्गतको प्रतिस्पर्धामा ‘ह्विल अन द बस’ प्रदर्शन भएको हो । सन् २०२२ मा नै नेदरल्यान्डको रोट्रेड्याम अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा निरञ्जनराज भेटवालको सर्ट फिल्म ‘अन्हद’ र सुनील पाण्डेको ‘बाघथान’ प्रदर्शनका लागि छनोट भएका थिए । 

सन् २०२२ मा बंगलादेशको ढाकामा आयोजित ‘ढाका इन्टरनेसनल फिल्म फेस्टिभल’मा दुई नेपाली सिनेमाले अवार्ड नै हात पारेका थिए । फिचर फिल्म ‘ऐना झ्यालको पुतली’का लागि सुजित बिडारीले उत्कृष्ट निर्देशक र सर्ट फिल्म ‘पुतलीको सपना’का लागि किरण पोखरेलले उत्कृष्ट स्क्रिप्ट अवार्ड पाएका थिए । 

कान्सलाई प्रतिष्ठित र संसारकै ठूलोमध्येको फिल्म फेस्टिभलको रूपमा लिइन्छ । सन् २०२२ मा मात्रै अविनाशविक्रम शाहको सर्ट फिल्म ‘लोरी’ले फेस्टिभलमा सर्ट फिल्म विधातर्फ ‘स्पेसल मेन्सन’ अवार्ड जित्यो । कान्समा आधिकारिक रूपमा छानिएको ‘लोरी’ पहिलो फिल्म हो ।

सन् २०१७ मा सनडान्स फिल्म फेस्टिभलमा पूजा गुरुङ र विभूषण बस्नेतको निर्देशनमा बनेको सर्ट फिल्म ‘दद्या’बाट चिन्तनराज भण्डारीले ‘स्पेसल जुरी अवार्ड फर सिनेमाटोग्राफी’ अवार्ड जिते । सनडान्समै अंकित पौडेलको सर्ट फिल्म ‘सङ अफ क्लाउड्स’ प्रदर्शन भएको थियो । सन् २०१९ मा ‘टोरन्टो फिल्म फेस्टिभल’मा राजन कठेत निर्देशित सर्ट फिल्म ‘बेयर ट्रिज इन द मिस्ट’ प्रिमियर भयो । सन् २०१८ मा राजेशप्रसाद खत्री निर्देशित सर्ट फिल्म ‘जालगेडी’ले बर्लिन फेस्टिभलमा उत्कृष्ट सर्ट फिल्मको अवार्ड जित्यो । 

पचासकै दशकमा विश्व मञ्चमा पुगेका थिए नेपाली फिल्म
शेर्पा समुदायको कथामा आधारित ‘खाङ्ग्री’ अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने पहिलो नेपाली चलचित्र मानिन्छ । नवीन सुब्बा निर्देशित चलचित्र ०५२ मा इटालीको ट्रिन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भएको थियो । ०५९ मा छिरिङरितार शेर्पा निर्देशित ‘मुकुन्डो’ सनफ्रान्सिस्को, फ्रिबर्ग, फुकुओका, गोटेबर्गलगायत झन्डै २५ भन्दा बढी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भएको थियो । ‘मुकुन्डो’ ओस्कर अवार्डको ७३औँ संस्करणमा उत्कृष्ट विदेशी भाषी फिल्मका लागि नेपालबाट दर्ता पनि भएको थियो ।

०६० मा नवीन सुब्बाको चलचित्र ‘नुमाफुङ’ पनि अन्तर्राष्ट्रिय फेस्टिभलमा प्रदर्शनका लागि छानिएको थियो । यो फिल्म जापानको फुकुओका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर गरिएको थियो । त्यति वेला ‘नुमाफुङ’ सिंगापुर, फ्रिबर्गलगायत २० भन्दा बढी अन्तर्राष्ट्रिय फेस्टिभलमा प्रदर्शन भएको थियो । यो चलचित्रले बंगलादेश इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट रनरअप र फ्रान्सको भिजुअल फिल्म फेस्टिभलमा पब्लिक च्वाइस अवार्ड जितेको थियो । 

