१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
कमलराज भट्ट काठमाडाैं
२o८१ जेठ २ बुधबार o८:३३:oo
Read Time : > 4 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

२ देखि १२ माघसम्म निर्वाचन आचारसंहिता

राष्ट्रिय सभा उम्मेदवारले अधिकतम साढे तीन लाख खर्च गर्न पाउने

Read Time : > 4 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:३३:oo

निर्वाचन आयोगले ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ । आचारसंहिता २ माघदेखि लागू हुनेछ । आयोगको आइतबार बसेको बैठकले निर्वाचन आयोग ऐनको दफा २२ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १ (२) अनुसार २–१२ माघसम्म लागू हुने गरी आचारसंहिता जारी गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

आयोगका अनुसार उम्मेदवारका अलावा संघ, प्रदेश र स्थानीय तहका सरकार, मातहत निकाय, मन्त्री, कर्मचारी, सुरक्षा निकाय र सुरक्षाकर्मी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, विद्यालयदेखि विश्वविद्यालयसम्म शिक्षक तथा कर्मचारी, निजी क्षेत्र (बैंक तथा वित्तीय संस्था र परियोजना), दातृ निकाय, सञ्चार क्षेत्र, दल तथा भ्रातृ संगठन, सार्वजनिक पदधारण गरेका व्यक्ति र मतदातालाई आचारसंहिता लागू हनेछ । 

२१ फागुनमा रिक्त हुने राष्ट्रिय सभाका २० मध्ये १९ सिटका लागि ११ माघमा निर्वाचन हुँदै छ । १९ सिटका लागि आठ दलबाट ५१ जनाको उम्मेदवारी परेको छ । एक सिटमा राष्ट्रपतिबाट मनोनीत गरेर पूर्ति गरिनेछ । २० फागुनसम्म पदावधि भएका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सदस्य ६ वर्षे कार्यकाल पूरा गरेर बिदा हुँदै छन् । 

मंगलबारदेखि लागू हुने आचारसंहिताले उम्मेदवारदेखि मतदातासम्मलाई निर्वाचन स्वतन्त्र ढंगले सम्पन्न गर्न जिम्मेवार बनाएको छ । प्रवक्ता पौडेलका अनुसार कुनै सार्वजनिक स्रोत–साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन आचारसंहिताले दिँदैन । 

निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन पाइँदैन । कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन बन्देज लगाएको छ । राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्नअं‍कित कुनै सामग्री उत्पादन तथा प्रयोगका साथै बिक्री–वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन आचारसंहिताले दिँदैन । 

यसैगरी, ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैंगिक अल्पसं‍ख्यक समुदाय र अपांगता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन तथा बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन पाइँदैन । आचारसंहिताअनुसार प्रचलित कानुनबमोजिम निषेध गरिएको समय र स्थानमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने, सामाजिक सञ्‍जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्नेजस्ता भ्रामक टीकाटिप्पणी गर्न वा गराउन हुँदैन । निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्‍न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्‍जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री सेयर गर्न हुँदैन ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेल भन्छन् ‘निर्वाचन आयोग ऐनको दफा २२ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १ (२) अनुसार २–१२ माघसम्म लागू हुने गरी आचारसंहिता जारी भएको छ । कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न हुँदैन ।’

कुनै पनि किसिमबाट मतदाताको गोप्यता भंग गर्ने कार्य गर्न नहुने, मतदाता र मतदानमा खटिएका कुनै पनि कर्मचारीसँग वादविवाद गर्न वा उनीहरूलाई हतोत्साहित गर्ने कुनै पनि कार्य गर्न नपाइने आयोगले जनाएको छ । ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न हुँदैन,’ प्रवक्ता पौडेलले भने । यसैगरी, निर्वाचन प्रचारप्रसारमा संलग्न हुने नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले आयोगको अनुमति लिई निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न हुँदैन । 

मतदान हुने दिनको ४८ घन्टाअघिदेखि मतदानको दिनमा मतदान केन्द्र बन्द नहुन्जेलसम्म कुनै पनि प्रकारका अन्तर्क्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामूहिक मस्तिष्क मन्थन आदि गर्न आचारसंहिताले रोक लगाएको छ । निर्वाचन आचारसंहिताले मतदान हुने दिनको अघिल्लो ४८ घन्टा अर्थात ८ माघ राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा–सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न दिँदैन ।

 उम्मेदवारको खर्च सीमा तोकियो
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले उम्मेदवारको खर्च सीमा पनि तोकेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनको दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावलीको नियम ४६ (१)अनुसार आयोगले एकजना उम्मेदवारले अधिकतम तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी सीमा तोकेको हो । यो रकम मतदाता नामावली खरिद, सवारीसाधन, इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तत्र्रिmया, प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा खर्च गर्न सकिने आयोगले जनाएको छ ।

उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम–नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोगले निर्देशनसमेत दिएको छ । खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनको दफा ६५ तथा निर्वाचन (कसुर तथा सजाय) ऐनको दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्न पनि आयोगले निर्देशन दिएको प्रवक्ता पौडेलले बताए । 

सत्तागठबन्धनका उम्मेदवारलाई जिताउन शीर्ष नेताहरूको अपिल
सत्तारूढ सात दलले राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनका साझा १९ उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन् । सात दलका शीर्ष नेताले आइतबार अपिल जारी गर्दै गठबन्धनलाई कमजोर बनाउने गतिविधि हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अपिल जारी गरेका हुन् ।

संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि वर्तमान राजनीतिक गठबन्धन निर्माण गरेको शीर्ष सात नेताको दाबी छ । ‘राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट प्रस्तुत उम्मेदवार हामी सबैका साझा उम्मेदवार हुन् । राष्ट्रिय सभा निर्वाचनका क्रममा हाम्रो गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्दछन् ।

यो निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि हो । तसर्थ गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक छ । हामी सम्पूर्ण मतदातालाई राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई मतदान गरी अत्यधिक मतले विजय गराउन हार्दिक अपिल गर्दछौँ,’ अपिलमा भनिएको छ । अपिलमा सत्तागठबन्धनमै रहेको जनमत पार्टीका अध्यक्ष सिके राउतको भने हस्ताक्षर छैन । 

यसअघि आइतबार बिहान बसेको सत्तारूढ गठबन्धनको राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिको बैठकले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न शीर्ष नेताहरूलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध गर्ने निर्णय गरेको थियो । आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट कांग्रेसका १०, माओवादीका ६, एकीकृत समाजवादीका दुई र जसपाका एक गरी १९ उम्मेदवार छन् ।

कांग्रेसका कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जितजंग बस्नेत, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट उम्मेदवार छन् । माओवादीका चम्पादेवी कार्की, श्रीकृष्णप्रसाद अधिकारी, मनरूपा शर्मा, झक्कुप्रसाद सुवेदी, विष्णुबहादुर विश्वकर्मा र रेणु चन्द उम्मेदवार छन् । एकीकृत समाजवादीका घनश्याम रिजाल र सावित्री मल्ल तथा जसपाकी पूजा चौधरी उम्मेदवार छन् । 
 

ad
ad