१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १६:२७:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

२ माघदेखि आचारसंहिता लागू, के गर्न पाइँदैन ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:२७:oo

निर्वाचन आयोगले ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ। आयोगको आइतबार बसेको बैठकले २ देखि १२ माघसम्मका लागि आचारसंहिता लागू गर्ने निर्णय गरेको हो। ११ माघमा राष्ट्रिय सभाका १९ सिटका लागि निर्वाचन हुँदै छ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १(२) अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिताको दफा १ मा उल्लिखित सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुने गरी आचारसंहिता जारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

के–के गर्न पाइँदैन ?
प्रवक्ता पौडेलका अनुसार आचारसंहिता लागू भएपछि कुनै सार्वजनिक स्रोत–साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन, निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन हुँदैन।

कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन पाइँदैन। राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अंकित कुनै सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउनसमेत नपाइने पौडेलले जानकारी दिए।

त्यसैगरी ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र अपांगता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन तथा बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन पाइँदैन।

आचारसंहितामा प्रचलित कानुनबमोजिम निषेध गरिएको समय र स्थानमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन, सामाजिक सञ्‍जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्नेजस्ता भ्रामक टीका–टिप्पणी गर्न वा गराउन नहुने व्यवस्था छ।

निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्‍न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्‍जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री सेयर गर्न नहुने आचारसंहितामा उल्लेख छ। कुनै पनि किसिमबाट मतदाताको गोप्यता भंग गर्ने कार्य गर्न नहुने, मतदाता र मतदानमा खटिएका कुनै पनि कर्मचारीसँग वादविवाद गर्न वा उनीहरूलाई हतोत्साहित गर्ने कुनै पनि कार्य गर्न नहुने, कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने व्यवस्थासमेत गरिएको छ।

यसैगरी, निर्वाचन प्रचारप्रसारमा संलग्न हुने नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले आयोगको अनुमति लिई निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न  नहुने तथा मतदान हुने दिनको अघिल्लो ४८ घन्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म कुनै पनि प्रकारका अन्तर्क्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामूहिक मस्तिष्क मन्थन आदि गर्न नहुनेसमेत व्यवस्था रहेको छ। 

निर्वाचन आचारसंहिताले मतदान हुने दिनको अघिल्लो ४८ घन्टा अर्थात् माघ ८ गते रातको १२ बजेदेखि निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने, मतदान हुने दिनको ४८ घन्टाअघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्‍जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन नपाइने प्रवक्ता पौडेलले जानकारी दिए।

ad
ad