१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o९:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

‘उत्पादनमा लगानी गरे आर्थिक विकासमा थप योगदान’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o९:o३:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा थप योगदान गर्नुुपर्ने बताएका छन् । मन्त्री डा. महतले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५९औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा गत वर्षभन्दा यो वर्ष अर्थतन्त्र राम्रो भइसकेको बताउँदै सीमित साधन–स्रोतबाट बढीभन्दा बढी प्रतिफल प्राप्त गर्ने दिशामा लाग्नुपर्ने हुनाले उत्पादनमूलक क्षेत्रमा लगानी हुनुपर्ने बताएका हुन् । 

सरकारले बैंकको सुधारका लागि उदार भएर कार्य गर्ने गरेको दाबी गर्दै मन्त्री महतले यसमा राष्ट्रिय वाणिज्य बैंक पनि राम्रो अवस्थामा रहेको उनको भनाइ थियो । कार्यक्रममा उनले बैंकको थापाथली शाखाको नवनिर्मित भवनको उद्घाटन पनि गरे । त्यस्तै, बैंकले प्रकाशन गरेको विशेषांक स्मारिका उपहार–२०८० पनि विमोचन गरेको जनाएको छ । कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रम, उत्कृष्ट शाखा कार्यालय, उत्कृष्ट बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधार हुँदै गएको बताउँदै अर्थतन्त्रमा राष्ट्रिय वाणिज्य बैंकको महत्वपूर्ण योगदान हुने गरेको बताए । राष्ट्र बैंकले लिने नीति समग्र अर्थतन्त्रको विकासका लागि हुने र राष्ट्र बैंकले ल्याउने नीति अग्रणी रूपमा राष्ट्रिय वाणिज्य बैंकले कार्यान्वयन गर्ने गरेको उनको भनाइ थियो । 

बैंकका अध्यक्ष दिलीपकुमार ढुंगानाले बैंकिङ क्षेत्रमा बढ्दै गएको प्रतिस्पर्धात्मक वातावरण तथा तीव्र रूपमा ग्राहकका आकांक्षा परिवर्तन भइरहेको सन्दर्भमा ठूला उद्यमी तथा साना व्यवसायीदेखि सबै प्रकारका ग्राहकका आकांक्षालाई सम्बोधन गर्ने कोसिस भइरहेको बताए । बैंकिङ सेवा–सुविधामा गुणस्तरीयता अभिवृद्धि गर्दै अझ बढी विश्वसनीय, सुरक्षित, प्रविधियुक्त तथा ग्राहकमैत्री बनाउन प्राथमिकताका साथ कार्य गरिरहेको उनको भनाइ थियो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आफ्ना सम्पूर्ण स्रोतको उच्चतम उपयोग गरी समग्र उत्पादकत्वमा वृद्धि गर्न आवश्यक कदम चालेको बताए । बैंकका ग्राहकहरूलाई पनि गुणस्तरीय सेवा प्रदान गर्न बजारको मागअनुसारको सम्पूर्ण सेवा तथा सुविधा उपलब्ध गराउँदै आएको उनको भनाइ थियो । 

बैंकले प्रविधिको स्तरोन्नतिका लागि आइटी इन्ह्यान्समेन्ट रोडम्यापलाई अगाडि बढाएको उनले बताए । यो परियोजना हाल बैंकमा प्रयोगमा रहेको कोर बैंकिङ सफ्टवेयरलाई प्रतिस्थापन गरी अत्याधुनिक कोर बैंकिङ सिस्टम खरिद गरी कार्यान्वयनमा ल्याउने प्रक्रियामा रहेको उनले जानकारी दिए । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सरकारी पाराको आरोपलाई हदैसम्म हटाई बैंकलाई हरेक पक्षबाट सुदृढ, सबल र ग्राहकमैत्री बनाउने योजना रहेको बताए ।
 

ad
ad