०७० मा सुवर्ण थापा निर्देशित ‘सुनगाभा’ फ्रान्सको योङ डाइरेक्टर फिल्म फेस्टिभल प्रदर्शनका लागि छानिएको थियो । यो चलचित्र हम्बर्ग, प्लाप स्प्रिङ, मुम्बई, चेन्नई, सेटर साउथ एसियन फेस्टिभलमा पनि प्रदर्शन भएको थियो । ०७० मै दीपक रौनियार निर्देशित ‘हाइवे’ बर्लिन फेस्टिभलमा छानियो ।

‘हाइवे’ले नेपाली सिनेमालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याइदिएको निर्माता नवनिधि दाहाल बताउँछन् । ‘यसपछि नै नेपाली चलचित्रले अन्तर्राष्ट्रिय प्लेटफर्ममा प्रवेश पाउन थालेको देखिन्छ । संसारमा विभिन्न खालको फिल्म फेस्टिभल हुँदो रहेछ भन्ने नेपाली फिल्ममेकरलाई थाहा हुन थाल्यो । बिस्तारै विश्व सिनेमामा पहुँच बढ्दै गयो । त्यसपछि नेपाली सर्ट फिल्म, डकुमेन्ट्री, फिचर पनि जान थाल्यो,’ उनले भने । 

सन् २०१३ मा यादव भट्टराई निर्देशित ‘झोला’ चलचित्रबाट सार्क फिल्म फेस्टिभलमा गरिमा पन्तले उत्कृष्ट अभिनेतृको अवार्ड जितिन् । सोही वर्ष जोयस पाण्डे निर्देशित ‘साँघुरो’ले सार्क फेस्टिभलमा सिल्भर अवार्ड जितेको थियो ।

सन् २०१५ मा मीनबहादुर भाम निर्देशित ‘कालो पोथी’ले ‘भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा क्रिटिक्स अवार्ड जित्यो । ‘कालो पोथी’ युरोप, जापान, अमेरिका, दक्षिण कोरियालगायत देशका दर्जनौँ फिल्म फेस्टिभलमा प्रदर्शन भयो । सन् २०१६ मा दीपक रौनियार निर्देशित ‘सेतो सूर्य’ ‘भेनिस’, ‘टोरन्टो’, ‘लोर्कानो’, ‘सिंगापुर’, ‘बुसान’लगायत फेस्टिभलमा प्रदर्शन भयो । ‘सेतो सूर्य’ ‘भेनिस’मा इन्टरफिल्म अवार्ड, ‘टोरन्टो’मा पिपुल्स च्वाइस अवार्डमा मनोनयन भयो । यसले ‘प्लाम स्प्रिङ अन्तर्राष्ट्रिय फेस्टिभल’मा न्यू भिजन ग्रान्ड जुरी पुरस्कारसमेत जितेको थियो । 

सन् २०१६ मा नरेशकुमार केसीको ‘डाइङ क्यान्डल’ले अमेरिकाको क्युन्स वर्ल्ड फिल्म फेस्टिभल अवार्ड जितेको थियो । सन् २०१८ मा विनोदकुमार पौडेलको ‘बुलबुल’बाट स्वस्तिमा खड्काले सार्क फेस्टिभलमा अभिनेतृतर्फको उत्कृष्ट जुरी अवार्ड जितेकी थिइन् ।

‘कालो पोथी र सेतो सूर्यले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली चलचित्रका लागि आधार बनाइदिए । त्यसपछि अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल लक्षित वर्षमा ६/७ वटा छोटा नेपाली चलचित्र बन्ने स्थिति बन्यो । त्यसपछिका वर्षमा अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा नेपाली चलचित्रहरू सहभागी हुने क्रमले अझ गति लिन थाल्यो,’ निर्देशक राजन कठेत भन्छन् ।

सर्ट फिल्मको छलाङ 
सन् २००७ मा सुवर्ण थापाले बनाएको ‘मलामी’ विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शनका लागि छानिएको थियो । यो चलचित्र फ्रान्स सरकारको पूर्ण लगानीमा बनेको थियो । ‘मलामी’पछि नेपालमा छोटो चलचित्र बनाउने क्रम बढेकोे निर्देशक थापाको अनुभव छ । ‘मैले फ्रान्सको सहयोगमा मलामी बनाएँ । त्यसपछि बिस्तारै नेपालमा पनि सर्ट फिल्म बन्न थाले । नेपाली कथावाचनको शैली, क्राफ्ट र नेपाली जनजीवनको विषय मलामीले उठाएको थियो,’ उनले भने । 

