१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार २३:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गोदावरी नगरपालिकाको एउटै भवन दुईपटक उद्घाटन

पहिले उद्घाटन भइसकेको भवन फेरि उद्घाटन गरेर मेयरले गैरराजनीतिक चरित्र देखाएको एमाले आरोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २३:५o:oo

कैलालीको गोदावरी नगरपालिकाको एउटै भवन दुईपटक उद्घाटन गरिएको छ । नगर प्रमुख वीरेन्द्र भट्टले नगरपालिकाको प्रशासनिक भवनको बिहीबार उद्घाटन गरे । जुन भवन करिब दुई वर्षअघि तत्कालीन नगर प्रमुख हरिसिंह साउदले उद्घाटन गरेका थिए । 

भवन पुनः उद्घाटनको विषयलाई लिएर स्थानीय स्तरमा कांग्रेस र एमालेबीच विवाद चर्किएको छ । विवादका कारण असहज परिस्थिति उत्पन्न भएपछि कडा सुरक्षाबीच मेयर भट्टले भवन उद्घाटन गरेका हुन् ।

गत स्थानीय तह निर्वाचनको आचारसंहिता जारी हुनु केही दिनअघि तत्कालीन नगर प्रमुख साउदले निर्माण सम्पन्न नहुँदै प्रशासनिक भवनको उद्घाटन गरेका थिए । ०७९ वैशाखमा स्थानीय तह निर्वाचन हुँदै थियो । 

एमालेबाट नगर प्रमुखमा दोहोरिन खोजेका साउदले भवन निर्माण गरेको ‘जस’ लिन निर्वाचन आचारसंहिता जारी हुनुअघि चैत दोस्रो साता निर्माणाधीन भवन उद्घाटन गरे । 

निर्माण कार्य पूरा नभएपछि उद्घाटन भएको करिब एक वर्षसम्म नगरपालिका कार्यालय भाडाको घरबाट नयाँ भवनमा सर्न सकेन । भवन दोहोर्‍याएर उद्घाटन गर्न भवनको बाहिरपट्टि तत्कालीन नगर प्रमुख साउदका नाममा राखिएको शिलालेख फुटाएर नगर प्रमुख भट्टको नामको शिलाखेल राखिएको छ ।  

भवन उद्घाटनअघि एमालेका नेता–कार्यकर्ता मंगलबार बिहान नगरपालिका पुगेर विरोध गरेका थिए । एमाले कार्यकर्ताले नगरपालिका घेराउ गरेपछि तनावको स्थिति बनेको थियो ।

एमालेको प्रदर्शनबीच ठूलो संख्यामा परिचालित प्रहरीको कडा सुरक्षाबीच नगर प्रमुख भट्टले भवन उद्घाटन गरे । भवन उद्घाटन हुँदै गर्दा बाहिर एमाले कार्यकर्ता नगर प्रमुख भट्टविरुद्ध नाराबाजी गरिरहेका थिए । 

कांग्रेसबाट निर्वाचित भट्टले भवनको पुनः उद्घाटन गर्ने तयारी गरेपछि नगर उपप्रमुखसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिले सामूहिक रूपमा विरोध जनाएका थिए ।

पहिले उद्घाटन भइसकेको भवन फेरि उद्घाटन गरेर मेयरले गैरराजनीतिक चरित्र देखाएको एमालेको आरोप छ । पूर्वनगर प्रमुख साउदले उद्घाटन भइसकेको भवन पुनः उद्घाटन गरेर नगर प्रमुख भट्टले गैरलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाए । 

भवन निर्माणका क्रममा कुनै चासो नराखेको कांग्रेसले अहिले राजनीतिक लाभका नाममा पुनः भवन उद्घाटन गरेको उनको भनाइ छ । आफूले प्रक्रियाअनुसार नै विगतमा भवन उद्घाटन गरेको साउदको दाबी छ । 

एमाले नगर कमिटीले बुधबार अत्तरियामा पत्रकार सम्मेलन गरेर भवन पुनः उद्घाटन गर्न खोजिएको भन्दै विरोध जनाएको थियो । क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत एसियाली विकास बैंकको १३ करोड ४६ लाख रुपैयाँ ऋणमा नगरपालिकाको प्रशासनिक भवन निर्माण गरिएको हो । 

निर्माण कम्पनीले गत २५ असोजमा काम पूरा गरेपछि क्षेत्रीय सहरी विकास आयोजना कार्यालयले मंगलबार भवन नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।
नगर प्रमुख भट्टले विगतमा अधुरै भवन उद्घाटन भएकाले निर्माण सम्पन्न भएपछि अहिले पुनः उद्घाटन गरिएको बताए । 

भवन उद्घाटन गर्ने भनेर एमालेका जनप्रतिनिधिसमेत सहभागी कार्यपालिका बैठकले निर्णय नै गरेको उनको दाबी छ । ‘हिजो काम पूरा नहुँदै गलत तरिकाले उद्घाटन गरिएको थियो । अहिले निर्माण सकेर भवन हस्तान्तरण भएको छ,’ उनले भने, ‘हामीले सबै दलसँग सल्लाह गरेरै भवन उद्घाटन गरेका हौँ ।’ 

शिलालेखमा आफ्नो नाम लेख्न तत्कालीन मेयर हतारिएको उनले टिप्पणी गरे । त्यतिवेला कांग्रेस, माओवादीसहित ६ दलले विरोध जनाएपछि अहिलेजस्तै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर भवन उद्घाटन गरिएको थियो । भवन उद्घाटनको राजनीतिले स्थानीय स्तरमा राजनीतिक दलबीच तिक्तता बढाएको छ ।

ad
ad