विनोद पौडेलको ‘अवेकन आइज’, मीन भामको ‘बाँसुल्ली’, दीपक रौनियारको ‘थ्रेसहोल्ड’, अविनाशविक्रम शाहको ‘म खुसी छु’, पूजा गुरुङ र विभूषण बस्नेतको ‘द कन्टाजियस अपरिसन्स अफ डम्बरे डेन्ड्राइट’ र ‘दद्या’लगायतका छोटा चलचित्र विदेशी फिल्म फेस्टिभलमा खुबै मन पराइयो । अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन हुनेमा मनोजबाबु पन्तको ‘अवशेष’, अविनाशविक्रमको ‘तात्तिनी’, निरञ्जनराज भेटवालको ‘काफल पाक्यो’, सुनील पाण्डेको ‘अनन्त यात्रा’, केदार श्रेष्ठको ‘जुनुको जुत्ता’, प्रवीणकुमार रावतको ‘कलम’, मिङ्सो लिम्बूको ‘जुन्को’, सन्तोष दाहालको ‘मृगतृष्णा’, गोपाल आचार्यको ‘आखात’लगायतको लामो सूची छ ।

विशेषतः युवा पुस्ताले बनाएका सर्ट फिल्मले अन्तर्राष्ट्रिय फेस्टिभलमा फिचर फिल्मका लागि बाटो खोल्ने गरेको निर्देशक सुवर्ण थापाको भनाइ छ । ‘संसारका प्रख्यात निर्देशकहरूले पहिले सर्ट फिल्म बनाएर फिचर बनाएका छन् । सर्ट फिल्म फिल्ममेकरको पहिचान हो । जसले फिचर फिल्मका लागि बाटो खोल्छ,’ उनी भन्छन्, ‘फिल्म फेस्टिभलमा छनोट हुनु ‘एक्सपोजर’ पाउनु हो । विदेशी फेस्टिभलमा भनेकै सम्बन्ध विस्तार पनि हो । फेस्टिभलले फिचर फिल्मका लागि लगानी जुटाउने बाटो पनि खुल्छ ।’ 

वृत्तचित्र पनि अन्तर्राष्ट्रिय मञ्चमा 
राजन कठेत र सुनिर पाण्डेको निर्देशन रहेको वृत्तचित्र ‘नो विन्टर होलिडेज्’ बेलायतको सेफिल्ड डकफेस्टमा वर्ल्ड प्रिमियर भएको थियो । यो वृत्तचित्र दक्षिण कोरियाको डिएमजेड इन्टरनेसनल डकुमेन्ट्री फिल्म फेस्टिभलमा पनि प्रदर्शन भएको थियो । जलवायु परिवर्तन र बुढेसकालमा महिलाको एक्लोपनको विषयमा आधारित यो वृत्तचित्रले अजरबैजानको डोकुबाकु इन्टरनेसनल डकुमेन्ट्री फिल्म फेस्टिभलमा स्पेसल मेन्सन अवार्डसमेत जितेको थियो । 

नेपाली वृत्तचित्र युरोप, अमेरिका, बेलायतलगायतका देशका फिल्म फेस्टिभलमा प्रदर्शनका लागि छनोट भइसकेका छन् । सन् १९९७ मा छिरिङरितार शेर्पा निर्देशित ‘द स्पिरिट डजन्ट कम एनी मोर’ अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने पहिलो वृत्तचित्र मानिन्छ । यो वृत्तचित्र दक्षिण एसियाली वृत्तचित्र महोत्सवमा उत्कृष्ट भएको थियो । यो अमेरिका, जर्मनी, फ्रान्स, हङकङ, जापानलगायतका फिल्म फेस्टिभलमा पनि प्रदर्शन भइसकेको छ । 

केसाङ छेतेन निर्देशित ‘हु विल बी गोर्खा’, ‘मच्छिन्द्रनाथ : अन द रोड विथ द रेड गड’ र डोरबहादुर विष्टबारे ‘कास्टावे म्यान’, ‘द डेजर्ट इट अस’लगायत वृत्तचित्रले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा चर्चा बटुलेका थिए । 

प्रणय लिम्बू निर्देशित ‘फरगिभ  फर्गेट नट’, श्रीलंकाको न्यु वेभ फिल्म फेस्टिभलमा प्रदर्शन भएको थियो । एमी बेनसन र रम्यता लिम्बूको ‘ड्रइङ द टाइगर’ले विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा प्रतिनिधित्व गरेका थिए । रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका आप्रवासी कामदारको कथामा आधारित अशोक थापा निर्देशित ‘द कोरियन ड्रिम’ले अल जजिरा इन्टरनेसनल डकुमेन्ट्री फेस्टिभल, बग्दाद इन्टरनेसनल फिल्म फेस्टिभललगायतमा अवार्ड जितेको थियो । भोजराज भाटको ‘सुनकली’, दीपेन्द्र भण्डारीको ‘यार्साको यात्रा’लगायत वृत्तचित्रले विश्व मञ्चमा राम्रै छाप छाडेका छन् ।

पछिल्लो समय समाजमा बहस छेड्ने खालको वृत्तचित्र निर्माण हुन नसकेको निर्देशक प्रणय लिम्बू बताउँछन् । वृत्तचित्र निर्माणमा युवापुस्ताको आगमन भए पनि गुणस्तरीय डकुमेन्ट्री नबनेको उनको बुझाइ छ । ‘हामीले विदेशी फेस्टिभलका लागि मात्रै वृत्तचित्र बनाइरहेका छौँ । यसकारण गुणस्तरीय वृत्तचित्र बन्न सकिरहेको छैन । ‘फरगिभ फर्गेट नट’, ‘हु विल बि अ गोर्खाली, ‘द कोरियन ड्रिम’जस्ता डकुमेन्ट्रीले समाजमा बहस नै सिर्जना गरेका थिए । अहिले त्यस्ता डकुमेन्ट्री बनेकै छैनन्,’ उनले भने । 

लिम्बू विदेशीहरूले खोजेको विषयमा मात्रै डकुमेन्ट्री बनाइरहेको बताउँछन् । ‘अहिलेका डकुमेन्ट्रीले अग्ला हिमाल, भेडा, चौँरीगोठ र हिमालआसपासका गाउँ मात्रै देखाइरहेका छन्,’ उनी भन्छन्, ‘फेस्टिभल वृत्तचित्रका लागि महत्वपूर्ण प्लेटफर्म हो । यसलाई हलमा देखाउन सम्भव हुँदैन । तर, फेस्टिभललाई त्यसको सफलताको कसी बनाउनुहुँदैन ।’

फिल्ममा प्यासन छ, प्रोत्साहन छैन
निर्माता रामकृष्ण पोखरेल अन्तर्राष्ट्रिय फेस्टिभलमा नेपाली सिनेमा छनोट हुनुलाई सकारात्मक मान्छन् । तर, नेपाली चलचित्रको बाक्लो उपस्थिति जनाउन एकाध निर्माता/निर्देशकले चाहेर मात्रै नहुने उनको भनाइ छ । ‘निरन्तरता दिन सकिन्छ कि सकिँदैन भन्ने मुख्य चुनौती हो । व्यक्तिले बनाएका फिल्महरू मात्रै विदेशी फिल्म फेस्टिभलमा गइरहेका छन् । 

एक–दुईजनाले फिल्म बनाएर कहिलेसम्म विदेश लैजाने ? यस्ता फिल्मका लागि राज्यको कुनै सहयोग छैन । निर्माताले आफ्नो सम्पत्ति बेचेर फिल्म बनाइरहेका छन्,’ उनी प्रश्न गर्छन्, ‘नेपाली फिल्मले विश्वका विभिन्न अन्तर्राष्ट्रिय प्लेटफर्ममा प्रतिस्पर्धा गरिरहेका छन् । तर, राज्यले कुनै चासो दिइरहेको छैन । व्यक्तिगत रूपमा कहिलेसम्म गर्न सकिन्छ ?’

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न समिति बनाएर काम गरिरहेको बताए । ‘हामीले नेपाली चलचित्रलाई व्यापक रूपमा अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने विभिन्न कार्यक्रम अगाडि सारेका छौँ । हाम्रो लक्ष्य भनेकै नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण हो । विगतमा पनि केही सकारात्मक प्रयास भएका थिए । हामीले नयाँ बन्ने नीति तथा कार्यक्रममै यसबारे अलग्गै बजेट माग गरेका छौँ । चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा लैजाँदा देश विकासमा महत्वपूर्ण योगदान हुन्छ भन्ने महसुस सरकारले गरेको छ । बोर्डले अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रको प्रवर्द्धन गर्न एक समिति नै बनाएर काम गरिरहेको छ,’ उनले भने । 

नेपाली सिनेमाको बजार फराकिलो हुँदै गएको छ : नवीन सुब्बा, निर्देशक
अहिले वर्षमा दुई–तीनवटा नेपाली सर्ट फिल्म विदेशका फिल्म फेस्टिभलमा जान थालेका छन् । कान्स, बर्लिन, बुसानजस्ता फिल्म फेस्टिभलहरूले संसारका नयाँ ट्यालेन्टलाई ‘ग्रुम’ गरिरहेको छ । फेस्टिभलहरूले नेपाली कलाकारलाई छात्रवृत्ति प्रदान गर्ने र ल्याबमा बोलाउने गर्न थालेका छन् ।

यसले फिल्ममेकरहरूको एक्सपोजर बढिरहेको छ । ठूला फिल्म फेस्टिभलमा नेपाली फिल्म जान थालेको छ । यसले नयाँ फिल्ममा लगानी जुटाउने माध्यम पनि बनेको छ । नेपालले सीमित स्रोतसाधनका बाबजुद फिल्ममा प्रभावकारी काम गरिरहेको भन्ने साउथ एसियामा बुझाइ छ । भारतले भन्दा पनि नेपालले राम्रो काम गरिरहेको छ भन्ने सन्देश गएको छ ।

तर, विश्वबजारमा जसरी हाम्रो फिल्म बिक्नुपर्ने हो, त्यो भने हुन सकेको छैन । नेपालमा पनि राम्रो फिल्म बन्छ भन्ने संसारका वितरक र सेल्स एजेन्टले थाहा पाइसकेका छन् । तर, दर्शकको स्तरमा अझै पुगेको छैन । यसका लागि नेपाली फिल्म अन्तर्राष्ट्रिय फेस्टिभलमा जाँदा ‘एकेडेमिक डिस्कोर्स’ हुनुपर्ने देखिन्छ । 
विश्व सिनेमामाझ नेपाल १० वर्षअघिको इरान हुँदै छ : मीनबहादुर भाम, निर्देशक
नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउनु चुनौती छ । यसमा राज्यको भूमिका र संलग्नता शून्य छ । हामीले आफ्नो ठाउँबाट गरिरहेकै छौँ । राज्यले पनि थोरै भए पनि अपनत्व लिनुपर्छ । राज्य सहभागी हुँदा देशको अपनत्व हुन्छ । नेपाली सिनेमा विश्वप्रसिद्ध फेस्टिभलमा पुग्दा विकास बोर्डलाई उत्सुकता नै छैन ।

यस्तो वेला राज्य छ कि छैन भन्ने महसुस हुँदोरहेछ । यद्यपि, अहिले संसारमा नेपाली सिनेमालाई हेर्ने दृष्टिकोण बदलिएको छ । विश्व सिनेमाले एसियाबाट भियतनाम र नेपालका कथामा आँखा गाडिरहेको छ । विश्व सिनेमामाझ नेपाल १० वर्षअघिको इरान हुँदै छ । म आशावादी छु । एसियन फिल्ममा नेपालले नयाँ छाल ल्याउँदै छ । 

स्थानीय मौलिक कथा र प्रस्तुत गर्ने शैली फरक हुनुपर्छ : अविनाशविक्रम शाह, निर्देशक तथा पटकथाकार 
संसारभर हजारौँ फिल्म बनिरहेका छन् । उनीहरूले नयाँ–नयाँ तरिकाबाट फिल्म बनाइरहेका हुन्छन् । उनीहरूको कथा भन्ने शैली नवीन हुन्छ । हाम्रो भाषा र संस्कृति फरक होला, तर भावना त एउटै हुन्छ ।

त्यसैले उनीहरूले कसरी कथा भनिरहेका छन्, कस्तो शैली अपनाएका छन् भन्नेबारे पनि जानकार हुनुपर्छ । स्थानीय मौलिक कथा र प्रस्तुत गर्ने शैली फरक हुनुपर्छ । अनि मात्रै हाम्रो सिनेमाले अन्तर्राष्ट्रिय मञ्चमा दरिलो उपस्थिति जनाउन सक्छ । हाम्रो सिनेमा फिल्म फेस्टिभलमा गएर मात्रै पुग्दैन । मुख्य कुरा फेस्टिभलमा गएर हाम्रो फिल्म बिक्नुपर्छ । त्यहाँसम्म हामी अझै पुगेका छैनौँ ।

ad
ad